लन्डन ३१ मार्च २०२५ । समाजसेवी पार्वती गुरुङ र माया गुरुङबाट सञ्चालित माइला कान्छा सहयोग अभियान बेलायतले क्यान्सरपीडित महिमा रानालाई आर्थिक सहयोग गरेको छ ।
आइतबार ३० मार्च २०२५ मा मदर्स डेको अवसर पारी महिमा रानालाई विभिन्न व्यक्तिहरुबाट संकलन भएको रकममा पार्वती-मायाले थपेर ३५ हजार रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकम विष्णुकाजी गुरुङ र जमुना गुरुङले पीडितकहाँ पुगेर हस्तान्तरण गरेका सहयोग अभियानकी पार्वती गुरुङले जानकारी दिइन् ।
महिमाका लागि स्वागत र रोश्नी कंसाकार ३० पाउन्ड, मनिष र सकुन गुरुङ २० पाउन्ड, सञ्जय र सेण्डी गुरुङ २० पाउन्ड, मनोज र ऐलिना गुरुङ २० पाउन्ड, लुम्बिनि बुटिक ५० पाउन्ड, माइला कान्छा अभियानका (माया र पार्वती गुरुङ) ५० पाउन्ड गरी १ सय ९० पाउन्ड (नेपाली रुपैयाँ ३३ हजार २५०) जम्मा भएको थियो । जसमा विष्णुकाजी र जमुना गुरुङले १ हजार ७५० थपेर ३५ हजार पुर्याएको पार्वतीले बताइन् ।
आमा र श्रीमान् बितेपछि बाबाको पेन्सनले घर चलाउँदै गरेकोमा बाबा पनि केही महिनाअघि क्यान्सर रोगका कारण बितेपछि आयस्रोत नहुँदा महिलाको परिवार बिचल्लीमा परेको हो । एक सानो छोराको साथमा उनी पोखराको भण्डारढिकस्थित सुकुम्बासी बस्तिमा टिनको टहरामा बस्छन् ।
अभियन्ता पार्वतीले सहयोगी मन र आफूहरुको तर्फबाट सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै सहयोग पीडितकहाँ पुर्याइदिने दाइभाउजु विष्णुकाजी र जमुनालाई धन्यवाद दिएकी छन् । ‘सहयोगी मनहरुसँग मिलेर सहयोग गर्न सफल भयौ । ‘सिधा कुरा जनतासमक्ष सिधा राहत पीडितसमक्ष’ भन्ने भनाइलाई मनन गर्दै आफ्नो पैसा, समय खर्चेर पीडितसमक्ष पुर्याइदिनु हुने मेरो आदरनीण दाइभाउजू विष्णुकाजी र जमुना गुरुङलाई हामी दुईको तर्फबाट हृदयदेखि धन्यवाद ।र उहाँहरु लगायत सम्पूर्ण मनकारी दाताज्युहरुलाई सधैं दिन पुगोस् । खाना पुगोस् । सधैं भगवान् दाहिने रहुन् । जय बुद्ध ।’






