जानु काम्बाङ्ग
सिमसिम झरी परिरहेको भए पनि घरभित्र हल्का गर्मी महसुस भएर होला मज्जाले निद्रा लागेन राति । उज्यालो भएपछि निदाउने मेरो कोसिस विफल भएपछि म उठेर नुहाएँ । ‘तँ त दुरुस्तै मावली बोजु जस्तो छस् हो’ आमाको यो भनाइ सम्झिँदै, चाउरिँदै गएको निधारका रेखा, आँखाका डिल र गालाहरूमा, युगले बिर्संदै गरेको मेरो मावली बोजुको अनुहार खोजिरहन्छु म । अचानक तल ढोकाबाट केही चिज भित्र खसालिएको आवाज सुनेपछि गाजल र मस्काराले सजाउँदै गरेका मेरा २ आँखा तल झ्यालतिर हुत्याउँछु । पारिपट्टि पहेँलो र सुन्तले रंग मिस्सिएको सेफ्टी ज्याकेट लगाउने एउटा अधबैंसे गोरा, छड्के एउटा जोगी झोला र हातमा एक अंगालो जति चिट्ठीपत्र बोकेर म्याराथन धावकझैं दौडिरहेको हुन्छ ।
मज्जा मानीमानी हेरिरहन्छु, हातमा भएको सबै चिट्ठी छिनभरमै बाँडी सकेर अर्को रोडतिर हाम्फाल्छ । म भने अझै मस्कारा समातेर अनुहारमा कुची चलाइरहन्छु । अनि महसुस गर्छु हामी छोरी मान्छेले मेकअप गर्नमा कति धेरै समय खर्च गर्दा रहेछौं भनेर ।
रमाइलो वर्षायाम (समर सिजन) जानै लागिसकेको छ बेलायतमा किनकि यहाँ हिउँद महिनामा धेरै पानी पर्ने, दिनको ३ बजे नै घाम डुब्ने, जाडो र हिउँ पर्ने भएकोले पनि वर्षायामलाई रमाइलो मानिन्छ । जब वर्षा लाग्छ अनिमात्र मज्जाले घामको अनुहार देख्न पाइन्छ, रातको १० बजेसम्म घाम लाग्छ । अनि सुरू हुन्छन् विभिन्न प्रोग्रामहरू हरेक हप्ता । व्यस्तता र दौडधुपले मान्छेका कुनै शनिबार, आइतबारहरू खाली रहँदैनन्, हरेक विकेन्ड मान्छेलाई भ्याइनभ्याई हुन्छ । उस्तै हालत मेरो पनि छ आजभोलि, गत शनिबारमात्र म, गायक तथा संगीतकार भाइ बीसी राईको सोलो स्वर संगीत र वरिष्ठ साहित्यकार, गजलकार दुबसु क्षेत्रीको सोलो गजल रहेको एल्बम ‘निर्मम यादहरू’ को विमोचनमा केन्ट पुगेकी थिएँ । त्यहाँ पनि युकेका धेरै आफ्ना आफन्त र सर्जकहरूसँगको रमाइलो भेटघाटमा समय बितेको थियो ।
म तयार भएर निस्कँदा बिहानको १०ः१५ बजेको थियो । रोडमा निस्कँदा निस्कँदै सधैंझैं मलाई बसले छाडेर गयो । बसको टाइमटेबल ख्याल नगर्दाको सजाय म यसरी नै सधैं भोग्ने गर्दछु । आज पनि भोग्दै थिएँ । मलाई ढिलो भइसकेकोले, कसम स्टडीयमबाट आउने बसहरू भेटिन्छन् कि भनेर माथिल्लो स्टप छाडी दौडिएँ तल्लो स्टप ।
नभन्दै बस नम्बर घ बि आयो अनि हिँडे म । म बसेको एरियाबाट सिङ्गल नम्बर ३ मात्र चल्छ, तल कसम स्टडीयम, लिटल मोर हुँदै अन्य भित्रको गाउँहरूको लागि थ्री ए र थ्री बि चल्छन् । ४ दिन लगातार काम गरेर बल्ल छुट्टी मिलेको भए पनि, म भने आराम गर्न छाडेर नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको वार्षिक कार्यक्रममा जाँदै थिएँ । मेरो शरीरलाई मात्र आराम चाहिएको थियो मनलाई भने चाडै पुग्नु थियो प्रोग्राममा ।
उहिले, उहिले नेपालमा छँदा हरेक हप्ता शनिबारे बजारमा हप्ताभरिका लागि सौदा गर्न जान्थ्यौं, अहिले हरेक शनिबार संघसंस्था र पार्टी फन्सन धाउँछौं । थाहा छैन वास्तवमै हाम्रो आवश्यकता के हो र कुन हो ? लाग्छ मानव समाजमा दुवै उत्तिकै आवश्यक छन् र त यो सब भइरहेका होलान् ।
म अक्सफोर्ड सिटी सेन्टर पुगेर रेल स्टेसन जाने १ नम्बर बस चढें । किनकि शनिबार, आइतबार अक्सफोर्डबाट हाईवेकमनवे जाने पब्लिक बस २७५ नम्बर चल्दैनथ्यो । स्टेसनमा पुगेर १४ पाउन्डको टिकट लिएँ । टिकट लिने काउन्टरको स्टाफलाई भनेर हाईवेकमनवे कसरी पुग्ने भनि रूट इम्फर्मेसन पनि प्रिन्ट गर्न लगाएर लिएँ । स्टाफले दिएको लिस्टमा डाईरेक ट्रेन, लन्डन मार्लिबोनी जाने प्लेटफर्म २ मा छुट्ने समय ११ः१० लेखिएको थियो । मसँग टाईम २० मिनेट थियो कफीशपमा पसेर एउटा स्यानवीच र एक कप कालो कफी किने, कफीशपमा एकजना नेपाली युवा पनि काम गर्दा रहेछन् । मज्जाले खाजा तातो बनाउन लगाएर प्लेटफर्ममा पुग्दा ट्रेन लागिरहेको थियो । मान्छे फाटफुट्ट मात्र थिए । प्रायः सिटहरू खाली जस्तै थियो । एउटा राम्रो खाने टेबल भएको सिट रोजेर बसें, अनि अघि तताउन लगाएको खाजा खान थालेँ ।
केहीछिन पछि ट्रेन हिँड्यो । कस्तो टाईम टेबल ११ः१० भन्दा एक सेकेण्ड पनि तलमाथि थिएन । जतिजति अक्सफोर्ड छाड्दै गयो उतिउति रमाइला ठाउँहरू आउन थाल्यो । अक्सफोर्ड पार्कवे, अक्सफोर्ड नर्थ क्रमैसँग समर टाउन सोपिङ सेन्टर आदि । यो अक्सफोर्ड नर्थसँग मेरो पुरानो नाता छ, अझैसम्म कहाँ पर्छ, कति टाढा छ ? भनेर सोचिरहन्थें । आज देख्न पाएँ उज्यालोमा ।
सम्भवतः २ वर्षअघि होला ? म, वातावरणविद् दाजु विजय हितानको निम्तोलाई स्वीकार्दै, केन्ट कलम र विश्व नेपाली साहित्य महासंघ आसफोर्ड शाखाले संयुक्त रूपमा आयोजना गरेको एउटा साहित्यिक कार्यक्रममा भाग लिन पुगेकी थिएँ । प्रोग्राम निक्कै रमाइलो र उपलब्धिमूलक रह्यो । प्रोग्रामपछि डिनरको प्रबन्ध गरिएको र म धेरै टाढाको पाहुनाले झन् खानै पर्ने नियम पालना गर्दा गर्दै ढिलो भो ।
आसफोर्डबाट हिँडेको रेल लन्डनको एसटी पान क्रससम्म आए, त्यहाँबाट ट्युब (जमिन मुनि)को रेल चढेर पेडीङ्ग टनसम्म आएर अक्सफोर्ड जान न्यू क्यास्ट्ल जाने रेल चढेँ । त्यहाँबाट हिँडेको रेल एकैपल्ट स्लोव्ह, रिडिङ्ग अनि अक्सफोर्ड आउँथ्यो । झोलामा विजय हितान दाजुको कथासंग्रह थियो । पल्टाएर संघाई स्ट्रिका दुई आँखा शीर्षक पढ्न थालें ।
कथामा जया राई दिदीको कथा ब्रेकर स्ट्रिट्का दुई आँखाका पात्रहरूलाई संघाई स्ट्रिट्को एउटा रेस्टुरेन्टमा अचानक भेट गराउँदोरहेछ, रोचक लाग्यो पढ्दापढ्दै कुन बेला फुस्स निदाएछु थाहै भएन । जब मेरो आँखा उघ्रियो तब देखे अक्सफोर्डबाट ढोका बन्द गरी रेल हिँड्दै थियो । घडी हेरें रातको ११ बजेको थियो अब म कहाँ पुग्छु, नेक्स्ट स्टप कहाँ हो केही थाहा थिएन ।
म अतालिएर हरियो निलो भइरहेको बेला टिकट चेक गर्दै एउटा स्टाफ आइपुग्यो । मैले अतालिँदै भने, मेरो स्टप अक्सफोर्ड हो तर, निदाएछु त्यसैले मेरो स्टप छुट्यो अब म के गरौं ? उसले भन्यो नेक्स्ट स्टप जुन आउँछ त्यही झरेर ट्याक्सीमा जा, यति राति रेल पाउन सम्भव छैन ।
नेक्स्ट स्टप आयो, म त्यहीं ओर्लिएँ । सुनसान जंगल, वरपर गाउँ बस्ती घर केही थिएन एकदम चुक पोखेजस्तै अँध्यारो । बाटो खोज्दै बाहिर निस्किएँ । निक्कै पर पुगेपछि एउटा कारहरूको डिलर थियो, आँगनभरि नयाँनयाँ कारहरू थिए । ट्याक्सी खोजें तर पाइनँ, ट्याक्सीको फोन नम्बर पनि थिएन । जाडोले लगलग काप्दै कारहरूको बीचमा बसेर बूढोलाई फोन गरें, फोन उठेन, एकछिनपछि कलब्याक गर्नु भो । सबै इतिवृतान्त सुनाएपछि भन्नु भो, ‘त्यहाँ स्टेसन छेउछाउको स्ट्रिट्को नाम भन ।’ आवाज निक्कै चर्को थियो तर.सहनुको विकल्प थिएन । धेरै खोजें तर त्यहाँ त्यस्तो नाम कतै देखिनँ मैले । त्यहीबेला सम्झें मैले हाम्रो नेपालमा जताततै तान्द्रङतुन्द्रुङ साईनबोर्ड झुन्ड्याउनुको महत्व । डराउँदै, डराउँदै सानो स्वरमा म अक्सफोर्ड नर्थ रेल स्टेसन छेउमा छु भनिदिएँ ।
कुर्दाकुर्दै रातको १२ बज्यो, भोक, तिर्खा, डर र त्रास सबै, सबै मिलेर मेरो टाउको माथि नाचिरहेका थिए । रोड़देखि पारिपट्टिको जंगलमा स्यालहरु दौडेको प्रस्ट देखिन्थ्यो तर मलाई जंगली जनावरभन्दा मान्छेहरूसँग डर लाग्दै थियो । किनकि बेलायतमा पनि लुटपाट र बलात्कारका घटनाहरू हुने गर्छन् बेलाबखत । घरबारविहीन, ड्रग एडिकहरू भेटिन्छन् । त्यस्ता मान्छेहरू काम नगरी बस्छन्, दिनभरि सुत्छन् सरकारी भत्ता थाप्दै खान्छन्, अनि रातमा बाहिर निस्कन्छन् ।
१२ः३० तिर बल्ल ईन्टरनेटबाट सर्च गर्दै बूढो आइपुग्नु भो त्यही आइपुगेर फेरि धेरै खोजाखोज भो, बल्लतल्ल भेट भएर घर पुगेँ, बुडोलाई भेट्दा लाग्यो उहाँको खुट्टा नै समातेर ढोगौं । जिन्दगीमा यो गुण ठूलो मानेकी छु । आज त्यही राति देखेको एकलास गाउँ अक्सफोर्ड नर्थमाथि दिउँसै रेल चढेर दौडिरहेकी थिएँ । ठाउँ रमाइलो थियो, डरलाग्दो त रातमा मात्र देखिएको रहेछ ।
म ११ः४० तिर हाईवेकमबे स्टेसनमा ओर्लिएँ, बाहिर ट्याक्सीहरु लाइन लगेर बसिरहेका थिए । चढेर लागेँ उकालैउकालो, बाटोभरी आँखै लोभ्याउने रमाइला दृश्यहरु देखेर हेर्दाहेर्दै कतिबेला पुगेछु थाहै भएन । एक्कासी ट्याक्सीले ब्रेक लाउँदा होस् खुल्यो । मैले त अघि नै १२ पाउन्डको यात्रा गरिसकेकी रहेछु । मिटरमा उठेको पैसा तिरेर लागेँ । आर्मी क्याम्पभित्रको हलतिर मान्छे निक्कै भेला भइसकेका थिए । मात्र केही अतिथिहरू आउन बाँकी थिए ।
ठीक मध्यान्हको १२ः३० मा कार्यक्रम सुरू भो, प्रोग्रामको अध्यक्षता संस्थाको उपाध्यक्ष टंक वनेमले गर्नु भएको थियो । प्रमुख अतिथि वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, विशेष अतिथिहरूमा बेलायतमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, नेपालबाट बेलायत यात्रामा रहनुभएका साहित्यकार मदन राई लामाखुले, त्यसैगरी पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी, जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, कवि तथा मुक्तककार नेपाल मुक्तक प्रतिष्ठान बेलायतका सल्लाहकार डाक्टर रुपक श्रेष्ठलगायत साहित्यकार कवि भगवान चाम्लिङ्ग, मेजर भुवानी पन्धाक, त्यसैगरी अन्य थुप्रै महिला दिदीबहिनीहरू साथै साहित्यकार, कवि, गीतकार र गजलकारहरूको पनि बाक्लो उपस्थिति रहेको थियो ।
मञ्च प्रदान गरेबापत प्रतिभा प्रतिष्ठान बेलायतलाई धन्यवाद ज्ञापन गर्दै कवि गणेश राईले युद्ध साहित्य र सिद्धान्तको बारेमा एक कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो । प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष यसरी एकजना स्रष्टालाई मञ्च प्रदान गरी साहित्य अनुरागीहरूको लागि एक बलियो इतिहास रच्दै गरेको अनुभव हुन्छ मलाई । म हरेक वर्षको कार्यक्रममा जान रुचाउँछु । बसेर अरुको सिर्जना सुन्न मलाई असाध्यै रमाइलो लाग्छ । यो पालिको स्रष्टा दाजु गणेश राईको कविताहरूले धुरुधुरु नै रुवायो । मेरो छेउमा बसेर भावनाजीले आँखा पुछिरहनुभएको थियो भने अर्कोपट्टि गजलकार मित्र सेमन्त राई ले आफैंलाई सम्हालीरहनुभएको थियो । म बिचमा बसेर आपूmलाई सम्हाल्न असफल प्रयास गरिरहेँ, नसकेर एकछिन ट्वाइलेटतिर सुईत्त छिरेर मन हल्का बनाएर आएँ ।
जुनबेला कविता समाप्त भएको संकेत श्रष्टाबाट हुन्थ्यो, सुनसान त्यो माहोल फेरि तालीमय बन्दथ्यो । कविता सुन्दै गर्दा कवितालाई सुहाउने धुनहरूको साथमा लड़ाईका दृश्यहरू, बन्दुक र बम पड्केका आवाजहरू गुञ्जिन्थ्यो, भित्तामा झुन्ड्याइएको सेतो पर्दामा कविताले भनेका सबै चित्रहरू हेर्न पाइन्थ्यो ।
म आफैं एक सैनिकको छोरी, दोस्रो विश्वयुद्ध लड्ने लडाकूको नातिनी भएर पनि थाहा थिएन मलाई खुकुरी, बम, गोला, बारुद, बन्दुक र संगीनलाई बिम्ब बनाएर पनि यति मीठो र सुन्दर कविता लेख्न सकिन्छ भनेर । जेहोस् कार्यक्रम निक्कै रोचक भयो, युद्ध साहित्यलाई नजिकबाट बुझ्ने मौका दिनु भएकोमा, युद्ध कवि, उपन्यासकार तथा सिद्धान्तकार दाजु गणेश राईलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु ।
साँझको ४ बजेतिर कार्यक्रम सकियो अनि हल्का सेलरोटी, चिउरा, तरकारी र अचारको मीठो संगम खानामा थियो । खानपिनपछि केन्ट जाने मित्र सेमन्तजीले स्टेसनसम्म पुर्याइदिनुभो । ओहोरदोहोरको टिकट बिहानै लिएकी थिएँ तर, हाईवेकमबे रेलमा पहिलोपल्ट आएकोले फर्कंदा कुन प्लेटफर्मबाट चढ्ने भन्ने कुरो थाहा थिएन । त्यसैले सोधपुछको काउन्टर अघि लाइन लागें २ जनापछि पालो आयो ।
मैले म अक्सफोर्ड जाने हो कुन प्लेटफर्मबाट चढ्ने होला ? भनी सोधें । उसले भन्यो, ‘यही अगाडिको प्लेटफर्म हो रेल लागिरहेको छ दौडी हाल्नुस् ।’
म आफ्नो भारी झोला उचालेर टिकट छिराउँदै दौडिएँ तर, प्लेटफर्ममा पुग्दा नपुग्दै रेल गुडी गयो सारै नमज्जा लाग्यो । छेउमै बेन्ची थियो थुचुक्कै बसेर अर्को रेलको इन्फर्मेसन बोर्ड हेर्न थालेँ । अर्को रेल ४५ मिनेटपछि देखाएको थियो । बाहिर जाडो लागेकोले भित्र वेटिङ रुममा गएँ । भित्रै पनि इम्फर्मेसन बोर्ड थियो, हेर्दै कवि तथा यात्राकार केदार संकेतजीको यात्रा संस्मरण ‘बुद्ध ल्यान्ड टू स्विट्जरल्यान्ड भित्रको केपÞmालोनियामा ओलिभ टिप्दा’ शीर्षकको यात्रा पढ्न थालें ।
यात्रा रमाइलो थियो, यो यात्राबाट थाहा भो, यात्राकार आपूm एक्लै मात्र नभएर परिवारसँग पनि यात्रा गर्नु हुँदोरहेछ । यात्रा पढ्दा धेरै कुरोको जानकारी मिल्दोरहेछ, जस्तै यो यात्राले मलाई सधैं त्यसको रसेलस्बेरीजस्ता सुपर मार्केटमा किनेर खाइने हरियो ओलिभ कहाँबाट आउँछ होला जस्तो लाग्थ्यो । अहिले थाहा भो ग्रिसबाट आउँदो रहेछ ।
बस्दाबस्दै इन्फोर्मेशन बोर्डबाट ४५ पछिको रेलको टाइमटेबल हरायो दौडेर फेरि सोधपुछ डेक्समा पुगेँ । त्यहाँबाट थाहा भो, यो मात्र होइन यो भन्दा पछिको अर्को पनि रद्द भएको छ मानिलिउँ आज अक्सफोर्ड जाने रेल नै छैन । फेरि सोधेँ, ‘अरू उपाय के छ ?’ उसले भन्यो, ‘तपाई बन्बेरी जाने रेलमा गएर हाडेंन्हामबाट अक्सफोर्डको रेल चढ़नुस् ।’
स्टाफले यति भनेपछि धन्यवाद पनि नभनी तुफान दौडिएँ, प्लेटफर्म २ मा रेल लागिरहेको थियो, छेउमा उभेर झन्डा हल्लाउने मान्छेलाई सोधेर फुत्त छिरें अनि लामो सास तानेर बसें थ्याच्चै सिटमा केही छिनमा रेल हिँड्यो ।
झोलाभरि किताब बोकेकी थिएँ तर एउटा पनि हेरिनँ किनकि दिउँसैदेखि रेल कुर्दाकुर्दा दिलदिमाग दुवै थाकिसकेकोले जाँगर नै चलेन । २ स्टपपछि बल्ल म हाडेंन्हाम पुगेँ ओर्लेर सोधपुछ गर्दा त्यही प्लेटफर्ममा अक्सफोर्डको रेल आउने जानकारी पाएर एकछिन पर्खिएँ । एकलास जंगल बीचमा थियो स्टप । ओत लाग्ने ठाउँ पनि थिएन । उभिँदाउभिँदै पानीले चुट्यो, झोलामा छाता थिएन त्यहीबेला मैले बाबालाई बेस्सरी सम्झें, बाबा जहिले भन्नुहुन्थ्यो, ‘वर्षायाममा छाता, हिउँदमा जुत्ता नबिर्सनु, अनिकालमा बिऊ र हुलमुलमा जिउ जोगाउनु ।’
मैले पनि त झोलामा छाता फ्यास्स हालेर हिँडेको भए किन हुन्थ्यो यो दुःख ? त्यहाँबाट अक्सफोर्ड पार्कवे र समरटाउन दुई स्टपपछि अक्सफोर्ड आयो ओर्लिएर ब्लेकबर्लिज जाने ५ नम्बर बस चढी सिटी सेन्टर पुगेर ३ नम्बर बस लिएँ । साँझको ८ः३० तिर घर पुगेर खाना पिना बनाई परिवार सँगै बसेर खाइयो । यस्ता साहित्यिक कार्यक्रम र अग्रज साहित्यकारका विचार, सिद्धान्त र अनेक चिनेजानेका स्रष्टाहरू सँगको भेटघाटले साँच्चै नै एक उर्जा थपिँदो रहेछ । हिजोआज एक्लै बसेर आफ्नो विचार लेख्नुभन्दा अरूको सुनेर, पढेर लेख्दा धेरै कुरोको सुधार भएको मलाई महसुस भएको छ ।
मान्छेले चाहेकोजस्तो कुनै पनि कुरा नपुग्दोरहेछ जिन्दगीमा । समाजसेवा र साहित्यिक प्रोग्राममा धाउने कार कहिले किन्ने मैले ? ड्राईभिङ्ग पास गर्ने कहिले ? कारबाट २५ मिनेटमा पुगिने ठाउँमा आफ्नै कारमा गएर समय बचाउने कहिले ? यस्ता अधुरा कुराहरूले बेला बेला पिरोल्न छाडेका छैनन् मलाई । आज पनि दिनभरिको दुख सम्झेर मन पिरोलिरहेको छ ।