
काठमाडौं १४ सेप्टेम्बर २०२५ । नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषद्मा तीन जना सदस्य थपेकी छन् ।
आन्दोलनकारी जेनजीसँगको परामर्शपछि आइतबार पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय पनि घिसिङले सम्हाल्नेछन् ।
अर्याललाई गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अधिवक्ता अर्याल काठमडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन् । तीनै जनालाई आफ्नो मन्त्रिपरिषदमा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् । सोमबार मन्त्रीहरूको शपथ हुने हुने छ ।
जेनजी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।






