
लन्डन १२ डिसेम्बर २०२४ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले यही आउने आइतबार १५ डिसेम्बर २०२४ मा जानकारी तथा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
साउथ ह्यारो एन्ड सोसियल क्लबमा स्थानीय गोर्खा नेपाली संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरु साथै सर्वसाधारण जनसमुदायबीच जानकारी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको सीएनसीबीजीले जनाएको छ । बेलायतका विभिन्न ठाउँमा जनजागरणमूलक कार्यक्रम राख्दै जाने संस्थाको नीतिअनुसार यो पाली ह्यारोमा कार्यक्रम राखिएकोले उक्त कार्यक्रममा सहभागी हुन् सबैलाई आह्वान गरिएको संस्थाका अध्यक्ष थर्क रानाले बताए ।
अन्तरक्रियामा सीएनसीबीजी अभियानबारे विभिन्न वक्ताहरुले भिन्नभिन्न विषयमा बोल्ने र सहभागीहरुबाट समेत आफ्ना जिज्ञासा र सुझावहरु राख्ने व्यवस्था गरिने अध्यक्ष रानाले बताए ।
यस्तै हालै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीएनसीबीजी प्रतिनिधिमण्डलले भेट गरी गोर्खा र गोर्खाको सन्ततीहरुको वंशजको नेपाली नागरिकता निरन्तरताको लागि नागरिकता ऐन २०६३ को दफा १० उपदफा १ संशोधन गरियोस् भनी राखिएको मागबारे समेत समीक्षा गरिने एजेन्डा रहेको अध्यक्ष रानाले जानकारी दिए ।






