प्रदेश नं ७ को स्थायी राजधानी गोदावरी बनाउन सुझाव

SHARE:

धनगढी । प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ । प्रदेशसभाको म‌ंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिवेदनमा प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका—४ स्थित नेपाली सेनाको तेघरी ब्यारेकदेखि उत्तरपश्चिम धनगढी—डडेलधुरा राजमार्गदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिणको चार किल्लाभित्रको जङ्गल क्षेत्र रहेको स्थानमा बनाउन सकिने सुझाव दिइएको छ ।

प्रतिवेदनमा साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायलमा रहेका क्षेत्रीय कार्यालय स्थानान्तरण नगर्ने, प्रदेशस्तरका तालीम केन्द्र प्रतिष्ठान, विभिन्न सेवामूलक सङ्घसंस्था स्थापना गर्ने, स्थायी राजधानी बनाउने ठाउँ तोकिएको स्थानमा स्थायी राजधानीका लागि भौतिक संरचना निर्माण नहुँदासम्म हालको अस्थायी राजधानीका रुपमा रहेको धनगढीमा प्रदेशसभा तथा प्रदेश सरकारलगायत कार्यालय रहने, राजाधानी तोकिएको ठाउँको जग्गा तुरुन्तै स्वामित्व ग्रहण गरी नमूना राजधानी निर्माण गर्ने लगायत रायसुझाव पनि दिइएको छ ।

समितिका संयोजक तामाङले समितिलाई प्राप्त कार्यादेशबमोजिम सरोकार भएका सबैसँग छलफल र परामर्शपछि समितिका सदस्यको सर्वसम्मत निर्णयका आधारमा सो सुझाव दिइएको बताए । प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभाको बैठकमा गत साउन १४ गते गठन भएको सो समितिका संयोजकमा सत्तापक्षीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तामाङ तथा सदस्यमा नेकपाकै चुनकुमारी चौधरी, प्रेमप्रकाश भट्ट, र बलदेव रेग्मी एवं प्रतिपक्षी नेपाली काङ्ग्रेसका श्यामलाल राना थारु सदस्य थिए । समितिले प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापासमक्ष आफ्नो प्रतिवेदन गत भदौ ५ गते पेश गरेको थियो ।

सो प्रतिवेदनमाथि बुधबारदेखि प्रदेशसभामा छलफल हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न १: ०० बजे बस्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!