कांग्रेसले महासमिति बैठक सार्‍यो, उपसभापतिमा गच्छदार मनोनीत [अन्य निर्णयको विज्ञप्तिसहित]

SHARE:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।

अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ । बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज सम्पन्न भयो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

१. दिपावली, नेपाल सम्बत्, छठ लगायत नेपालीहरुको महत्वपूर्ण चाडपर्वहरु प्रारम्भ भइसकेको र सो समयमा केन्द्रीय कार्यसमितिको बैठक बस्न व्यवहारिक नहुने भएकोले, पार्टीको महासमिति बैठकको आवश्यक तयारीको लागि लाग्ने समय समेतलाई ध्यानमा राखी २०७५ मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको महासमितिको बैठक २०७५ मंसिर २८ गतेदेखि पौष ३ गतेसम्म गर्ने निर्णय गर्दछ ।

२.नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष श्री विजयकुमार गच्छदारका बीच पार्टी एकताका सम्बन्धमा भएको सहमति अनुसार श्री विजयकुमार गच्छदारलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको उपसभापति पदमा मनोनयन गर्ने निर्णय गर्दछ ।
साथै, नेपाली कांग्रेसको सांगठनिक संरचनामा तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ एवं शुभेच्छुक संघ संस्थाको समायोजन सम्बन्धि आवश्यक कार्य गरी केन्द्रीय कार्यसमितिको बैठकमा प्रतिवेदन पेश गर्न उपसभापति श्री विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गर्दछ । यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

३.नेपाली कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने नेपाली कांग्रेस केन्द्रीय लेखा परिक्षण समितिको संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गर्दछ ।

४.चितवन जिल्ला भरतपुर स्थित वी.पी. कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह वनाउने तयारी गरिएको कुरा प्रति नेपाली कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनको लागि प्रयोग गर्ने गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्व रोक्न नेपाली कांग्रेस सम्बन्धित पक्षलाई सचेत गराउँदछ ।

५.सर्लाही निर्वाचन क्षेत्र नं. ४ को रामनगर गाउँपालिका वडा नं. ४ का नेपाली कांग्रेसका कार्यकर्ता ५५ वर्षीय रामविलास महतोलाई २०७५ कात्र्तिक १३ गते नेकपाका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको र गोली लागेर सोही वडाका नेपाली कांग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते भएको घटना तथा सोही घटनाको अघिल्लो दिन नेकपाका कार्यकर्ताहरुको सांघातिक आक्रमणमा परी टाउँकोमा गम्भीर चोट लागेका नेपाली कांग्रेसका विजयी वडा अध्यक्ष राम नरेश महतोलाई गम्भीर घाइते बनाएको घटनाको घोर भत्र्सना गर्दै उक्त हिंसात्मक आपराधिक घटनामा संलग्न अपराधीहरुलाई तत्काल गिरफ्तार गरी कानूनी कारवाही गर्न र मृतकलाई शहीद घोषणा गरी घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस वर्तमान सरकारसँग जोडदार माग
गर्दछ ।

६.नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको दिपावली, नेपाल सम्वत् र छठ लगायत पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सदा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्दछ ।

शोक प्रस्ताव
१.मानव अधिकारवादी, शान्ति प्रकृयाका एक सहजकर्ता तथा पूर्व स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरको कात्र्तिक १८ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय तुलाधरले नेपालको लोकतान्त्रिक आन्दोलनका साथै मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । कार्यसमितिको यो बैठक उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवार तथा आफन्तजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

२.डोल्पामा कात्र्तिक १९ गते भएको जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । कार्यसमितिको यो बैठक मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!