पोखरा । पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

पोखरा–२२ पुम्दीभुम्दी कोदीमै रहेको घरबाट मंगलबार पक्राउ परेका २७ वर्षीय पौडेललाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अभियुक्तले आफ्नो संलग्नता स्वीकारिसकेको बताए । घटनापश्चात् जिल्ला प्रहरी कार्यालयबाट डीएसपी रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी नवीन कार्कीको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरी खोजतलासमा जुटेको थियो। टोलीले मंगलबार राति साढे ८ बजे पौडेललाई घरबाटै पक्राउ गर्न सफल भयो ।
पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उनले बताए । तर आरोपी पौडेलले घाँटी थिची, ढुंगाले हानेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो ।
बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।






