एटा संवाददाता
लन्डन । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले राखेका माग चाँडै पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

एनआरएनए युकेको शनिबार अल्डरसटमा आयोजित पाँचौं काउन्सिल बैठकलाई सम्बोधन गर्दै राजदूत सुवेदीले नेपाल सरकार र बेलायतबीच निकट भविष्यमा हुने वार्तामा गोर्खाको माग सम्बोधन हुने आशा व्यक्त गरेका हुन् । गोर्खाको मुद्दामा नेपाल र बेलायत सरकार गम्भीर रहेको पनि उनले बताए ।
संयुक्त राष्ट्र संघ महासभाको ७३औँ अधिवेशनमा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी ओली र बेलायती प्रधानमन्त्री थेरेसा मे बीच बिहीबार भएको भेटमा गोर्खाको मुद्दामा सकारात्मक कुरा भएको रिपोर्ट आफूलाई आएको राजदूत सुवेदीले जानकारी गराए । राजदूत सुवेदीले भने, ‘भर्खरै बेलायत र नेपालका प्रधानमन्त्रीबीच अमेरिकामा छलफल भयो । त्यस अवस्थमा पनि गोर्खाको बारेमा सकारात्मक कुरा भएको रिपोर्ट मैले पाएँ ।’
तर, सो भेटमा दुई प्रधानमन्त्रीबीच नेपाल तथा बेलायतबीच शताब्दीयौँदेखिको मित्रता तथा द्वीपक्षीय सम्बन्ध स्मरण गरिएको सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए । त्यस्तै भेटमा व्यापार, लगानी तथा पर्यटनसहितका बहुक्षेत्रमा सहयोग बलियो बनाउने विषयमा पनि छलफल भएको बताइएको थियो ।
भूपू गोर्खाहरुले समान पेन्सन, क्षतिपूर्ती लगायतका मुद्दा लामो समयदेखि उठाउँदै आएका छन् ।
सम्बोधनका क्रममा राजदूत सुवेदीले एनआरएनए युकेको काउन्सिल बैठकको सफलताको कामना गर्दै सो संस्थाले गरेको कार्यप्रति प्रशंसा गरे । वर्तमान अध्यक्ष योगकुमार फगामीको नेतृत्वमा बेलायतीलाई समेत बोलाएर गरेको बक्सिङ प्रतियोगिता, अपांगतासम्बन्धी कार्यक्रम, जनगणनामा पुर्याएको योगदान, गजल साँझ, अनलाइनको माध्यमबाट सदस्यता वितरण लगायतका राम्रो काम भएको उल्लेख गरे ।
राजदूत सुवेदीले एनआरएनए युकेले गरेको राम्रा कामलाई सकारात्मक र रचनात्मक भन्दै जनगणनाप्रति गम्भीर हुन जरुरी रहेको समेत बताए । सो विषयमा नेपाली दूतावासले बेलायत सरकारसँग छलफल गरिरहेको पनि उनले बताए ।
यसैगरी एनआरएनएको अभियान बेलायतबाट सुरु भएको स्मरण गर्दै उनले नागरिकता दिलाउन अभियान सुरु भएकोमा उच्च प्रशंसा गरे । ‘विश्वभरिका नेपालीको चिन्ता गरेर एनआएनए बेलायतसहितका नेपालीले नेपाल जानु भएर सरकार, संसद्मा आफ्ना कुरा राख्नु भयो’ उनले भने, ‘यो विश्वभरिका नेपालीका लागि उदाहरणीय र आदरणीय काम हो ।’
अहिले प्रवासी नेपालीको माग नै नागरिकता निरन्तरता भएको भन्दै राजदूत सुवेदीले यस मुद्दालाई सबै मिलेर सकारात्मक ढंगले निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिए ।






