
लन्डन २९ डिसेम्बर २०२४। तमु धीं यूकेले विभिन्न कार्यक्रमसहित शनिबार २८ डिसेम्बर २०२४ मा रजत महोत्सव तथा तमु ल्होछार मनाएको छ ।
क्राइस्टचर्च एभिन्यू, ह्यारो लेजर सेन्टरमा विशेष समारोह गरी तमु धीं यूकेले स्थापनाको २५ औं वर्षगाँठ र तमु ल्होछार मनाएको हो । अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
महासचिव डा विशाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा डा हर्क गुरुङ अवार्ड वितरण, संस्थाको मुखपत्र फ्रेंसी विमोचन, हरि गुरुङ नेतृत्वको १२ औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र कमलादेवी गुरुङ नेतृत्वबीच कार्यभार हस्तान्तरण, रजत महोत्सवको गीत सार्वजनिक, राफल ड्र, तमु धीं यूकेका संस्थापक पूर्वअध्यक्ष, पूर्वअध्यक्ष, विभिन्न इकाइमा योगदान दिनेहरु, कम्युनिटी सर्भिस अवार्डलगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।

यस वर्ष डा हर्क गुरुङ अवार्ड जीसीएसी उत्कृष्ट अंक ल्याउने लमजुङ पुर्ख्यौली घर भई हाल बेलायतमा रहेकी अम्बिका गुरुङले प्राप्त गरिन् । प्रमुख अतिथि उपनियोग प्रमुख विपिन दुवाडी र संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र
५ सय पाउन्डको चेक हस्तन्तरण गरे ।

संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई, मेजर लालबहादुर गुरुङ, सुवाससिं गुरुङ बीइएम, मुछेत्र गुरुङ, कमल गुरुङ, रामचन्द्र गुरुङ, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङलगायत सम्मान गरियो । यस्तै संस्थापक सल्लाहकार, चन्द्रबहादुर गुरुङ, आशबहादुर गुरुङ, मिनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङलगायत सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।
कम्युनिटी सर्भिस अवार्डतर्फ लन्डन इकाईबाट सिफारिस भएका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ, साउथ इस्ट रिजनल तमु धीं इकाइका ह्यारी गुरुङ, रन्जु घोताने, चारभन्ज्याङ तमु समाज यूकेबाट मास्टर प्रदीपजङ गुरुङ र अनमोल गुरुङ, डेबिट गुरूङ लगायतलाई पनि सम्मान गरिएको थियो ।

‘तमु प्रतिभा पुरस्कार-२०२४’ घोषणा
तमु धीं यूकेले रजत महोत्सव तथा ल्होछार कार्यक्रममा ‘तमु प्रतिभा पुरस्कार-२०२४’ घोषणा गरेको छ ।
अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गरिने उद्देश्य अनुरुप शनिबार संस्थाको तर्फबाट महासचिव डा विशाल गुरुङले ‘तमु प्रतिभा पुरस्कार-२०२४’ घोषणा गरेका हुन् । यस वर्ष राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) प्रदान गरिने भएको छ । पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार हरेक वर्ष मनाइने ल्होछार कार्यक्रममा वितरण गरिने तमु धीं यूकेले जनाएको छ ।
नेपालबाट आएका कलाकारहरु राजबहादुर गुरुङ, आश्रम गुरुङ र ब्यान्डसहित तृष्णा गुरुङले सांगीतिक धमाका मच्चाए । गुरुङ मौलिक पोसाकमा सजिएका गुरुङ, गुरुङसेनी र गैर गुरुङसमुदायले हल खचाखच भरिएको थियो ।







