काठमाडौँ, २२ असोज २०८२ :नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले बुधबार विदेशीस्थित सबै नेपाली नियोग प्रमुखलाई ‘भर्चुअल’ सम्बोधन गर्दै विभिन्न विषयमा निर्देशन दिनुभएको छ ।
सम्बोधनका क्रममा उहाँले नेपालमा भएको ठूलो परिवर्तनका विषयमा सम्बन्धित मुलुक र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
साथै, प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएका सन्दर्भमा विदेशी सरकार र संस्थाको सहयोग आवश्यकपर्ने हुनाले त्यसका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको थियो ।
आन्दोलनका क्रममा पर्यटनलगायत गतिविधिहरू केही हदसम्म कम भएको सन्दर्भमा उहाँले अहिले नेपाल खुलिसकेको र आर्थिक गतिविधि सञ्चालन भइसकेको अवगत गराउन निर्देशन दिनुभएको थियो ।
प्रधानमन्त्री कार्कीले सो विषयलाई अब छिट्टै सम्बन्धित सबै ठाउँमा, सबै सरकारहरूलाई र सबै सरोकारवालालाई व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको विषयमा जोड दिनुभएको थियो । विदेशमा लाखौँको सङ्ख्यामा नेपाली रहेको अवस्थामा मुलुकको यो परिवर्तनसँगै उहाँहरूका अपेक्षाहरूलाई सम्बोधन गर्न, नियोगले चुस्त दुरुस्त, छिटो र प्रविधि मैत्री सेवा प्रवाह गर्न प्रधानमन्त्री कार्कीले नियोग प्रमुखलाई आग्रह गर्नुभएको थियो । उहाँले पुनर्निर्माणका लागि खोलिएको कोषका विषयमा नियोग प्रमुखलाई आवश्यक प्रचारप्रसार गर्न आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूद्वारा विदेशस्थित नेपाली राजदूत/नियोग प्रमुखहरूलाई सम्बोधनको पूर्णपाठ :
परराष्ट्र सचिवज्यू,
विदेशस्थित महामहिम नेपाली राजदूतज्यूहरू,
परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरूमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरू कर्मचारी साथीहरू,
यहाँहरू सबैलाई थाहै छ गत भाद्र २३ र २४ को जेन–जी पुस्ताको बलिदानीपूर्ण आन्दोलनबाट सृजित यस विशिष्ट परिस्थितिमा हामी आज भर्चुअल माध्यमबाट जोडिएका छौं । आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ । सयौं घाइतेहरू अझै पनि उपचाररत हुनुहुन्छ । जेनजी पुस्ताको आन्दोलनले हामीलाई वास्तवमै एउटा नयाँ धरातलमा उभ्याएको छ । उनीहरूका अपेक्षाहरू सम्बोधन गर्न हामी अहोरात्र खट्नुपर्ने समय आएको छ । हामी अवसर र चुनौतीहरूको सम्मुखमा खडा भएका छौँ । चुनौतीहरूको सामना गर्दै देशलाई लोकतन्त्र र समतामूलक समृद्धिको मार्गमा बलियोसँग उभ्याउने जिम्मेवारी यो सरकारलाई आइपरेको छ ।
वर्तमान सरकारको काँधमा ५ मार्च २०२६ (२०८२ फागुन २१) मा आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी रहेको छ । निर्वाचनको मिति आउन अब पाँच महिनाभन्दा पनि कम समय बाँकी छ । साथै, नयाँ पुस्ताले हामीबाट उत्तरदायित्व, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त नेपाल, रोजगारी सृजना र चुस्त एवं प्रविधिमैत्री सेवा प्रवाहको अपेक्षा राखेका छन् । यी अपेक्षा अप्राप्य अपेक्षा पनि होइनन् । सार्वभौम जनताले आफूद्वारा अनुमोदित सरकारबाट सुशासनको माग गर्नु सर्वथा स्वाभाविक विषय हो ।
यो सरकारको प्रमुख प्राथमिकता निर्वाचन भए पनि देशमा सुशासन स्थापना गर्ने कार्यमा उच्चतम् मानक स्थापना गर्नेगरी काम गर्न म प्रतिबद्ध छु । यही प्रतिबद्धताका साथ तपाईहरू सबैले आफ्नो कार्य सम्पादन गर्नुहुनेछ । आफ्नो कर्तव्य र इमानमा सम्झौता गर्ने कुनै पनि प्रकारको व्यवहारलाई सहन गरिने छैन ।
जेनजीको चाहनाबमोजिम गठित वर्तमान सरकारलाई नेपाली जनता र अन्तरराष्ट्रिय समुदाय सबैको सद्भाव रहेको छ । छिमेकी राष्ट्रहरू भारत र चीनसहित सबै मित्रराष्ट्रहरू, विकास साझेदारहरू लगायत सबैको सद्भाव र समर्थन रहेको परिप्रेक्ष्यमा जेनजीको चाहनाबमोजिम वर्तमान सरकारले आफ्नो म्यानडेट समयमै सफलतापूर्वक सम्पन्न गर्ने कुरामा म सबैलाई विश्वस्त गराउन चाहन्छु ।
हाल लाखौँ नेपाली युवा दिदीबहिनी र दाजुभाईहरू रोजगारी, अध्ययन, जागिर, पेसालगायतका कामका सिलसिलामा संसारका विभिन्न मुलुकमा हुनुहुन्छ । देशमा भएको यति ठूलो परिवर्तनमा उहाँहरूको योगदान, साथ र सहयोग रहेको छ, र अपेक्षा पनि उत्तिकै रहेको छ ।
खाडी मुलुकहरू र मलेशियामा उल्लेख्य संख्यामा नेपालीहरूले काम गर्नुहुन्छ । उहाँहरूको हकहितको सुरक्षा एवं अधिकार र मागहरू प्रति हामी संवेदनशील हुनुपर्दछ । तत्कालका लागि नियोगहरूबाट उहाँहरूका समस्याहरू समयमै प्रभावकारी ढङ्गले समाधान गर्न र सेवा प्रवाह अझ चुस्तदुरूस्त र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने देखिन्छ भने दीर्घकालमा नेपालमै रोजगारीका अवसरहरू सृजना गरी सबै मिलेर यो देशको विकासमा लाग्नुको विकल्प छैन ।
जेनजी पुस्ताका मागहरू राजनीतिक, आर्थिकलगायत समग्र शासकीय प्रबन्धसँग सम्बन्धित छन् र ती दूरगामी प्रकृतिका समेत रहेका छन् । ती मागहरू पूरा गर्ने अत्यन्त ऐतिहासिक र अभूतपूर्व अवसर सृजना भएको छ । गत २०८२ भदौ २७ गते मेरो नेतृत्वमा गठित यो अन्तरिम सरकारको प्रमुख लक्ष्य भनेकै सुशासनका स्तम्भलाई सुदृढ पार्नु र आगामी आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हो । नेपालको लोकतान्त्रिक मार्गलाई मजबुत बनाउने यही नै अहिलेको अनिवार्य आवश्यकता हो ।
नेपाल अहिले एक निर्णायक राजनीतिक सङ्क्रमणको मोडमा छ । यो बेलामा परराष्ट्र मन्त्रालयलगायत अन्तर्गतका निकायहरूले खेल्नुपर्ने भूमिका ठूलो छ । यस सन्दर्भमा म खासगरी पाँचवटा महत्वपूर्ण विषयहरूमा यहाँहरूले विशेष ध्यान केन्द्रित गर्नुहुन आग्रह गर्दछुः
१. पहिलो, नेपालमा भएको यति ठूलो आन्दोलन, परिवर्तनका लागि नागरिकको चाहना र अन्तरिम सरकारको प्राथमिकताका बारेमा यहाँहरू कार्यरत र सहप्रमाणिकृत मुलुकका सरकारी निकायलगायतका सबै सरोकारवालाहरूलाई जानकारी गराउन आवश्यक देखिएको छ ।
२. दोस्रो हो ५ मार्च २०२५ मा हुने आमनिर्वाचन लोकतन्त्रको मुख्य आधार नै स्वतन्त्र, निष्पक्ष र भयमुक्त निर्वाचन हो। यस विषयमा वर्तमान सरकार दृढ र प्रतिबद्ध छ । यहाँहरूको कार्यक्षेत्रका सरकारी निका






