
लन्डन २५ नोभेम्बर २०२४ । लमजुङ समाज यूकेको हिउँदे भेटघाट तथा कल्याणकारी रात्रिभोज सम्पन्न भएको छ ।
विभिन्न कार्यक्रमसहित २३ नोभेम्बर २०२४ मा सामुयल कोडी स्पोर्ट्स कलेज फार्नबरोमा उक्त कार्यक्रम भएको हो ।
अध्यक्ष दलबहादुर गुरुङको निर्देशनमा उपाध्यक्ष पूर्णराज गुरुङले कार्यक्रम संयोजन गरेका थिए । आमन्त्रित पाहुना र लमजुङेको उपस्थितिले हल खचाखच थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास लन्डनका नियोग प्रमुख विपिन दुवाडी रहेका थिए । तमु धीं यूकेका अध्यक्ष हरि गुरुङलगायत विभिन्न संघसंस्थाका अध्यक्ष र प्रतिनिधि अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा समाजका विभिन्न व्यक्तित्वलाई बधाई तथा सम्मान दिइएको थियो । त्यसरी नै ग्र्याजुएट्सहरूलाई बधाई र आमन्त्रित कलाकार बिमाकुमारी दुरा, रेजिना परियार र रुबिना अधिकारीलाई समाजका तर्फबाट मायाको चिनो र आमा समूहबाट पछ्यौरा ओढाएर सम्मान गरिएको थियो ।
लमजुङ भवन खरिद गर्न संयोजकको भूमिका निभाउने संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले भवन खरिद गर्ने अभियानको बारेमा विस्तृत जानकारी दिएका थिए । लमजुङ भवन खरिद अभियानका लागि चन्दा स्वरूप रकम बाचा गर्ने सबैलाई धन्यवादसहित अध्यक्षले खादा लगाएर सम्मान गरेका थिए ।
अन्त्यमा नेपालका ख्यातिप्राप्त कलाकार बिमाकुमारी दूरा, रेजिना परियार, तिलक गुरुङ र रुबिना अधिकारीलगायत स्थानीय कलाकारको बेजोड प्रस्तुतिले कार्यक्रम मनोरञ्जनात्मक बन्यो ।






