म्याग्दीका जगबहादुर फगामीलाई बाख्रापालनमा सफलता

SHARE:

म्याग्दी २ अगस्ट २०२५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बन्नुभएको छ । रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गर्नुभएका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गर्नुभएको थियो ।

‘‘विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेतीकिसानी गरेर परिवार चलाउनथालेको थिए, बाख्राले जुम्ल्याह पाठा पाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु दुई लाखमा खरिद गरेर बाख्र पालनलाई व्यावसायिक बनाएको हुँ,” फगामीले भन्नुभयो । उहाँ अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बन्नुभएको छ ।

उहाँले विगत ६ वर्षदेखि बाख्र पालनलाई व्यवस्थित र व्यावसायिक बनाउनु भएको हो । फगामीले सञ्चालन गर्नुभएको ‘सुतारे एकीकृत कृषि तथा पशुपंक्षि फर्म’मा अहिले १५० वटा बाख्रा छन् । फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन् । चाडपर्व र विभिन्न पूजा आजामा खसीबोका र पाठा पाठीको बिक्रीहुने गरेको छ । उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको बाख्रा पालक कृषक फगामीले जानकारी दिनुभयो । उहाँकाअनुसार, बाख्रा पालनबाट मासिक रु ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् भने चरन क्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारिसमेत दिइएको छ । हिउँद याममा बेसीँका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायतका लेकाली क्षेत्रका वनजङ्गलमा चरनका लागि लैजाने गरिएको छ । बाख्रा पालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएका फगामीले बाख्र पालनसँगै भेडापालन गर्ने योजनासमेत बनाउनुभएको छ ।

बाख्र पालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरिएको छ । आर्थिक वर्ष २०८१/०८२मा अन्नपूर्ण गाउँपालिकाले पशुपंक्षिको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रा पालनगर्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ । गाउँपालिकाबाट प्राप्त भएको रु एक लाख ६६ हजार अनुदान रकममा आफूहरुले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको बाख्रा पालनक किसान फगामीका छोरा राजु फगामीले बताउनुभयो ।

छोटो समयमै हुर्कने र अन्य पशुपंक्षिको तुलनामा नगद आम्दानीसमेत बढी हुने भएकाले सिङ्गो परिवारले नै बाख्रा पालनलाई अङ्गालेका छन् । विभिन्न समयमा बाख्रामा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रा पालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।

आलुसँगै अन्नबालीको खेती किसानीसमेत गर्दै आएपनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदासमेत बाख्र पालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले बताउनुभयो । उत्पादन भएका खसीबोका र पाठा पाठीको उचित बजारको सुनिश्चित हुन सकेमा बाख्र पालनलाई अझै व्यावसायिक बनाउने फगामी परिवारको योजना रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!