खिम घले
लोकतान्त्रिक अन्दोलनमा लाखौं हजारौं नागरिक संलग्न थिए । तत्कालिन राजा ज्ञानेन्द्र शाहले सत्ता छाडेर संसद पुनस्थापना गरेको दिन, हामीले कान्तिपुर दैनिकको मासहेड भन्दा माथि लेखेका थियौं, ‘जनताको जीत’ । ति नागरिकहरु राजा ज्ञानेन्द्रले कसैको हल गोरु लुटेका कारण वा कसैसँग व्यक्तिगत दुश्मनी भएका कारण आएका थिएनन् । नत कोही त्यसबेलामा ७ दलका नेताहरुको औरेबौरे भएरै सडकमा आएका थिए ।
शाही शासन टिकाउनका लागि लगाइएको राज्य संयन्त्रको कोपभजनमा पर्नबाट रतिभर नडराई, छातीमा गोली थाप्न तयार हुँदै आन्दोलनमा सहभागी हुनेहरुको एउटै चाहना थियो, रैतीबाट नागरिक हुने । त्यही नागरिक हुने चाहनाका लागि हजारौंले जेलनेल खाए, हजारौंले ज्यान गुमाए । हजारौं अंगभंग भए ।
नेपाली जनताले २००७ साल भन्दाअघि र त्यसपछि पनि २०७२ सालमा नयाँ संविधान घोषणा नभएसम्म साना ठूला संघर्षहरु गरिरहे । त्यसमा जनताले बलिदान दिइरहे । अझै पनि कतिपय समुह र समुदायको गुनासो बाँकी नै छ, हामीले अझै नागरिकको हैसियत पाएनौं भन्ने । नयाँ संविधानले पनि हाम्रा अप्ठ्याराहरु समाधान गर्न सकेन भन्ने ।
यद्यपी नयाँ संविधान लागु भयो । धेरैले सोचे अव नागरिकका हैसियत प्राप्त हुने भयो । कोही जन्मदैको आधारमा राजा हुने, कोही पदमा पुग्दैमा मालिक सम्झने त कोही रैतिमा दरिने अवस्थाको अन्त्यको कल्पना गरे, सपनामा डुवे । राणा फाले प्रजातन्त्र ल्याए, पञ्चायत फाले प्रजातन्त्रको पुनस्थापना गरे, अन्त्यमा राजालाई फाले र गणतन्त्र ल्याए । एउटै अभिलाशा थियो, हामी रैतिबाट नागरिक हुन सकुँ ।
व्यवस्था फेरियो, पदका नाम फेरिए, मान्छे फेरिए । तर, संस्कार फेरिएन । यसको छनक केही अघिबाटै सुरु भएको थियो । जनतासगै जेल खाएका, नेल खाएका, गोली खाएका र लुक्दै हिंडेकाहरु सत्तामा पुगे । जनताले आफ्नो प्रतिनिधि सम्झे, आफ्नो दिन आएको बुझे, आफ्नो पल्लोघरको काकालाई, आफुसंगै दगुरेको साथीलाई उनीहरुले भरोसा गरे र सत्तामा पठाए ।
तर, सत्तामा थिति बसाल्नका लागि, जनताको हितका लागि र मुलुकको समृद्धिको खाका कोर्न गएकाहरुले थिति बसालेनन्, रिती बनाएनन्, जनताको हित र मुलुकको सवृद्धिको ख्याल गरेनन् । बरु आफुलाई शासक घोषणा गरे दुनियाँलाई रैती सम्झे । पुरानै शासकले गरेको कृत्यहरुको पुनराबृत्ति गरे । यसको पछिल्लो उदाहरणको रुपमा दशैंको टीकामा देखियो ।
दशैंलाई धेरै नेपालीले स्वीकारको चाड बनेको छ, करले होस् या रहरले । केही अघि करले मनाएको दशैं अव आम नेपालीको लागि रहर हुन पुगेको छ । विगतमा राज्यको तर्फबाट छलछाम, जालझेल र हप्कीदप्की गरेर दशैं लागु गराएकोमा कुनै दुविधा हुनुपर्ने कारण छैन । हामी सानो छाँदा दशैंको नवमीको दिन साँढ काटिसकेपछि रगत ढोकामा लत्पताउने चलन थियो । बरिष्ठ समाजशास्त्री डा. कृष्ण भट्टचनका अनुसार त्यो आदिवासी जनजातिहरुले दशैं मानेको कुरा हेर्न आउने राज्यको प्रतिनिधिले थाहा पाउन र कारवाहीमा नपरोस् भनेर गरिएको थियो ।
यद्यपी अव यो रहरको विषय पनि बन्न थालेको छ । कारण मुलुकमा सबैको लागि यही एउटा चाडमा अलि धेरै दिन विदा दिइन्छ । अनि आफन्तहरुको भेटघाट तथा दुखसुखको अदानप्रदान गर्ने अवसरमा पनि यसले जुराई दिएको छ । अनि गरिबीको दुष्चक्रमा रहेकाहरुको लागि ऋणपान गरेरै भएपनि मिठो मसिनो खाने समयको रुपमा पनि यसले मान्यता पाउँदै आएको छ ।
तर, यसपाला राष्ट्रपति र प्रधानमन्त्रीले जुन ढंगको रबैयाको साथ दशैं मनाए । दशैंको कार्यक्रम सार्वजनिक गरे, दशैंमा टीका लगाउन आउने समयको तालिका सार्वजनिक गरे । यसले दुनियाँलाई फेरी रैतिको दर्जामा पु¥याएको छ, राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई शासक या नयाँ राजाको रुपमा स्थापित गरेका छन् ।
परिवारभित्र मान्यजनबाट दशैंमा टीका लगाउने परम्परा हो, हिन्दूहरुले रातो र अरुले सेतो । कतिपयले अर्थ लगाएका छन्, रातो विजयको चिह्न हो र सेतो हारको । तर, त्यसो होइन, हिन्दू धर्मबाट प्रभावित नभएका नेपालका आदिवासी जनजातिहरुको लागि सेतो टिका सुभ हो, साइतको प्रतिक हो । त्यसैले परम्परादेखि नै साइतमा, बिहेमा सबै राम्रो काममा सेतो टिका लगाउँदै आएका छन् । दशैंलाई भलै राज्यले जवरजस्ती थोपार्यो, तर सुभको प्रतिक सेतो टिका नै लगायो, लगाईयो ।
तर, सत्ताका लागि र शासकका लागि दशैं र दशैंको टिका सधै मालिक र नोकर, स्वामी र दास, बनाउने र देखाउने प्रकृयाको रुपमा जारी रह्यो । हाम्रै गाउँघरहरुमा पनि सत्ताले तोकेका जिम्मवालहरुले दशैंमा कोशेलीपात लिएर टिका थाप्न नजानेको हुर्मत लिन्थे । सहरमा राजाको हातबाट टिका थाप्नेको लर्को लाग्थ्यो । सबै सत्ताका भक्त, शक्तिका भोकाहरु, स्वाभिमान नभएका रवाफिलाहरु दशैंमा टिका लगाउनका लागि राजाको पाउमा पुग्थे । राजाले तालिका बनाएरै प्रजा र विशिष्टको समय छुट्याउँथे । टिका लगाई दिन्थे ।
दशैं बहिस्कार र आदिवासी जनजाति अधिकारको आन्दोलनलाई उचाईमा पु¥याउने गोरेबहादुर खपाङ्गीले आन्दोलन हाँकुञ्जेल कहिल्यै राजाको टिका लगाएनन् । उनले दशैं आदिवासीहरुको नभएको भन्दै जेहाद छेंडे । उनले आदिवासी जनजातिको अधिकार बहालीको बिरुवा रोपे, सत्ता र शासनले आफ्नो समुदायलाई गरेको सबैभन्दा ठूलो विभेदका बारेमा बोल्न सिकाए । युवाहरुलाई जुर्मुराउनका लागि पृष्ठभूमि तयार पारे ।
तर, राजा ज्ञानेन्द्रको शासनमा उनी पनि सत्तामा लुटपुटिए । दशैं विरुद्ध गर्जन गर्ने खपांगी टिका थाप्न दरवार गए । राजाको हातबाट टिका थापे । त्यो उनको बाध्यता थियो । उनी सत्तामा सहभागी भइसकेपछि टिका बहिस्कार गर्न सक्दैनथे । त्यसैले उनले त्यो सामान्ती प्रथामा निधार थापे । तर, युवा पुस्ताले पचाएन, रुचाएन । उनैले रोपेको विद्रोह, उनले रोपेको स्वाभिमान र उनले रोपेको आन्दोलनको चेतका कारण अलोचनाको पात्रा बन्नु पर्यो । युवा पंक्तिमा त्यसअघि आफ्नो अगुवाको रुपमा उनलाई जुन रुपमा लिएका थिए, त्यसरी लिन छाडिए ।
चर्चा फेरी अहिलेकै गरौं । हजारौं, लाखौं मानिस नागरिक हुनका लागि संघर्षमा उत्रिएका थिए । त्यस बेला अहिलेका नेताहरुले पनि त्यही बाचा गरेका थिए, यो अन्तिम् पटक हो । सबै नागरिक बराबरी हुनको लागि हो, मुलुकको मुहार फेर्ने हो भनेका थिए ।
तर, कुरा फेरियो । धर्म निरपेक्ष संविधानको पानामा लेखिएपनि खासमा कागजको खोस्टो बनाइयो । आफु अनुकुलका व्याख्या र व्यवहार देखाउन थालियो । राजा फालेर सत्तामा पुगेकाहरु राजाको शैलीमा प्रस्तुत हुन थाले । पहिलेकाले पनि अहिलेकाले पनिसंस्कारको कुरा गर्दै हिन्दू पिठहरु घुमेकै हुन्, हिन्दू चाडवाडमा राज्यको सम्पति खर्च गरेकै हुन् । हुन त व्यक्ति जुन पृष्ठभूमिको छ, व्यक्तिगत रुपमा त्यस अनुसारको संस्कार गर्नुलाई अन्यथा मानिन्न । तर, राज्यको संयन्त्रलाई नै आफ्नो संस्कार र धर्ममा ढाल्न खोज्यो भने त्यो गलत हुन्छ । जुन कुरा राजाहरुले गरेका थिए । राजालाई फालेर जनताका छोराछोरीलाई सत्तामा ल्याइयो, फेरी उही चाला नदोहोरियुन भन्ने चाहना हो ।
तर, दशैंको बेला राष्ट्रपति विद्या भण्डारीको समिपमा पुगेर जसरी टिका लगाउने काम भयो, त्यसअघि शक्तिपीठहरुको जुन किसिमको भ्रमण गरियो, यसले एकातिर आम जनतालाई नागरिकको हैसियत दिलाउन सकेन । गणतन्त्र नेपालको राष्ट्रिपतिको गरिमा जोगाउन सकेन भने अर्कोतिर संविधानले स्पष्ट रुपमा व्यवस्था गरेको धर्म निरपेक्षताको मर्मलाई पनि आत्मसात गर्न सकेन । राजकीय ठाँटका साथ गरिने शक्तिपिठहरुको भ्रमण र दर्शनमा राज्यको संयन्त्र प्रयोग भएको छ । त्यसमा बिद्या भण्डारी होइन, राष्ट्रपति पुगेका छन् । यो राज्यको सर्वोच्च अंगले एउटै मात्र संस्कृति र एउटै मात्र धर्मलाई संरक्षण गरेको प्रष्ट देखियो ।
भन्नेले भन्न सक्छन्, टिका लगाई दिनेको के दोष, धनुष्टांकार असनमा, दुई घुँडा टेकेर टिका थाप्नेको पो दोष । कुरा कस्ले कसरी टिका थाप्यो होइन, राजासी ठाँटका साथ टिकाको कार्यक्रम चाही किन सार्वजनिक गर्नु पर्यो भन्ने हो ।
अनि कसैले घुँडै टेकेर टिका थाप्न खोज्दा पनि त्यो गर्न हुँदैन, राजा होस् या रंक बराबर हुन् भनेर युवास्थैदेखि रटेको कुरा त्यहाँ दोहोर्याउँदा के बिग्रियो ? उसलाई पनि दास भएर होइन, नागरिक भएर जीउन भन्दा राष्ट्रपति गरिमा घट्ने होइन । बढ्थ्यो । त्यसैले फेरी पनि भन्छु, ‘गणतन्त्र नेपालको राष्ट्रपतिको एउटै कदमले लाखौं नेपाली युवाको सपना तुहिएको छ ।’






