
लन्डन ११ डिसेम्बर २०२४ । बेलायत सरकारले बायोमेट्रिक कार्ड प्रतिस्थापन गरी डिजिटल इ-भिजा लागू गर्ने म्याद केही महिना लम्ब्याएको छ ।
इ-भिजा रोलआउटमा समस्या आएपछि गृह मन्त्रालयले कम्तीमा मार्च ३१ सम्म नयाँ नियम लागू हुने म्याद थपेको जानकारी दिएको हो । सरकारले यसअघि बेलायतमा बस्न, काम गर्न र बेनिफिट्स लिन पाइने अधिकार भएको बायोमेट्रिक रेसिडेन्स कार्ड (बीआरसी) र बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) डिसेम्बर ३१ सम्ममात्र कायम रहने घोषणा गरेको थियो ।
डिसेम्बर ३१ पछिको भिजा हुनेहरुले अनिवार्य इ-भिजा परिवर्तन गर्नुपर्ने नियम ल्याइएको हो । मार्च ३१ सम्म म्याद सकिएको यूके रेसिडेन्स परमिट कार्डबाट पनि एयरलाइन्सहरुले यात्रुलाई यात्रा अनुमति दिने गृह मन्त्रालयले पुष्टि गरेको छ ।
गृह मन्त्रालयले बुधबार ६० लाखभन्दा बढी मानिसले इ-भिजा प्रयोग गरिसकेका र परिवर्तनको घोषणा भएदेखि थप ३१ लाखले आवेदन दिएका जनाएको छ। इभिजा सुरक्षित र भौतिक जस्तो हराउने, चोरी हुने वा बिग्रने अवस्था नहुने गृह मन्त्रालयको भनाइ छ । यो यूके बोर्डरमा वा रोजगारदाता एवं घर मालिकहरुलाई आफ्नो अध्यागमन स्टाटस प्रमाणित गर्न पनि सजिलो र छिटो हुने सरकारको विश्वास छ ।






