एटा संवाददाता
रेडिङ । तमु प्ये ल्हु संघ युकेको वार्षिक कल्याणकारी रात्रिभोज शनिबार (२२ सेप्टेम्बर २०१८) को दिन रेडिङस्थित रिभर मिड लेज्यर सेन्टरमा भव्यताका साथ सम्पन्न भएको छ । संघले राखेको महत्वकांक्षी भावी योजना, बेलायतमा तमुलगायत गैरतमुले प्रयोग गर्न सकिने सामाजिक भवन साथै तमुहरुको मौलिकतामा आधारित क्वोईबो धिं (तमु धार्मिक मन्दिर) निर्माण सहयोगार्थ राखिएको सो कार्यक्रमको मुख्य उद्देश्य आर्थिक संकलन गर्नु थियो ।

मेजर एकबहादुर ल्हों तमुको संयोजकत्वमा भएको कार्यक्रमको तयारीमा थप सहयोगीहरु, सामुदयिक भवन निर्माण उप–समितिका मुख्य संयोजक क्या रिटायर्ड डेम बहादुर योज तमु, र सचिब भेगलाल चाखली तमुको पनि बिषेश भूमिका रहेको थियो । संघका सचिब खेम सर्बुजा तमुले सञ्चालन गरेको सो कार्यक्रमका विषेश अतिथिहरु, धर्म गुरुहरु साथै संघका उच्च पदाधिकारीहरुबाट दीपप्रज्वलन गरी कार्यक्रमको सुरुवात भएको थियो ।
कार्यक्रममा मुख्य अतिथिको रुपमा एनआरएनएका उपाध्यक्षमा कुल आचार्य लगायत एनआरएन युकेका वर्तमान अध्यक्ष योगकुमार फगामी उपस्थित थिए भने बेलायतका विभिन्न तमु तथा गैरतमु संघ–संस्थाहरुका उच्च पदाधिकारीहरुको पनि उपस्थित रहेका थिए । अधिकतम संख्यामा कार्यक्रममा ओइरिएका शुभचिन्तकहरुलाई न्यानो स्वागत पस्कँदै संघका आमा उप–समितिका सक्रिय सदस्यहरु स्वागतद्वारमा प्रफुल्ल मुद्रामा उभिएका थिए ।
कार्यक्रमको संयोजक मेजर एकबहादुर ल्हों तमुबाट विशिष्ट अतिथिहरु, समस्त दर्शकहरुलाई सम्बोधन गर्दै कार्यक्रमको मुख्य उद्देश्यलाई प्रस्ट पारी अधिकतममा उपस्थित भई कार्यक्रमलाई सफलता पार्दिएकोमा संघको तर्फबाट धन्यवाद मन्तव्य राखेको थियो । त्यसैगरी सामुदायिक भवन निर्माणका मुख्य संयोजक क्या. (रि) डेम बहादुर योज तमुद्वारा संघले अघि सारेको योजनासम्बन्धि भएका पछिल्लो गतिबिधिहरुको बारेमा छोटकारीमा अवगत गराएका थिए । कार्यक्रमका मुख्य अतिथि एनआरएनएका उपाध्यक्ष आचार्यले तमु प्ये ल्हु संघ युकेले राखेको यो प्रायोजना प्रशंसनीय रहेको भन्दै तमु मत्रै नभई यो सबै नेपालीको लागि एक उल्लेखनीय रहेको बताए ।
संघले अघि सारेको सामुदयिक भवन तथा कोइबों धिं निर्माण योजनाप्रति समस्त युकेका संघ संस्थाहरुले दिएको आर्थिक सहयोग प्रशंसनिय रहेको भन्दै संघका अध्यक्ष मे.(रि) खुसीमान ल्हेगे तमुले मौलिकताको जगेर्ना गर्ने प्रयासमा हिडेको प्रस्टाए । कार्यक्रममा उपस्थित हालै नेपालबाट आएका गुरुङ फिल्मकी नायिका तथा सञ्चारकर्मी पुनम तमुलाई नेपालको एबीसी टेलिभिजनबाट सञ्चालित ‘तमु मैं तां’ कार्यक्रमलाई संघको तर्फबाट एक लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए । त्यसैगरी कार्यक्रममा तमु प्ये ल्हु संघ युकेकी युबा दूत मिस यूके नेपाल सृजना तमुले संघले राखेका भावी योजनाहरु सफल पार्न बेलायतमा रहेका युवा पुस्ताहरुको सक्रिय सहभागिताको आवश्यकता रहेको बताएकी थिइन् ।
चन्दा संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कल्याणकारी रात्रीभोजमा २५ हजार पाउन्ड संकलन भएको निर्माण समितिका कोषाध्यक्ष क्या. (रि) दुदमान पोम तमुले जानकारी गराए ।






