चिम्खोले काईला – बेलायत
धौलागिरी अञ्चलमा मनाइने हरेलो पर्व खेतीपाती, प्रकृति र पुरखाप्रति श्रद्धा जोडिएको महत्वपूर्ण सांस्कृतिक उत्सव हो। यस पर्वमा स्थानीय बस्तीका मानिसहरूले कृषि, जीवन र प्रकृतिप्रतिको सम्मान प्रकट गर्छन्। नेपालको रुकुम जिल्लातिर मनाइने हरियाली पर्व र भारतको कुमाउँ क्षेत्रमा मनाइने हरैलासँग केही समानता भए पनि, धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी र पर्वत जिल्लामा हरेलो पर्व आ–आफ्नै मौलिकता र परम्परासँग मनाइन्छ।
हरेलोमा पितृपूजा
हरेलो पर्व भाद्र महिनाको पहिलो उजेली मंगलवारको बिहान सुरु हुन्छ। यस दिन घरमा पुर्खाहरूको स्मरण गर्दै पितृपूजा गरिन्छ। पितृपूजा पुरुष तथा महिला दुवैले गर्न सक्छन्। पूजा गर्नु अघि शरीर सफा गरेर नुहाउनु पर्दछ र सफा कपडा लगाउनु अनिवार्य हुन्छ। यदि नयाँ कपडा उपलब्ध छैन भने, पुरुषहरूले धोती र महिलाले कट्टु नयाँ भए लगाउनुपर्छ, नभए धोएर सफा गरेर लगाउनुपर्छ। यसरी तयार भएर घरमा पितृपूजा सम्पन्न गरिन्छ।
हरेलो बनाउने चलन
हरेलोको अघिल्लो दिन (सोमवार बेलुकी) गहुँको पीठोबाट विभिन्न आकार र परिकार बनाइन्छ। यी आकृतिहरूमा चरा, मुसा, बादर, दुम्सी, हलो, जुवा, हसियाँ जस्ता खेतिवालीका औजार, चराचुरुङ्गी र जनावरहरूको आकार बनाइन्छ। साथै परिकारमा रोटी, रक्सी, चट्नी र तरकारीहरू पनि तयार पारिन्छ। यी सबै प्रतीकात्मक चिजहरू घरका पुर्खाहरू र पितृहरूलाई अर्पण गरिन्छ।
घरमा पितृपूजा सम्पन्न भएपछि यी आकृतिहरू हरियो पातमा पोको पारेर राखिन्छ। त्यसपछि गुराँसको हाँगा काटेर धान र कोदो रोपेको खेतमा गाडिन्छ। यसरी तयार गरिएका प्रतीकात्मक चिजहरू डोरीमा झुण्ड्याइन्छ र खेतको डिलमा राखेर अग्नि संस्कार र प्रकृतिपूजा गरिन्छ। यसरी गरिएको संस्कारले धान र कोदोको राम्रो उत्पादन होस्, चरा–मुसाले बाली नष्ट नगरोस्, र प्रकृति तथा भूमिलाई शुद्धता र सुरक्षा मिलोस् भन्ने कामना व्यक्त गर्छ।
हरेलो मेला
धौलागिरी अञ्चलका विभिन्न गाउँमा हरेलो आ–आफ्नै तरिकाले मनाइन्छ। बिहान पितृपूजा सम्पन्न गरेपछि धान र कोदो खेतमा हरेलो थापिन्छ। त्यसपछि घर फर्केर परिवारका सबै सदस्यले घरमा बनाएका परिकारहरू सँगै खाने परम्परा छ।
त्यसपछि छिमेकी तथा इष्टमित्रसँग भेटघाट र सामाजिक मेलमिलाप गरिन्छ। विशेषगरी म्याग्दी जिल्लाको झिं र वाखेत गाउँमा ब्यवस्थित हरेलो मेला सञ्चालन हुन्छ। मेलामा खेलकुद, सांस्कृतिक कार्यक्रम, ठेलो प्रतियोगिता, दोहोरी प्रतियोगिता जस्ता कार्यक्रमहरू आयोजना गरिन्छ।
हरेलो मेलामा छिमेकी गाउँबाट आएका सहभागीहरूलाई स्थानीय नियम अनुसार ठिटा–ठिटीहरूसँग मिलाएर स्वागत गर्ने चलन रहेको छ। यसले सामुदायिक एकता र सामाजिक सद्भावलाई प्रगाढ बनाउँछ।
निष्कर्ष
धौलागिरी अञ्चलको हरेलो पर्व केवल कृषि र उत्पादनको उत्सव मात्र होइन, यो सांस्कृतिक, धार्मिक र सामाजिक एकताको पर्व पनि हो। पितृपूजा, प्रतीकात्मक चिज, अग्नि संस्कार र मेलापत्रको माध्यमबाट मानिसहरूले आफ्नो इतिहास, परम्परा र प्रकृतिप्रतिको सम्मान प्रकट गर्छन्। हरेलो पर्वले धौलागिरी अञ्चलका गाउँहरूको जीवनशैली र मौलिक सांस्कृतिक पहिचानलाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्छ।






