जानु काम्बाङ्ग
मेरो जीवनको ३ वर्षे अध्याय सकिएर अर्को ३ वर्षे म्याद थप्न म फेरि हङकङ उड्दै थिएँ । मेरो भन्नुको मतलब अर्को यात्राको समय आएको थियो जीवनमा, आखिर जीवन एक यात्रा त रहेछ । हुन त, हङकङ मेरो लागि कुनै नौलो ठाउँ हुँदै होइन, १० वर्ष बिताएर चिनाहरुले मान्छेबाट मेसिन या रोबर्टजस्तो बनाएर युके पठाएको म मान्छेजस्तो मेसिन समयको हुरीले सुकेको पत्करजस्तो जहाँ–जहाँ उडाउँथ्यो उही उही पुग्छु ।
कहिलेकहीं सोच्छु सायद म पहिले बेटर लाइफको सपना बोकेर हङकङ नपुगेको भए र हङकङमा आमा बाबाले हामीलाई जन्म नदिएको भए म कुन देशको भाषा बोल्दै हुन्थेँ हुँला ? जसरी १० वर्ष हङकङ बस्ने क्रममा क्यान्टोनिज भाषाको पितृ बुझाइयो । जेहोस्, जहाँ बस्यो उही रमाइलो भनेजस्तो युके आएर नपुग छैन तैपनि हङकङलाई माया मार्न पटक्कै सकिएन । हामी ज–जसको हङकङ पर्मानेन्ट आईडी छ तिनीहरु ३ वर्षभन्दा बढी बाहिर बस्यो भने उनीहरुले पाउने सरकारी सेवा सुविधाहरु कटआउट हुने नियमलाई स्वीकार्दै हामी सपरिवार हरेक ३ वर्षमा एकपल्ट हङकङ ईन हुँदै आइरहेका छौं ।
सोहीअनुरुप म २०१६, नोभेम्बर ७ को बिहान ८.४५ बजे ऐर क्याथे पेसिफिकबाट हङकङ उड्दै थिएँ । आजभोलि हामी एक्लाएक्लै यात्रा गर्छौं । प्रायःजसो, सँगै हिँड्ने फूर्सद हामीलाई समयले भागबन्डा लगाइदिएको छ । बेलायत आएर बस्न थालेको ९ वर्ष पूरा भयो । यो बीचमा हामी सबै परिवार हिँडेको एकैपल्ट छ त्यो पनि ससुरा बा बितेर बर्खिमा जाँदा, नत्र त यसैगरी पालैपालो नेपाल र हङकङ जाने आउने गरिरहेका छौं ।
जहाज समयमै उड्यो ! कतै ट्रान्जिट नभइकन डाईरेक्ट फ्लाईट थियो १६ घण्टा, एकदम बोर लाग्यो घरी निदाउँथे घरी पढ्थें, मैले कवि तथा कथाकार उपेन्द्र सुब्बाको लाटो पहाड कथासंग्रह बोकेकी थिएँ । कथा यति रमाइला हुन्थे कि जति पढ्यो उति हाँस्थे, कहिले त खित्कै छाडेर हास्थें, छेउको सिटमा एक जोडी चाईनिज दम्पती बसेका थिए, म हाँस्दा मलाई हेर्दै आफू आफू हेराहेर गर्थे । मलाई लाज लाग्थ्यो, रातो हुन्थें अनि किताब बन्द गरेर एकछिन निदाउँथे । ब्यूझिँदा खुट्टा सुन्निएर टनटन भएको हुन्थ्यो, दुख्थ्यो । यस्तरी यति टाढा टाढासम्म चराझैं उडेर एक पल्टन मान्छे बोकेर एक देशसँग अर्को देश जोड्ने आकाशिय मार्गचाँहि पो कसले बनायो होला ? काठमान्डूको रिङरोड़जस्तो ट्राफिक जाम हुन्छ कि हुन्न होला आकाश मार्गमा ? यस्तै सोच्दासोच्दै आकाशमा उडिरहेको बादलको टुक्राहरु पन्साउँदै पन्साउँदै विमान हङकङ पुग्यो । माथिबाटै तुङ्गचुङ्ग, चुनमुनलगायत पारि हङकङ र काउलनका विभिन्न सहरहरु देखिन थाले ।
हङकङको समयअनुसार बिहान ९ बजेको थियो म पुग्दा, कतै निद्रा आउला कि भनेर खानासँग बाँडेको वाइन पियकी थिएँ प्लेनमा । तर, त्यो वाइन न मेरो नसा नसाबाट बग्यो न आँखामा निद्रा भएर जम्यो सीधै टाउकोमा चढेछ क्यारे जुरुक्क उठ्दा पÞmननन भो सम्हालिँदै ओर्लिएँ ।
ओर्लिएर चेपलाकक एयरपोर्टको अंगअंग नियाल्दै अघि बढें । १९९८ सालमा मैले पनि काम गरेकी थिएँ, ती ठाउँहरु चिनीनसक्नुको भएको रहेछ । हरेक दिन आफंैलाई बदलेर अघि बढिरहेको हङकङ बाहिर ३ वर्ष बसेर आउनेलाई उसै नौलो लाग्ने नै भयो । मलाई पनि नौलो नै लाग्यो । लाग्छ, हङकङ एक सुन्दर स्वर्गको टुक्रा हो, जो अचानक चोइटिएर भूइँमा झरेको हो । र, अझै जतनले अलग्गै सजाएर राखिएको टापु हो ।
चेप्लाक्कबाट पारि हेर्दा रमाइलो चुनमुन बजार देखिन्छ, हामी जोर्डन, याउ मा टाइतिर बस्नेहरु जोर्डन फेरीबाट पानी जहाज (फेरी) चढेर चुनमुन फेरीमा चेन्ज गथ्र्याैं चेप्लाक्क जाने जहाज, त्यो समयमा धेरैले काम गर्दा गर्दै प्रेम विवाह गरे, कतिले श्रीमान् छोडे, कतिले श्रीमती नेपालीहरुमा पैसाको मातसँगै जवानीको पनि मात चढेको थियो हङकङमा । धेरैले फिलिपिन्स केटीहरुलाई सम्पत्ति खुलाए, कतिले बिहे नै गरे, जेहोस् यो हङकङको नयाँ एयरपोर्टले सबैको जीवनमा परिवर्तन ल्यायो, कतिको जिन्दगी, पैसा र समय चिन्नेहरू करोड पतिदेखि अर्बपति पनि बने, पैसा र समय नचिन्नेको जिन्दगी हेर्दा हेर्दै बिग्रियो ।
ठीक अगाडिपट्टि अग्लो अग्लो बिल्डिंगहरुको लाम, लस्कर छातीमा गाडेर निदाएजस्तो देखिने रमाइलो तुङ्गचुङ्ग बजार देखियो, कस्तो आनन्द लाग्यो मैले पल वाई कन्स्ट्रक्सन कम्पनीमा ८ वर्ष काम गर्दा त्यो तुङ्गचुङ्गका धेरै बिल्डिंगहरुमा काम गरेकी थिएँ । अझै पनि ती बिल्डिंगभित्रको बनावटसँग म परिचित छु । आज सम्झेर उदेक लाग्छ, हङकङ ठीकै थियो पैसा सोचेभन्दा धेरै बचत हुन्थ्यो । फेरि पनि पुगेन हामीलाई र युकेतिर लाग्यौं, अहिलेसम्म युकेमा केही गर्नसकेका छैनांै, बस्न खान मात्र पुगेको छ ।
युके सरकारको पोलीसी नै त्यस्तै छ त्यही कमाउने त्यही लगानी गर्ने, काम गर्नेको टेस्ट उठाएर गरिब जनता पाल्ने, सबैलाई बराबरी दिएर समान राख्ने पुरै कम्युनिस्ट शासन । अरु देशमा त नाम मात्रको कम्युनिस्ट शासन । जेहोस्, हङकङ छाडेर हामी भित्रभित्रै पछुताउने गर्छौं ।
साउने संक्रान्तिमा ढोकाभरि काँचो बाबियोको डोरीमा विभिन्न तुलफूलहरु तन्द्रङ्गतुन्द्रुङ्ग झुन्ड्याएजस्तो देखिने केवलकारले तुन्ग्चुंगबाट मान्छे लोड गर्दै लान्ताउ आइल्यान्ड गइरहेको देखिन्थ्यो एयरपोर्टबाट ।
म जहाजबाट ओर्लिएर गुड्ने ट्रलीमा सुटकेस र हेन्क्यारी लोड गरेर ईमिग्रेसनतर्फ बढें । अरुभन्दा म चाँडै निस्किएँ किनकि हामी आईडी होल्डरहरुको निस्कने र पस्ने मसिन छुट्टै हुन्छ, त्यहाँ त्यति लामो लाइन हुँदैन चेकसेक केही हुँदैन मेसिनमा छिरायो औंठा छाप लगायो ढोका उघ्रिन्छ र निस्कने हो । हाम्रो देशको एयरपोर्ट र इमिग्रेसनको लथालिंगे लामो लाइनको कल्पना गर्दै भारी गुडाएर बाहिर निस्किएँ, मलाई लिन कोही पनि आएका थिएनन्, कारण दिदीबहिनीहरु कसैलाई दुःख दिन मन लागेन, त्यसैले लिन बोलाइन मैले । खुरुखुरु एक्लै निस्केर एकसय पाउन्डले हङकङ डलर ९ सय ३० डलर साटेँ अनि ८० डलरमा एक महिना पुग्ने एउटा सिमकार्ड किनेर फोनमा हालेँ अनि वेटिङ्ग फ्लोरको बेन्चमा बसेर सबैलाई फोन गरें ।
फेसबुकमा म हङकङ सकुशल पुगेको खबर पोस्ट गरेर एकछिन बसी तल बस स्टपमा लिफ्टबाट झरेर ए २३ नम्बरको बसमा चढेर लागेँ मंगकक्क काउलनतिर । रातभरि ननिदाएका आँखा अझै अनिदै रहेर हङकङको रमाइलो दृश्यावलोकन गरिरहेको थिएँ । मनभन्दा आँखा रमाइरहेको थियो मेरो । बस नपुगी मन पुगेर स्टार फेरि माथि हङकङ पिक, काउलन पार्क, ओसन पार्क, डिज्नील्यान्ड सबै साना ठूला रमाइला ठाउँहरु घुमिसकेको थियो । बसमा को को थिए मलाई कुनै मतलब थिएन धेरै पछि हङकङ पुगेको मन र आँखा मस्त घुम्दै थिए ।
अचानक मोबाईलमा बजेको रिङ्गले मेरो मन बसमै फर्कायो । गीता दिदी लेखेको नाम भाइबर कलको स्क्रिनमा आइरहेको थियो । उठाएँ दिदीले खुसी हुँदै भन्यो कहाँ पुग्यौ हौ मेरी प्यारी बहिनी ? तिमीलाई कुर्दाकुर्दै मंग्कक्क बजार सबै घुमिसक्न लागेँ हाहाहा….दिदीको रमाइलो हाँसो थियो । कति बेला आइपुग्छौ ? दिदीको यस्तो मलाई हेर्ने हतारो भएको बोली सुन्दा मन निक्कै भावुक भयो । जवाफमा भने आउँदै छु दिदी चिङ्गमा ब्रिजमाथि छु, तर्दै । ए ल ल त्यसो त अब चाँडै भेट हुने रहेछ, म यही पर्खिन्छु भनेर फोन राख्नुभो । मोबाइल लुकाएर फेरि बाहिर हेर्न थालें चिङ्गी काटेर ओरालो लागेपछि बकुलो सहर पस्न थाल्यो बस, बिस्तारै बस साम साई पो पुग्यो, क्रमशः केही स्टप रोकिँदै फेरि बस प्रिन्स एड्वार्ड हुँदै मंकक्क पुग्यो दिदीले दिएको लोकेसनअनुसारको स्टपमा म ओर्लिएँ । तर, त्यहाँ दिदी देखिन सुटकेस साइट लगाएर दिदीलाई कल गरेँ । एकछिनमा दिदी आइपुग्नु भयो र ३ वर्षपछि दिदीलाई देख्दा खुसीले गदगद भएँ । एउटा एउटा सुटकेस तान्दै घरतिर लाग्यौं । पहिले १० वर्ष बसेको हङकङ अहिले अर्कै भइसकेको थियो । म अल्मलिरहेकी थिएँ, हिँडिरहे दिदीको पछि पछि बिनाअन्दाज । केहीबेरको हिँडाइ र बाटो कटाइपछि दिदीहरु बसेको बिल्डिंगमा पुगियो । दिदीले गेट खोलेर उकालोलाग्दा म हेरेर उभिरहेँ, सोचेको थिएँ दिदीहरु लिफ्ट भएको अग्लो बिल्डिंगमा बस्नु हुन्छ होला ? तर उहाँहरु त लिफ्ट नभएको अग्लो बिल्डिंगको ८ तलामाथि बस्नु भएको थियो । सानो सुटकेस त ठीकै थियो तर अग्लो सुटकेस बोकेर उकालो चढ्न असम्भव थियो । शरीर गलेर आयो दिदे मलाई हेरेर हाँसिरहनु भएको थियो । म चुपचाप सुटकेस चढाउने असफल प्रयास गर्दै थिएँ । दिदीले सानो सुटकेस मास्तिर पुर्याएर आउनुहुन्थ्यो अनि दुई जनाले ठूलो सुटकेस टुप्पो र फेदमा पक्डेर उक्लिन थाल्यौं । धेरै पछि २, ३ ठाउँमा बिसाउँदै बस्दै बल्लतल्ल पुग्यौं ८ तला माथि ।
म थकाई र अनिदोले सपनाजस्तो भएको थिएँ दिदीले खाना बनाएर खुवाउनु भयो सपनैजस्तो बसेर खाएँ अनि दिदीसँग बाहिर गयौं । म सँग हङकङ बस्ने समय मात्र २ दिनको थियो, २ दिन पछि लगत्तै नेपाल उड्दै थिएँ । हतार तल ओर्लिएर युन्लंगबाट आउने सानो मिनी बस चढेर जोर्डनतर्फ लाग्यौं, बसको भाडा निक्कै परिवर्तन भएको थियो उहिल्यै हामी हुँदा ५ डलर तिरेर जोर्डन जान्थ्यौं भने अहिले ८ डलर भएको रहेछ । भाडा दिदीले नै तिर्नु भो । जोर्डन पुगेर हामी डुल्न थाल्यौं, बजारभर नेपाली भेटिए पनि चिनेका भने कोही भेटिएनन् । एकछिन त्रिवेणी सेलुनमा पुगेर साथी सरु राईसँग भेटघाट गर्यौं अनि केही सुन दोकानतिर डुलेर केही पठाउनी पार्साल सुनको गहनाहरु किन्यौं । त्यसपछि घरतिर फिरेर खाना खाईवरी सुत्ने काम भयो । भोलिपल्ट रिता सोल्टिनी, म र गीता दिदी भएर स्टार फेरी लगायतका ठाउँहरु घुम्न निस्कियौं । सुरुमा हिँड्दै फोटो खिच्दै काउलन पार्क छिचोलेर चिम्सा चुई चुन्किंग मेन्सन अघि पुग्यौं, काउलन पार्क अझै उस्तै लाग्यो उहिल्यै मेरा छोराहरु सानो हुँदा हरेक छुट्टीमा घुम्न लैजान्थे त्यो सम्झनाहरु आँखैमा झल्झल्ली आइरह्यो । कहिले बुढाबूढी मिलेर जोर्डन फेरीदेखि ओसियन ट्रमिनलको छतसम्म चढ्न पुग्थ्यौं, त्यो बेलाको समय सम्झँदा अहिले सपनाजस्तो लाग्छ । आजभोलि त न समयले कोल्टे फेरेको हो या जिन्दगीले कहिले श्रीमान्/श्रीमतीसँगै हिँड्न पाइँदैन, अचेल लाग्छ जिन्दगीमा समयले कति ठूलो भूमिका खेल्दोरहेछ म महसुस गर्छु ।
चिम्सा चुईको बाटोघाटोउस्तै थियो, सिरिफ एमटीआर (रेल स्टेसन) फेरिएको रहेछ, पहिलेभन्दा धेरै निस्कने पस्ने एग्जीट (द्वार).बनिएछ । चुन्ग्किंग मेन्सनउस्तै थोत्रे थियो एकपल्ट त भत्काउने उक्ति पनि जारी भएको थियो तर अझै उस्तै गिङ्ग्रिङ्ग उभिरहेको रहेछ । धेरै पुरानो यो बिल्डिंगभित्र पस्दा इन्डियाको कुनै एक सहर पुगेजस्तो भान हुन्छ । यहाँ इन्डियनहरुको ठूल्ठूला दोकान र विभिन्न विजिनेसहरु चल्ने गर्छ । हिन्दी चलचित्र ‘नाम’मा यही बिल्डिंगको छतबाट भिलेन परेश रावलले सीधै रोडमा हामफाल्ने सिन थियो, सञ्जय दत्त र कुमार गौरव स्टार फेरीबाट सानो पानी बोटमा चढेर भागेको सिन छ । यस्ता यस्ता सिनारियो बोक्ने यो बिल्डिंग अझै उस्तै इतिहास बनिरहेको छ । महँगी बढेर थेग्न नसकिने दामको ट्याग भिरेर दोकानभरि (गुडिया) डलहरु ग्राहकलाई लोभ्याउँदै उभिरहन्छन्, ठूल्ठूला सुनका गहनामा सजिएका गुडियाहरुलाई सिसाभित्र नियाल्दै फेसबुक लाइभ खिच्न थालें ।
केहीबेरको हिँडाइपछि हामी पनेंसुला होटल अगाडि पुग्यौं, पानीको ठूलो फोहोरा नाचिरहेको थियो, होटलको आँगनमा पानी भित्रैबाट बत्ति जडान गरिएर सजाइएको त्यो सुन्दर दृश्यमा उभेर पालैपालो तस्बिर खिच्यौं । अनि सुरुङ्गमार्गबाट रोडक्रस गरेर स्टार फेरि निस्कियांै, अहा…स्टार फेरि साँच्ची रमाइलो थियो साँझको बेला तिहारको रंगीचंगी बत्तीहरुजस्तै झिलिमिली बत्तीहरु बल्न थालेका थिए । केहीबेर घुमेर हामी तस्बिर खिच्दै घुमिरह्यौं, संसारका विभिन्न देशबाट आएका पर्यटकहरुका लागि विभिन्न तरिकाले सजाइएका थिए । स्टार फेरि वरिपरि, सुन्दरी चाईनिज केटीहरु आफ्नो पुरानो संस्कृति झल्किने भेषभुषामा नृत्य र नाटकहरु प्रदर्शन गरिरहेका थिए । खुल्ला आकाशमुनि एक टुक्रा स्वर्ग अनि त्यहाँ नाचिरहेका मनमोहक मृग नयनी जलपरीहरु झैं देखिन्थे समुद्रको आँगनमा ती नाच्ने चाइनिज सुन्दरीहरुलाई ।
मैले २००२ देखि २००७ सालसम्म यही स्टार फेरीबाट फेरि (पानी जहाज)मा लामा आइल्यान्ड धाएर निक्कै पैसा कमाएकी थिएँ । त्यो बेला त्यहाँ फर्काइन लड़ कन्स्ट्रक्सन कम्पनी र जेएल भन्ने एउटा कम्पनी थियो । जेएलमा धेरैजस्तो पश्चिमी नेपालीहरु काम गर्थे भने पल्वाई र ईन लर्ड भन्ने कम्पनीमा पुर्वेली त्यो पनि ताप्लेजुंगेहरु बेसी काम गथ्र्याैं । दुवै कम्पनीले हङकङभरिलाई पुग्ने बिजुली पावरहाउसको मर्मत र स्याहार संहारसम्बन्धीका काम गर्दथे । म एउटी महिला भएर पनि केटाबराबर ८ वर्ष कन्स्ट्रक्सनमा काम गरेँ । अन्त्यमा छाड्ने मन नहुँदानहुँदै पनि युके आउने मोहले त्यो काम छाडेर हिडें । ती दिनहरु आज पनि झल्झली सम्झिँदा लाग्छ दिन कति चाँडै बित्दो रहेछ ।
हामी तल्लो बाटो आएका थियौं तर फिर्दा मास्तिरबाट पारि निस्केर घरतर्फ लाग्यौं । साँझ निकै छिप्पेको भए पनि उज्यालो थियो हङकङ दिनमा लाग्ने बजार र दोकानहरु बन्द भए पनि रातमा लाग्ने नाईट मार्केटहरु खुल्दै र खुल्लै थिए । म भोलिपल्ट ११ बजेको जहाजबाट इन्डिया हुँदै नेपाल उड्दै थिएँ त्यसैले केही लाने सामानहरु किनेर दिदीको घरतर्फ लाग्यौं । घर पुग्दा सोल्टिनीले कामबाट आईवरी खानापिना पनि बनाइसक्नु भएको थियो, खाना खाएर भारितारी मिलाइवरी सुत्यौं । बिहान उठेर हल्का चियानास्ता खाइवरी उही ठूलो सुटकेस तानेर चेप्लाकक्क एयरपोर्टतिर लाग्यौं दिदी र म धन्न दिदीले काम नगरी बसेकोले यो पाली मलाई सजिलो भएको थियो । भारितारिसँग बस चढ्न सारै अप्ठ्यारो भएकोले जेबी भेनाले चिनेको एकजना इन्डियनको ट्याक्सी बोलाएर लाग्यौं अर्पोर्टतिर । हामीलाई टेक्सीले सोध्यो कुन टर्मिनल जाने भनेर तर मलाई जेट एयरवेजको लागि अर्को टर्मिनल छ भन्ने थाहा नभएकोले सीधै मेनगेटमा जाने भनिहालें । र, सोहीअनुसार हामी पुग्यौं तर म जाने टर्मिनल अचेल नयाँ खोलेको टर्मिनलमा रहेछ सोधी खोजी गरेर ट्याक्सीवालाले भनेको सम्झिँदै दिदी बहिनी ट्रली तानेर लाग्यौं अर्को टर्मिनलतर्फ धन्न त्यति टाढा रहेनछ टाइममै पुगेर लाइन् लागेँ । पालो आयो सामान जोखें तर समान धेरै भयो दिदी र मैले असिनपसिन हुँदै ५ केजी जति झिकेर जेब्रा झोलामा लगायौं अनि बल्ल भारी गयो । तर, नेपाल लानु भनी किनेको समान सबै छुट्यो कस्तो नमीठो लाग्यो । तिरेर बोक्ने पैसा थिएन म सँग । समान बोकेर दिदी मंग्कक्कतिर लाग्नु भो । म जहाज चढ्ने गेटतिर लागेँ, यसरी फेरि छुट्टियौं हामी दिदीबहिनी, नरमाइलो लाग्यो दिदीसँग छुट्दा ।
समाप्त






