डोल्माको अधुरो कथा

SHARE:

जानु काम्बाङ्ग
हिन्दू मन्दिरमा घन्टी बज्न थालेपछि म उठें, किनकि त्यतिबेला बिहानको ४ बजेको हुन्छ । मन्दिरको छेउमै घर हुनु कहिल्यै उठ्नुको निमित्त ‘अलराम सेट’ गर्नु पर्दैन, यतिमात्र फाइदा । काममा जान नपर्दा त हल्ला लाग्छ त्यै घन्टी पनि । उठेर तातो पानीको केतल अन गरिराखेर तयार हुनु मेरो दैनिकी थियो ।

मैले दिनभरि काममा खाने खाजा र खानाहरु लोड गरेर रोडमा निस्कँदा बल्ल ४:३० बजेको थियो । सारा प्लमस्टेट चकमन्न अँध्यरो थियो । ओर्लंदा–ओर्लंदै बाटो भूलेर अलमलिएजस्तो जून पनि बादलभित्रै अल्मलिरहेको थियो । हिउँदको समयमा आइपुगेकोले पनि होला मलाई युके एकदम अनौठो लागिरहेको छ ।
पुजारीले मिठो स्वरमा भोजन गाएको बाटोसम्म सुनिन्थ्यो । गोराहरूको देसमा ईन्डियनहरू पनि आफ्नो लाग्दो रहेछन्, हिन्दू मन्दिरमा बज्ने घन्टी, त्यहाँ गाईने भजन सबै, सबै मलाई आफ्नो लाग्छ । बनक्बन रोड अलिक उकालो भएकोले जाडोमा स्याँ स्याँ सास बढिरहेको थियो मेरो । अँध्यरोमा आफ्नै छाँयाले पनि तर्साउने बेला आफंैले लगाएको स्लिपिङ्ग ब्याग जत्रो ज्याकेट सर्याकसर्याक गरेर कराउँदा अँध्यरोमा आफंै तर्सिन्थे । मुखबाट धुँवा फुसफुसाउँदै हरेक दिन यसरी काममा जान्थें ।
मेनरोडमा निस्कँदा सधंैझैं लालकुमारी हाईस्ट्रिट्मा मलाई पर्खिरहेकी थिइन् ।
हेल्लो साथी डर लागेन एक्लै बाटोमा उभिन, ठोक्लान् है ठोक्लान् ? रेला गर्दै मैले भने, ‘आ….के को डर ढालिन्छ नि अझैसम्म, एक दुई जना त, नेपालीको छोरी पो त हेहेहे….’ यसो भन्दै कुरो टुंग्यायो उसले । त्यसपछि मैले पनि थपिनँ कुरो । हामी हिँड्दै ५३ को स्टपसम्म पुग्यौं । पोलेको आलू आगोबाट झिकेर टोक्नुअघि खरानी फुकेझैं गरी चिसोले ठिर्‍याएको हात फुक्दै शारदा पनि आइपुगिन् ।
आ….बेकारमा ओभरटाइम गर्छु भनेछु कस्तो अल्छी लाग्यो बाई ! बेन्चमा बिस्तारै चिसोसित टिस्युले पुछेर बस्दै लालकुमारीले भनिन् ।
लौ न ! के भन्या होला त्यस्तो भर्खरै २, ४ जना ढाल्छु भन्ने मान्छेले ? मैले हाँस्दै गिज्याएँ । मेरो कुरोले एकछिन बसस्टप हाँसोमय बन्यो ।

केही छिनमा बस आइपुग्यो अनि चढेर उकालो कमनतिर लाग्यौं, कमन छेउको स्टपबाट डोल्मा पनि चढिन् । धन्न ठीक टाईममा उठिछिन् केटी नत्र त एक्लै हुनेथ्यो, मैले डोल्मालाई हाँस्दै भने ! कहाँ उठ्नु नि ! गाँठे, लगातार ३ पल्टसम्म बज्ने गरी अलाराम सेट गरेथें नि, सुत्नु अघि उसले भनी । बाफरे …अल्छी ? भनेर शारदा हाँसिन् ! अनि के त ? म तिमीहरू जस्तो फिट कहाँ छु त ? मोटो मान्छेलाई धेर निद्रा लाग्छ भन्ने थाहा छैन ?
ओऐ….ठिट्टी हो हल्ला नगरौं त ? एकछिन भएपनि झ्याप्पै दिनु पर्छ बसमा नत्र निद्राले बिजोक पार्छ यार….लालकुमारीले भनिन् र आँखा बन्द गरिन् ।

हामी पनि जाडोले नुन खाएको कुखुराजस्तो झोक्रिएका थियौ,ं बात मार्ने जोश जाँगर कसैलाई थिएन । आआफ्नो कानमा इयरफोन घुसाएर उड्न थाल्यौं म्युजिकको मीठो धुनमा निद्राको विमान चढी बिन्दास पाराले । विकेन्ड भएकोले बसमा त्यति मान्छे थिएनन् । सबै स्टप खाली भएकोले चढ्ने ओर्लने पनि नभएर होला हामी चाँडै पुग्यौं पेकहाम, हाम्रो स्टप आउन लाग्यो है केटी हो ? उठौं अब ठूलो स्वरमा एकपल्ट हल्ला ठोकें मैले । मेरो छेउमा लाल निदाइरहेकी थिइन्, अर्को सिटमा शारदा र डोल्मा थिए । सबैलाई ओर्लने आदेश दिँदै म पनि अल्छी मान्दै आङ तन्काउन थालें, सबै जरुक्क–जुरूक्क उठेर माथ्लो तलबाट तल झर्यौं । बस रोकियो सबै ओर्लियौं । बस सेन्ट्रल लन्डनतिर लाग्यो, हामी हाम्रो कामतिर जाने सानो रोडतिर मोडियौ ।

हेल्लो ! हेल्लो गल्स…वेर आर यु गोइङ्ग ? गीतमा रमाइरहेको मेरो विन्दास कानले, अँध्यरोमै यस्तो अनौठो आवाज सुनेपछि एउटा कानबाट इयरपÞmोन झिकें । म, बसबाट ओर्लेर पनि गीत सुन्दै हिँड्ने बानी भएकोले दुवै कानमा इयरफोन थियो । त्यो अनौठो आवाज हाम्रो नजिक, नजिक आइरहेको थियो ।

हामी सबै डरले भाग्न थाल्यौं, भाग्दाभाग्दै एउटा कार हाम्रो छेउमा आएर रोकियो । मैले कानमा भएको इयरफोन र मोबाइल थुतेर बाटो पारिको झाडीमा फालेर तुफान दौडिएँ । हामी दौडेको देखेर ती कारबाट ओर्लेका केटाहरू झन् लखेट्नतिर लागे ।

बिहानको ५:३० मात्र बजेको थियो, जनवरी १ तारिख आइतबार भएकोले सबै छुट्टीमा थिए, ओभरटाइम गर्न इच्छा हुने र हामी केही नेपालीलाई मात्र ओभरटाइम गर्न बोलाइएको थियो । हामी पनि बैंक होलिडेमा पैसा डबल हुने लोभले एक्लै अँध्यरोमा आउन तम्सिएका थियौं । हामीलाई थाहा थियो लन्डनमा धेरै यस्ता घटनाहरू हुन्छन् भन्ने तैपनि आफंैले नभोगेसम्म महसुस गरिँदैन भनेझैं बिनाडर, त्रास हामी काममा जाँदै थियौं ।

हामी दौडिरहेका थियौं, ती केटाहरू हाम्रो पछि थिए भने एक जनाले कार ड्राईभ गरिरहेको थियो । म छक्क परें जनवरी १ तारिख यस्तो जाडोमा पनि ती केटाहरू अर्धनग्न थिए । अचानक मेरो छेउमा हिँड्दै गरेकी साथी शारदा गुरुङ चिच्याइन् आईया ओऐ ! यिनीहरू त चोर पो रहेछन् मेरो फोन खोसायो बै ? शारदाको फोन एउटाले खोस्यो, अर्कोले डोल्माको झोला तान्न थाल्यो । बाटोमा पुरै खैलाबैला मच्चियो । हामी हेल्प….प्लिज….हेल्प भन्दै चिच्याइरहेका थियौं । यत्तिकैमा वरिपरिको घरहरूबाट कसैले पुलिस बोलाइदिएछ, हरण बजाउँदै पुलिसको भ्यान आइपुग्यो, पुलिसको हरण बजेको सुन्नेबित्तिकै ती २ केटाहरू कारमा चढेर भागे, बाटोमा हल्का उज्यालो खस्न थालेकोले हामीले एक अर्कालाई देख्न सक्ने भएका थियौं, म अलिक छिट्टो दौडिने भएर होला मलाई ती चोरहरूले भेटेनन्, डोल्मा पनि बलियो भएकोले झोला छाडिनन् । लालकुमारी पनि म संगसंगै दौडेर निक्कै टाढा पुगिन् तर, दौडिँदा फोन झरेर फुट्यो उनको । हामी ४ जनामध्ये घाटा शारदालाई भयो fउसले केही महिनाअघि मात्र नयाँ लेटेस्ट फोन बजारमा आउने बित्तिक्कै किनेकी थिइन् । पुलिसहरू आएपछि निडर भएर सबै कुरो बताउँदै झाडीमा पसेर अघि हुत्याएको फोन जस्ताको तस्तै टिपेर ल्याएँ, मलाई देखेर पुलिसहरू पनि हाँसे ।
हामी सबै डर र जाडोले लगलग कापिरहेका थियौं । पुलिसहरूले हामी सबैको नाम टिपेर बयान लिए अनि भ्यानमा राखेर फ्याक्ट्रीको गेटसम्म पुर्‍याइदिए ।

हामीले भित्र पसेर भेटे जति सबै स्टाफ र साथीहरूलाई दिनभर हाम्रो घटना सुनाइरह्यौं, भोलिपल्ट, पर्सिपल्ट नथाकेसम्म सुनाउन छाडेनौं केही दिन पछि आफंैले पनि भुल्दै गयौं ।
हामीले १ वर्ष जति सँगै काम गर्यौं त्यो फ्याक्ट्रीमा । अलिअलि कमाई पनि भयो, विशेष गरेर म र डोल्मालाई गाह्रो थियो लन्डनमा हामी विद्यार्थी भिसामा छिरेका थियौं । लालकुमारी पुन हङकङबाट युके आएका थिए, शारदा गुरुङ भूपू गोर्खा सैनिकको श्रीमती थिइन् । पढाई पूरा नभई नै डोल्माको कलेज बन्द भो, त्यो कलेजले स्पोन्सर गरेको सबै विद्यार्थी नेपाल फर्किए, डोल्मा पनि फर्किन् । डोल्मा फिरेपछि नरमाइलो लाग्यो, मेरो कलेजको पनि भरोशा थिएन, मान्छेले लन्डनमा कलेज ब्यापारको लागि खोलेका थिए भने हामी विद्यार्थीले लाखौं खर्च गरेर मुर्गा बनिरहेका थियौं । मेरो पनि लाखौँ डुबेको थियो पढाइभन्दा चिन्ता डुबेको पैसा र ऋणको लागेकोले पढाइभन्दा समय कामलाई दिन थालेँ, बिस्तारै पैसा मोटो, पढाई फितलो बन्दै गयो कमाएको पैसा अन्य देश छिर्नतिर खर्च गर्न थालें । अरु धमाधम पढाईमा लागिरहेको बेला म रातारात युरोप छिरेर बेल्जियम पुगेँ । बेल्जियममा दाजू भएकोले मलाई सहज पनि भयो । यसरी छुट्टिएका हामी फेरि कहिल्यै भेट भएनौं ।
म युरोप पुगेर बस्दा बस्दै त्यहाँको कार्ड पाउन झन्डै १० वर्ष लाग्यो । अहिले म १२ वर्षपछि नेपाल निस्किएकी छु । मैले केही प्रगति गर्न नसके पनि मेरो देश नेपालले केही कुरामा प्रगति गरेछ, डोमेस्टिक विमानस्थलमा पनि बस्ने सिटहरू धेरै र नयाँ, नयाँ देख्दैछु तर, खचाखच छ आज विमानस्थल, कुर्सीहरू भएर पनि खाली छैनन् । बस्ने सिट नपाएर मान्छे अलपत्र छरिएको बिस्कुनझैं गरी भूइँभरी पोखिएका छन् । म भद्रपुर उड्ने बुद्ध एयरको पर्खाईमा छु, तराईतिर हुस्सु लागेकोले काठमाडौंको न्यानो घाम तापेर तराईको हुस्सु हट्ने समय कुरिरहेको छु ।

उड्ने, रद्द हुने र डिले हुने सबै सबैको पालैपालो माईकिङ्ग भइरहेछ, मौसमको खराबीले लुक्ला जाने फ्लाईट भर्खरै रद्द भएको छ । लुक्ला जाने एकजना बिमारी यात्रु व्हिलचियरमा ल्याएर मेरो छेउमा राखेर हिँड्यो एकजना कर्मचारीले । साथमा एकजना बक्खू लगाउने बूढीआमा पनि आएर बसिन् कुर्सीमा । हातमा तातो चिया थियो । जाडो र धूलो छेक्न होला माक्स थियो बिमारीको मुखमा, बूढीआमाले माक्स हटाएर डोल्मा, लौ तातो चिया खाऊ भन्दै बोलाउँदा म छक्क परें, म तर्सिएँ….तिनछक परें किनकि त्यो व्हिल चियरमा बस्ने केटी अरू काीिह नभएर लन्डनमा म संगै काम गर्ने साथी डोल्मा थिइन् । मैले उनलाई १२ वर्षपछि भेटेकी थिएँ । तर अफसोच उनी पहिलेको जस्तो डोल्मा थिइनन् । दुब्लाएर चिन्नै नसकिने, बोल्न पनि नसक्ने हातखुट्टा नचल्ने एकदम दुब्ली भएकी थिइन् । जता हेर्‍यो उतै एकोहोरिने मूर्तिजस्ती भएकी थिइन् ।

म डोल्माको आमालाई केही कुरो सोध्ने हिम्मत जुटाउँदै गर्दा बुद्ध एयरद्वारा भद्रपूर जानुहुने यात्रु महानुभावहरू गेट नम्बर २ तिर बढ्नु होला भनी माईकिङ्ग भइहाल्यो । म आँखाभरि आँशु बोकेर हिँडें, बसमा चढेर प्लेन नडूञ्जेल फेरि प्लेन रद्द भइदिए पनि हुन्थ्यो झैं लागिरह्यो । तर भएन रद्द । म डोल्माको कथा अधुरै छाडेर उनको याद बोकी उडे माथि, माथि धेरै माथि बादल छिचोल्दै ।

लन्डनमा हुँदा डोल्मा भन्ने गर्थी मेरी आमाले धेरै दु:ख पाउनु भएको छ । बाबाको सेसपछि अर्को बिहे पनि गर्नु भएन, मेरो निमित्त सबैसँग लडेर गरिखानु भो अब अहिले पाको उमेरमा जब मेरो आवश्यकता आमालाई छ, तर म भने यहाँ छु । कस्तो दु:ख लाग्छ सुजाता, मलाई यसरी आमाको दु:ख सुनाउन्थिन् । म भन्थे, किन गर्छौं चिन्ता ? आमाको हातखुट्टा बस्या छैन आफ्नो देशमा हुनुहुन्छ अर्गानिक, खाना खाएर हामीभन्दा हट्टाकट्टा, तगडा हुनुहुन्छ, आमालाई आफैंले देखेर आएझैं गरी गफ लगाउँथे ! मेरो कुरो सुनेर आँखाबाट छछल्किन लागेको आँशु रोक्दै मुस्कुराउँथी डोल्मा ।

आज, उही जीवनभर म आमाको सहारा बनेर जिउँछु भन्ने छोरीको उल्टै आमा सहारा बनेर चिया पिलाउँदै गरेको एउटा नमिठो सत्यको अवलोकन गरेर म उड्दै थिएँ । यो सत्य झुट भइदिएहुन्थ्यो भन्ने सोंचले मन बिथोलिरह्यो । तर, हुने कुरोलाई कुन दैबले टार्छ र ? फेरि एकपल्ट आमालाई भेट्न पाए म डोल्माको पूरा कथा पुरै लेख्ने थिएँ । यो अधुरो कथा उनको होइन….
समाप्त

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!