
लन्डन १८ जनवरी २०२५ । संयुक्त अधिराज्य (यूके) का लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले कार्यभार सम्हालेका छन् ।
शुक्रबार लण्डन आइपुगेका घिमिरेले कार्यभार सम्हालेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । उनले आफ्नो कार्यकालमा आर्थिक कूटनीतिलाई प्राथमिकता दिने बताएका छन् ।
नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो राष्ट्र बेलायतका लागि राजदूतका रुपमा आएका घिमिरे लगानी, व्यापार तथा सार्वजनिक नीतिमा दख्खल राख्ने नेपाल सरकारका पूर्व सचिव हुन् ।
शुक्रबार बिहान विमानस्थल ओर्लिँदा राजदूत घिमिरे र उनकी धर्मपत्नी सरिता न्यौपाने घिमिरेलाई बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि डेभिड पेरी, उपनियोग प्रमुख विपिन दुवाडीलगायत दूतावास कर्मचारीले स्वागत गरेका थिए ।






