
लन्डन १४ डिसेम्बर २०२४ । तमु धीं यूकेको २४ औं वार्षिक साधारणसभा तथा १३औं अधिवेशन सुरु भएको छ ।
मिचेटस्थित तमु धीं भवनमा शनिबार दिउँसो अध्यक्ष हरि गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले अधिवेशन तथा साधारणसभा उद्घाटन गरेका हुन् ।
साधारणसभामा विभिन्न प्रतिवेदनमाथि छलफल गर्ने र अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका रहेको छ । अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा निर्वाचन मण्डल बनाइएको छ । मेजर कृष्ण गुरुङ र क्याप्टेन बालकृष्ण गुरुङ सदस्य रहेको निर्वाचन मण्डलले सार्वजनिक गरेको निर्वाचनसम्बन्धी कार्यतालिका र कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशन ५ डिसेम्बरमा, मतदाता नामावलीमा दाबी/विरोध ६ डिसेम्बर, अन्तिम मतदाता नामावली प्रकाशन र ७ डिसेम्बरमा मनोनयन दर्ता भइसकेको छ ।

तमु धीं यूकेको वर्तमान अध्यक्ष हरि गुरुङ २६ डिसेम्बर २०२२ मा भएको १२ महाधिवेशनबाट निर्वाचित भएका हुन् । उनको दुई वर्ष कार्यकाल सकिन लागेकोले नयाँ कार्यसमितिका चयन गरिन लागेको हो । साथै तमु धीं यूके आमा समूहको अध्यक्षमा सन्ध्या गुरुङ रहेकोमा उनको पनि कार्यकाल सकिन लागेको नयाँ कार्यसमिति चुनिने छ ।






