
लन्डन २८ सेप्टेम्बर २०२५ । सुनगाभा प्राइभेट लिमिटेड यूकेको आयोजनामा आउँदो १८ अक्टोबरमा विश्व कविता सम्मेलन हुने भएको छ ।
विश्वभरका नेपाली सर्जकहरुको सृजनामार्फत परदेशबाट देश निहाल्न कविता सम्मेलन आयोजना गरिएको सुनगाभाले जनाएको छ । बेलायतको अल्डरसटमा हुने सम्मेलनमा नेपाललगायत बेलायत, अमेरिका, अस्ट्रेलिया, मध्यपूर्व र युरोप गरी विश्वभरका नेपाली कविहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा सहभागी कविहरुमध्ये उत्कृष्ट २० कविहरुले जुममार्फत आफ्ना कविताहरु प्रस्तुत गर्नेछन् भने बेलायका कविहरूले सशरीर उपस्थित भएर आफ्ना कविता प्रस्तुत गर्ने आयोजकले प्रस्ट पारेको छ ।
आयोजकका अनुसार विश्वभरिका कविहरुले आफ्नो कविता पाठ गरेको भिडियो २८ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म सुनगाभाको वेभ ठेगानामा अपलोड गर्नुपर्नेछ । यस्तै ५ अक्टोबरमा ती कविताहरुबाट छानिएका उत्कृष्ट १०० कविताहरु सुनगाभाको युट्युब च्यानलबाट प्रसारण गर्ने र दर्शकहरुले लाइक गर्ने थाल्नेछन् ।
१० अक्टोबरमा दर्शकहरुले लाइक गरेको गणना गर्ने काम बन्द गरिने छ । लाइक गरेको संख्याको आधा र कविताका जजहरुको निर्णयबाट पुन: २० उत्कृष्ट कविताहरुको छनौट गरिनेछ । १२ अक्टोबरमा छनौट गरिएका २० कविताहरुलाई पुन: अर्को शीर्षक दिइने छ । १७ अक्टोबरमा २० कविहरुले आफ्नो कविता पाठ गरेको भिडियो सुनगाभाको वेभ ठेगानामा अपलोड गरिसक्नु पर्नेछ । यद्यपि ती कविताहरु युट्युबमा भने लगाइने छैनन् ।
सम्मेलनको अन्तर्राष्ट्रिय संयोजक विश्वासदिप तिगेला, नेपाल संयोजक टिका चाम्लिङ, दुबई संयोजक विक्रम चेतनशील र बेलायत संयोजक केदार संकेतलाई तोकिएको छ ।
सम्मेलनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगीतामा भाग लिनकाे निम्ति ठेगाना: https://sungabha.com/sks


