उब्रेको समय संगीतमा लगाउँछु : गायिका पुष्पा योञ्जन तामाङ

SHARE:

जीवनको अनेकन कुइनेटोहरू पार गर्दै बेलायतसम्म आइपुग्दा पनि गायिका बन्ने सपनाले छाडेन गायिका पुष्पा योञ्जन तामाङलाई । त्यही सपना पूरा गर्न मीठो स्वरकी धनी पुष्पाले ‘पुष्पा’ एल्बम बजारमा लिएर आइपुगेकी छन् । उर्लाबारी मोरङमा जन्मिएकी उनी सानैदेखि नाच्न गाउन खुब रुचाउँथिन् । लामो समयसम्म विद्यालयमा टिचिङ गरेकी पुष्पाले नृत्य निर्देशिका बनेर धेरै देश पनि घुमेकी छिन् । प्रस्तुत छ, उनै सुरिलो स्वरकी गायिका पुष्पा योञ्जन तामाङसँग एभरेस्ट टाइम्स साप्ताहिकका लागि जानु काम्बाङ लिम्बूले गरेको कुरोकानी ।

अहिले के गर्दै हुनुहुन्छ ?
म फूलटाइम केयर होममा केयर टेकरको काम गर्छु । उब्रेको थोरै समयलाई संगीतमा लगाउँछु । यसरी नै बितिरहेको छ बेलायतको जिन्दगी ।
एल्बमको नाम पुष्पा राख्नुको केही कारण छ कि आफ्नो नामलाई सजिलो लागेर प्रयोग गर्नुभएको ?
पहिलो एल्बम ‘पुष्पा’ पुरै मेरो आमाबाबाप्रति समर्पित एल्बम हो । र, नामकरण पनि उहाँहरूले दिनुभएकै नामलाई प्रयोग गरेकी हुँ । उहाँहरू अहिले यो धर्तीमा हुनुहुन्न तर म त उहाँहरूकै बरदान हुँ ।
पुष्पाभित्र कतिवटा गीत समेट्नु भएको छ ?
यो एल्बममा लोक, आधुनिक र पप गरी जम्मा ५ वटा गीत समेटेकी छु ।
बेलायतको व्यस्ततामा गीत, संगीतको लागि कसरी समय निकाल्नु हुन्छ ?
आपूmलाई मन पर्ने क्षेत्र भएर होला बेलायतको यस्तो व्यस्ताताको बाबजुत पनि समय निकाल्दै आएको छु । छुट्टीको बेला त त्यसै गीत, संगीतमै व्यस्त हुन्छु नै कामको बेला पनि एकछिन रियाज नगरी चित्तै बुझ्दैन । त्यसैले होला समय जसोतसो निस्कन्छ र निकाल्छु ।
तपाईंले गीत गाउन थाल्नुभएको कति भो ?
सात वर्षको हुँदा एउटा स्कुलको प्रोग्रामबाट गीत गाउन सुरुआत भएको हो । तर, नाच्नचाँहि ४ वर्षको उमेरबाट थालेकी हुँ ।
संगीत शिक्षा पनि लिनु भएको छ ?
संगीत भनेको यस्तो चिज रहेछ कि सिकेर कहिले नसकिने अथवा तरेर कहिले नसकिने खोली । त्यो हिसाबले अलि अलि त सिकेकी छु र अझै सिक्न धेरै बाँकी छ ।
गीत, संगीतको बजार खस्कँदो छ भन्छन्, मुख्य कारण के जस्तो लाग्छ ?
सबभन्दा ठूलो हात त जमाना नै हो । अहिले जमाना यस्तो आयो कि जसले पनि गीत गाउन सक्छ, रेकर्ड गर्न सक्छ, एकदम सुविधा छ । त्यसैले पनि क्वालिटीको चिज उत्पानमा रास आइरहेको छ । जति पनि पुराना अग्रज गायक, गायिकाहरू हुनुहुन्थ्यो, रेडियो नेपालमा स्वर परीक्षा पास गरेका, सबै संगीत शिक्षा पार गरेका अनि गीत रेकर्ड गर्न भारतसम्म जानुपर्ने अवस्थाले पनि एकदम राम्रा गायक, गायिका जन्माउने गर्थे जस्तो लाग्छ । अर्को समस्या अचेल गीत सुन्ने चलन गयो, हेर्ने चलन आयो । जति नै राम्रो गीत किन नहोस् त्यो हेर्ने नबनाई धरै छैन । कहिलेकहीं सम्झिन्छु, यो युट्युब च्यानलहरूको एकल शासनलाई तोड्न पुरानो क्यासेट, सिडीको जामाना फेरि आउनु नि !
एल्बम बजारमा ल्याउन कत्तिको संघर्ष र खर्च गर्नुपर्‍यो, भन्न मिल्छ ?
खर्च त खासै धेरै भएन । मलाई नेपालमा रहेर दिदीले सबै हेरिदिनु भएको थियो । मलाई सहयोग गर्ने संगीतकार, गीतकार र बाटो देखाउने आफ्ना आफन्तहरू पनि सबै जानकार नै हुनुहुन्थ्यो । त्यसैले खर्चै भएन भन्न त नमिल्ला ।
अचेल गायक, गायिका र संगीतकार, गीतकारहरू बाक्लै रुपले जन्मिरहेका छन्, सुविधायुक्त प्रविधिहरुले हो या साँच्चि नै साहित्य र कलाको क्षेत्र फराकिलो भएको हो ?
अहिले संसारको जुनसुकै कुनामा बसेर पनि एकअर्कामा मन, सीप जाँगर र कला साटासाट गर्न सकिन्छ । चलाउन जान्यो भने अचेल गुरु चाहिँदैन सबै गुगलमा भेटिन्छ ।
त्यस्तै हाम्रो पनि एउटा म्युजिक ग्रुप छ, समूल म्युजिक ग्रुप । त्यसमार्फत हामी अरु अरु देशमा रहेका साथीहरूसंग गीत गाउँछौं, रियाज प्राक्टिस सबै गर्छौं र त्यो ग्रुपको म पनि एक मेम्बर हुँ, हामीले त्यही गीत गाएर धेरै कलाकार जन्माएका छौं । जुन कलाकारहरू नेपाल आइडलको स्टेजसम्म पुगेका छन् र, हरेक क्षेत्रका आ–आफ्नै दौडने तरिका हुन्छ । त्यसैले गीतकार र संगीतकारहरुको पनि हाम्रैजस्तो होला, आफ्नो क्षेत्र सबैले बढाइरहेका होलान् ।
संगीत क्षेत्रमा के सुधार गर्न जरुरी देख्नु हुन्छ ?
नेपाली संगीत क्षेत्रलाई राम्रो बनाउन सर्वप्रथम त संगीतको ज्ञान हुनु जरूरी छ । त्यसपछि शब्द, संगीत राम्रो हुनु पर्‍यो । अनि राज्यले पनि अलिकति त ध्यान दिनु पर्छ नेपाली संगीत बजार व्यवस्थापनमा ।
बेलायतमा रहेर नेपालको संगीतकारहरुसँग काम गर्न कतिको सजिलो र खर्चिलो लाग्छ ?
विदेशमा रहेर, नेपालको सँग काम गर्न एकदमै गाह्रो छ । मैले देखेको एउटा दु:खलाग्दो पक्ष, कतिपय संगीतकारहरू सम्झिन्छन् आखिर गाउने मान्छे विदेशमै छ आएपछि सबै गरौंला । अनि हामी यहाँबाट रातदिन फोन र मेसेजको भरमा काम गर्छौं । हाम्रो बीचमा एउटा विश्वासबाहेक केही हुन्न । त्यसैले राम्रो मान्छे परे काम राम्रो र खर्च पनि कम लाग्छ । उस्तै मान्छे परे काम पनि ढिलो र खर्च पनि बढी लाग्ने गर्छ ।
यो एल्बम श्रोतामाँझ ल्याउन कति समय लाग्यो ?
मेरा गीतहरु पहिले नै तयार भएका हुन् । सिरिफ म यहाँबाट जान र रेकर्ड गर्न ढिलो भएको हो । यो हिसाबले १ वर्ष जति लग्यो होला ।
वास्तवमै संगीत के हो जस्तो लाग्छ ?
संगीत यस्तो चिज हो जसले सजिलै मनलाई छुन सक्छ । हर दु:खसुखमा संगीत, हाँसो खुसीमा संगीत, संगीत एक साधना हो, पूजा आराधना हो, संगीतबिना त जिन्दगी नै अधुरो हुन्छ सायद ।
तपाईं कस्ता खाले गीतहरु बढी सुन्न र गाउन रुचाउनु हुन्छ ?
म समग्रमा सबै खालका गीतहरू गाउँछु । तर, पनि बढी चाँहि म पप र गजल गाउन मन पराउँछु ।
आजभोलि संगीत क्षेत्रको लगानी बालुवामा खन्याएको पानी भन्छन् यसलाई कसरी ब्याख्या गर्नु हुन्छ ?
मलाई त त्यस्तो लाग्दैन । संगीत क्षेत्रमा पनि धेरैले नाम र दाम कमाएर आफ्नो जीविकोपार्जन गरेकै छन् । तर, अहिले भिडियो बनाउने र भिडियो नबनाई गीत नचल्ने हावाहुरीले खर्च निक्कै गराउँदो होला ।
परिवारमा अरु पनि कोही हुनुहुन्छ यो क्षेत्रमा लाग्ने ?
हाम्रो परिवारमा धेरै नै छौं संगीत क्षेत्र, कला क्षेत्रमा लाग्ने । म नेपाल हुँदा १४ वर्ष श्री पशुपति इंलिस सेकेन्डरी स्कुलमा टिचर र डान्स टिचर थिएँ । डान्सकै सिलसिलामा म नानीहरूसँग विभिन्न देश पनि घुमें र कति देशहरूमा नाचेरै पहिलो र दोस्रो स्थान हासिल गरेका थियौं ।
तपाईको भर्खरै सार्वजनिक भएको एउटा दुवेट गीतको युट्युब कमेन्ट्समा धेरैले भारतीय चर्चित गायिका आशा भोस्लेसँग दाँजेको देखेथेँ, त्यस्तो कमेन्ट पाउँदा कस्तो महसुस गर्नुभयो ?
त्यो गीत गीतकार जानु काम्बाङ्ग लिम्बूको शब्दमा रहेको ‘तिम्रो सिउँदो’ बोलको गीत हो । संगीत सुजन तिगेला लिम्बूको छ । पहिले नेपालमा स्टेज प्रोग्राम गर्दा पनि कता कता साथीहरूले त्यसो भन्ने गर्थे तर मलाई विश्वास लाग्दैन थियो । हाल त्यो गीत सार्वजानिक भएपछि चाँहि नचिनेका धेरै मान्छेले त्यसो भनेर कमेन्ट लेखेको देख्दा धेरै नै खुसी र अचम्म लागेको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा केही कुरा बाँकी छन् भने छोटकारीमा राख्न सक्नु हुन्छ ?
मलाई यसरी मनका कुराहरू राख्न दिनुभयोमा खुसी लाग्यो, तपाईलाई धन्यवाद । १० औं वार्षिकोत्सव मनाएको एभरेस्ट टाइम्स बेलायतले यसैगरी सयौं जन्मोत्सव मनाउन सफल होस्, शुभकामना ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!