
लन्डन २७ फेब्रुअरी २०२५ । बेलायती सेना प्रमुख, चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरले नेपाली सेनाको प्रशंसा गरेका छन् ।
लण्डनस्थित नेपाली दूतावासले नेपाली सेनाको २६२औँ स्थापना दिवसका अवसरमा बुधबार साँझ दूतावासमा आयोजना गरेको एक विशेष समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका सेना प्रमुख रोलीले, नेपाली र बेलायती सेनाबीचको दिगो सम्बन्धप्रति प्रसन्नता व्यक्त गर्दै नेपाली सेनाले देखाएको अटल समर्पण, निष्ठा र व्यावसायिकताको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।
जनरल वाकरले सो अवसरमा भविष्यमा बेलायती सेनाले नेपाली सेनालाई थप सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बेलायतमा ब्रिगेड अफ गोर्खाजले पु¥याएको योगदानको खुलेर प्रशंसा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा चन्द्रकुमार घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र दिगो विरासतको स्मरण गरे । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको बताए । राजदूत घिमिरेले नेपाली सेनाको महत्त्वपूर्ण इतिहास र बेलायती सेनासँगको लामो समयदेखिको सम्बन्ध स्मरण गर्दै बेलायत सरकारले नेपाल र नेपाली सेनालाई निरन्तर सहयोग गरेकामा प्रशंसा गरे ।
स्वागत मन्तव्यका क्रममा दूतावासका सैनिक सहचारी कर्णेल अनुप शाहले इतिहासका निर्णायक क्षणहरूमा नेपाली सेनाको अटल बलिदानको स्मरण गर्दै नेपाली सेना आफ्नो व्यावसायिक धर्ममा कटिबद्ध रहेको बताए ।
कर्णेल शाहले विश्व शान्ति स्थापना, वन्यजन्तु संरक्षण, प्राकृतिक प्रकोपहरुमा मानवीय सहायता, विकास निर्माण आदिमा नेपाली सेनाको योगदानसहितको श्रव्यदृश्य प्रस्तुत गरेका थिए ।






