आइतवार १७ अगस्त २०२५ – बेलायत। नेपाली मेला २०२५ का प्रमुख संयोजक तथा तमुधी युकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाको सम्पूर्ण कार्यहरु तयारी भईसकेको जानकारी दिएका छन । उनले यस वर्षदेखि गैर आवसीय नेपाली संघ (एनआरएनए) कप नहुने पनि जानकारी दिएका छन्।
उक्त जानकारी नेपाली मेला २०२४ को प्रचार प्रसारको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा बताएका हुन्। पत्रकार सम्मेलनमा युरोप, बेलायत र नेपालबाट संचालित संचारगृहका झन्डै २ दर्जन पत्रकारहरुको उपस्थिति रहेको छ । पत्रकार सम्मेलन बेलायतको मिचेतस्थित तमु धिं युकेको आफ्नै भवनमा सम्पन्न भएको हो ।
पत्रकार सम्मेलनको पहिलो चरणमा तमुधि युकेका मिडिया सेक्रटरी सर्बिन्द्र कुमार (एसके) गुरुङले उपस्थित पत्रकारहरुलाई परिचय गराएका थिए भने अध्यक्ष जुमकाजी गुरुङ र वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले खडा र नेपाली मेलाको प्रबेशपत्र प्रदान गरेर स्वागत गरेका छन।
त्यस्तै अध्यक्ष गुरुङले चार भन्ज्यांग तमु समाजका नवनिर्वाचित अध्यक्ष दुर्गा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी मगर र नेपालवाट बेलायत भ्रमणमा रहेका स्नोल्याण्ड लज एण्ड रेस्टुरेण्ट घान्द्रुकका प्रोप्राइटर अमृत गुरुङलाई फेटा लगाएर सम्मान गरेका छन्।
पत्रकारहरुलाई स्वागत गरेपछि प्रमुख संयोजक तथा तमुधी युकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाको तयारी वारेमा पावर पोईण्ट प्रिजेन्टेसन गरेका छन्। यस बर्ष तथा नेपाली मेला २०२४ मा ५ हजार भन्दा बढी दर्शकको उपस्थिति हुने अपेक्षा राखिएको छ। नेपाली मेला २०२५ “हाम्रो संकृति, हाम्रो गौरब, हाम्रो पहिचान” भन्ने मूल नाराकासाथ लण्डनको किमटोन पार्कमा आइतबार २४ अगस्तमा सम्पन्न हुने छ।
हरेक बर्ष तमु धिं युकेले नेपाली राजदुतावास बेलायतसंग सहकार्य गर्दै नेपाली मेला आयोजन गर्दै आएको छ। यस बर्षको नेपाली मेला १६ औं नेपाली मेला हो। नेपाली मेला बेलायतवासी नेपालीहरुको बीच तथा देश-बिदेशमा अत्यधिक लोकप्रिय कार्यक्रमको रुपमा परिचित भैसकेको छ।
नेपाली मेला २०२५ आगामी आइतवार २४ अगस्तको दिन बेलायतको किम्टन पार्कमा बिहानको १० बजे देखि शुरुहुने र बेलुकी ६ बजेसम्म संचालन हुने छ। यस बर्षको नेपाली मेला बिगतका बर्षहरुमा भन्दा पृथक हुने तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले बताएका छन।
नेपाली मेलामा बेलायतमा स्थापित विभिन्न समुदाय र जातजातिको आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज र पहिचान झल्किने झाँकी र नृत्यहरू प्रस्तुत गरिने छ ।
तमु धिं युकेका उपाध्यक्ष तथा १६ औं नेपाली मेलाका संयोजक कमल गुरुङले उपस्थित पत्रकारहरुलाई नेपाली मेला २०२५ सभ्य र भब्य बनाइदिनहुनको लागि बेलायतमा रहेका सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदिबहिनीहरु सपरिवारसहित उपस्थित जनाइदिनहुन अनुरोध गरेका छन् ।
यस बर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ३५ भन्दा बढी टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा १५ टिमले भाग लिने संयोजक कमल गुरुङले बताएका छन। त्यस्तै अपाङ्ग ब्याज भएकालाई पार्किङ शुल्क नलाग्ने र ७५ वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने जनाएका छन्।
नेपाली मेलाको मुख्य आकर्षणहरु मध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, भाडा वर्तन, लत्ता कपडा, जनचेतनालगायत ५० भन्दा बढी बिभिन्न ब्यबसायिक स्टलहरु रहने ब्यबस्था गरिएको स्टल संयोजक तथा उपाध्यक्ष दिल माया गुरुङले बताएका छन ।
नेपाली मेलामा एम्बसाडोर कप प्रथम स्थानको लागि ११०० पाउण्ड, दोस्रो स्थानको लागि ७०० पाउण्ड, तेस्रो स्थानको लागि ५०० पाउण्ड, प्रमाणपत्र र मेडल राखिएको छ।
झाँकी तर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड, प्रमाणपत्र र मेडल राखिएको छ।
सांस्कृतिक नृत्यतर्फ प्रथम स्थानको लागि ५०० पाउण्ड, दोस्रो स्थानको लागि ३०० पाउण्ड, तेस्रो स्थानको लागि २०० पाउण्ड, प्रमाणपत्र र मेडल राखिएको छ।
नेपालीमा मेलाको प्रमुख अतिथिमा बिगतका बर्षहरुमा जस्तै बेलायतका लागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरे रहनुहुने भएको छ भने, बिशेष अतिथिमा नेपाल बिद्धुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थित रहने छ।
अन्य अतिथिहरुमा नेपाली राजदुतावासका कर्मचारीहरु, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित बिभिन्न संघ संगठनका अध्यक्षहरु तथा उनका प्रतिनिधिहरु रहने बताएका छन ।
पत्रकारहरुले राखेको जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण नेपाली मेलाका प्रमुख संयोजक तथा उपाध्यक्ष कमल गुरुङ र अध्यक्ष जुमकाजी गुरुङ महासचिब डा. विशाल गुरुङ ले गरेका छन् भने सो प्रश्न उत्तर कार्यक्रम मिडिया संयोजक एसके गुरुङले संचालन गरेका छन् ।
तमुधी युकेका अध्यक्ष जुमकाजी गुरुङले अध्यक्षता गरेको कार्यक्रमलाइ संस्थाको महासचिब डा. बिशाल गुरुङले संचालन गरेका थिए भने बरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तब्य दिएका छन् ।
कार्यक्रममा तमुधी युकेका संस्थाक अध्यक्ष मिन तमु, पूर्वअध्यक्षहरु, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, आमा समुहका अध्यक्ष कमला गुरुङ, पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु संरक्षकहरु, सल्लाहकारहरु, तमु धिं युकेका शाखा समितिका अध्यक्षहरुलगायत धेरैको उपस्थिति रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष बिमला सेने, संस्थापक अध्यक्ष नविन पोखरेल, पुर्ब अध्यक्षहरु ध्रुव अर्याल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष बम सूर्यवंशी थापामगर, युरोप, नेपाल र बेलायतमा स्थापित संचारगृहका पत्रकारहरुको बाख्लो उपस्थिति रहेको छ ।









