
लन्डन ३० मार्च २०२५ । नेपाल पत्रकार महासंघ बेलायतले पत्रकार सुरेश रजकको हत्याको घोर भर्त्सना गरेको छ ।
अध्यक्ष विमला सेने र महासचिव खेमराज रानाभाटले शनिबार विज्ञप्ति जारी गर्दै राजावादीहरुको आन्दोलनको क्रममा तीनकुने काठमाडौंमा शुक्रबार भएको आगजनीमा परी एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद् निधन र सञ्चारमाध्यममाथिको आक्रमणप्रति शाखाको ध्यानाकर्षण भएको जनाउँदै उक्त घटनाप्रति भर्त्सना गरेका हुन् ।
‘शान्तिपूर्ण आन्दोलन लोकतान्त्रिक अधिकार हो । तर पत्रकारको ज्यान लिने, सञ्चारमाध्यममाथि आक्रमण गर्ने तथा प्रेस स्वतन्त्रताको अधिकार सदुपयोगमा खलल पु-याउने कार्य पूर्ण रूपमा अस्वीकार्य, निन्दनीय र आपराधिक छ,’ अध्यक्ष विमला सेने र महासचिव खेमराज रानाभाटले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारगृह तथा सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन भन्ने सुनिश्चित गर्न कठोर कदम चाल्न शाखाको जोडदार माग छ।’
प्रदर्शनकारीद्वारा सञ्चारकर्मी माथि गरिएको आक्रमण, कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्ट कार्यालयमा गरिएको तोडफोड, हिमालय टेलिभिजनको गाडीमा क्षति पु-याउने कार्य तथा सार्वजनिक तथा निजी सम्पत्ति माथिको आगजनी र लुटपाटजस्ता हिंसात्मक क्रियाकलापप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखा घोर भर्त्सना गर्दै पत्रकार सुरेश रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।







