जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारर्लाइ ओभरटेक नगर्न प्रदेश सरकारलाई उर्दी दिएका छन् ।

नेकपा प्रदेश २ को एकीकृत पार्टी उद्घाटन तथा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित चियापान समारोहलाई संवोधन गर्दै उनले प्रदेश २का मुख्यमन्त्री लालबाबू राउतलाई लक्षित गर्दै भने–‘ संघीय नेतृत्वलाई ओभरटेक नगर्नु , यसबाट दुर्घटना निम्तिन सक्छ ।’ आफ्नो मन्तव्यको क्रममा मुख्यमन्त्री राउतले संविधान संशोधन,प्रदेश प्रहरी ऐन तथा कर्मचारी व्यवस्थापनमा संघीय सरकारले असहयोग गरेको भन्दै आक्रेश पोखेका थिए । मुख्यमन्त्री राउतको उक्त आक्रोश बारे स्पष्टीकरण दिदै नेकपा अध्यक्ष प्रचण्डले भने –‘ संघीय प्रहरी ऐन ल्याउन ढिला भएकै हो तर यसलाई निहु बनाएर संघीय सरकारसंग मुठभेडमा गए दुर्घटना हुन सक्छ ।’ संघीयता विरोधीहरु अझै पनि संघीयता खारेज हुनु पर्ने वा असफल होस भन्ने चाहेको उल्लेख गर्दै उनले भने–‘ कर्मचारीको समस्या प्रदेश २मा मात्र होईन सातबटै प्रदेशमा छन् ।
संघीय सरकार यस विषयमा गंभीर छ । यथाशिघ्र समस्या समाधान हुन्छ ।’ मधेसी जनताको हितमा संविधान संशोधन गर्न आफ्नो पार्टी तथा सरकार तयार रहेको उल्लेख गर्दै उनले भने–‘ नेकपा अध्यक्ष केपी ओली,संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव तथा मेरो बीचमा संविधान संशोधन गर्ने लिखित समझौता भएकै हो ।उचित समयमा संशोधन हुन्छ ।’ स्वतन्त्र मधेस गठबन्धनको संयोजक सिके राउतको नाम नलिए पनि नेकपा अध्यक्ष प्रचण्ड गठबन्धनकै क्रृयाकलापमा धेरै समय खर्चेका थिए । उनले मधेसको विकास तथा सम्मान राष्ट्रिय एकताबाटै हुने दावी गर्दै भनेका थिए –‘ नेपालीलाई एकिकृत हुन नदिने शक्ति सल्वलाउदै छन् । विखण्डनबाट जोगिनोस् ।’ काठमाण्डौ निर्माणमा मधेसी जनताले अहम् भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले चौधौ शताब्दीका सिमरौनगढका शासकहरु(हरिसिंह देवहरु)ले काठमाण्डौ निर्माणमा अहम् भूमिका निर्वाह गरेको बताए ।
नेपाल विकास र सम्बृद्धिको नया युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले प्रदेश २ को विकासको लागी वर्तमान सरकार त्रियोगी नदीबाट खानेपानी,कमला–सुनकोसी डायभर्सनबाट सिंचाई,जनकपुर–सिमरा रेल मार्ग,निजगढ अन्तरराष्ट्रिय हवाई अडा तथा निजगढ–काठमाण्डौ फास्ट ट्रेकको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने – चार वर्ष भित्र प्रदेश २ उन्नत प्रदेश बन्ने छ ।’ प्रदेश २का मुख्यमन्त्री लालबाबू राउतको अभिव्यक्ति पश्च्यात् आक्रोशित बनेका नेकपा महासचिव विष्णु पौडेलले प्रदेश सरकारलाई विकास निर्माण,अशिक्षा,विभेद तथा पछौटेपनको मुद्दा लिएर अगाडी आउन आग्रह गरे –‘ सिंहदरवार तर्फ फर्केर गाली गरेर समस्या समाधान हुदैन । विकास निर्माणको एजेण्डा ल्याउनोस ।
संघीय सरकार सहयोग गर्न तयार छ ।’ नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको अध्यक्षतामा सम्पन्न चियापान समारोहलाई शिक्षा मन्त्री गिरीराजमणि पोख्रेल,भौतिक पुर्वाधार,निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश २का मुख्यमन्त्री लालबाबू राउत ,प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, केन्द्रिय सदस्य जुली महतो,नेपाली काग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलगायतले पनि संवोधन गरेका थिए ।






