बेलायत २५ अगस्ट २०२५ । बेलायतमा नेपाली मेला २०२५ भव्य रुपले सम्पन्न भएको छ । मेलामा १५ हजार दर्शक सहभागी भएको तमुधीं युकेका उपाध्यक्ष तथा प्रमुख संयोजक कमल गुरुङले बताएका छन्।
नेपाली दूतावास लन्डनसँगको सहकार्यमा तमुधीं युकेले नेपाली मेला आइतबार २४ अगस्टमा बेलायतको सन्बरीस्थित केम्पर्टन पार्कमा आयोजना गरेको हो । नेपाली मेलाको एम्बास्डर कप प्रतियोगितामा पासा पुच गुठी युकेले प्रथम स्थान हासिल गर्न सफल भएको छ। दोस्रो स्थानमा किरात याक्थुङ चुम्लुङ युके आउन सफल भयो भने तेस्रो स्थान किरात राई यायोक्खा युकेले ओगट्यो ।
झाँकी प्रतियोगितातर्फ मगर संघ युके प्रथम स्थानमा आउन सफल भएको छ भने दोस्रो स्थानमा पासा पुच गुठी युके र तेस्रो स्थानमा किरात याक्थुङ चुम्लुङ युकेले हात पार्न सफल भएको छ । झाँकीमा तनहुँ समाज युके, वन्टओक नेपाली समाज युके र किरात राई यायोक्खा युकेले सान्त्वना पुरस्कार प्राप्त गरे ।
झाँकीको निर्णायक मण्डलमा साहित्यकार डा. रुपक श्रेष्ठ, बिएफबिएस गोर्खा रेडियो युकेका स्टेशन म्यानेजर योगराज राई, नेपाल पत्रकार महासंघ युकेकी अध्यक्ष बिमला सेने र चलचित्र अभिनेत्री सिर्जना लिम्बु थिइन् ।
त्यस्तै नृत्य प्रतियोगितामा पासा पुच गुठी युके विजयी भएको छ भने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थानमा किरात याक्थुङ चुम्लुङले हात पार्न सफल भएको छ । नृत्यतर्फ वन्टओक नेपाली समाज युके, मगर संघ युके र तमु कलाकार सांस्कृतिक मञ्च युकेले सान्त्वना पुरस्कार प्राप्त गरे ।
नृत्यको निर्णायक मण्डलमा गुरुङ चलचित्र अभिनेत्रीहरु माया गुरुङ, एन्सर्ज तमु, मोडल सबिना गुरुङ, गायक कृष्ण रेउले र कोरियोग्राफर कविता घर्तिमगर गुरुङ थिए भने झाँकी तथा सांस्कृतिक कार्यक्रम सुर्य गुरुङ, हेलिसा गुरुङ, लछुमन गुरुङ, योगेश गुरुङ, दुर्गा गुरुङ र पुनम गुरुङले संचालन गरेका थिए ।
यस वर्ष झाँकीमा ४५ र सांस्कृतिक कार्यक्रम नृत्यमा २५ संघ-संस्थाले सहभागिता जनाए ।
नेपाली मेलामा तमुधीं यूकेले नेपाल विद्धुत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, गण्डकी प्रदेश संसद बेदबहादुर गुरुङ, कुङ्फु खेलाडी सरिना घले, खेलाडी संगम गुरुङ, कोरियोग्राफर कविता घर्तीमगर गुरुङ, नेपाली लिंकका सम्पादकहरु नविन पोखरेल, ध्रुव अर्याल, नरेन्द्र बस्नेत, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र सहसम्पादक प्रकाश गुरुङलाई खादा, फेटा र प्रमाणपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो ।
तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङले अध्यक्षता गरेको नेपाली मेलाको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे थिए भने विशेष अतिथिहरु गण्डकी प्रदेश सांसद बेदबहादुर गुरुङ, पूर्वसांसद कोमल ओलीलगायत विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु थिए ।
नेपाली मेलाको औपचारिक कार्यक्रममा तमुधीं युकेका उपाध्यक्ष तथा प्रमुख संयोजक कमल गुरुङले स्वागत मन्तव्य दिए भने महासचिव डा विशाल गुरुङले संचालन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संयोजक कमल गुरुङ र अध्यक्ष जुमकाजी गुरुङले झाँकी र सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका सम्पूर्ण संघ-संस्थाहरु र उपस्थित सम्पूर्ण दर्शकलाई धन्यवाद दिएका थिए ।






