लन्डन १६ मार्च २०२५ । तमु धीं यूके उपाध्यक्ष एवं व्यवसायी कमल गुरुङले बेलायतमा शनिबारदेखि ‘बेजिङस्टोक ओरिएन्टल मार्ट’ सञ्चालनमा ल्याएका छन् । उनको यो दोस्रो ओरेन्टियल मार्ट हो ।
बेसिङस्टोक सहरको केन्द्रमा रहेको द मल्समा खुलेको पसलको एक समारोहबीच मेयर काउन्सिलर डान पुट्टी, सांसद लुक मर्फी, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सञ्चालक गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो क्रममा चिनियाँ ड्रागन नृत्यसमेत देखाइएको थियो ।
त्यसपछि सबैलाई मार्टमा उपलब्ध हुने सामग्रीहरूको अवलोकन गराइएको थियो । मार्ट सुरु भएको अवसर पारेर पहिलो एक हप्तासम्मका लागि हरेक सामान खरिदमा १० प्रतिशत छुटको प्रबन्ध गरिएको छ । कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, पुनम गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ, ग्याम गुरुङ, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, बेजिङस्टोक नेपाली समाज यूकेका अध्यक्ष ओम गुरुङ, बेजिङस्टोक गुरुङ समाज यूकेका अध्यक्ष दुर्गा गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङलगायत संघसंस्थाका अध्यक्ष प्रतिनिधि, आफन्त एवं शुभचिन्तक भेला भएका थिए ।






