
लन्डन २४ अक्टुबर २०२५ । किरात याक्थुङ चुम्लुङ (केवाईसी) युकेले आउँदो १ नोभेम्बरमा ९औं यलम्बर हाङ ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाली समुदायका ब्याडमिन्टनप्रेमीहरूका लागि अल्डरसटस्थित ग्यारिसन स्पोर्ट्स सेन्टरमा प्रतियोगिता आयोजना गर्न लागेको किरात याक्थुङ चुम्लुङ युकेका मिडिया संयोजक नर थाम्सुहाङले जानकारी दिए । उनका अनुसार ८ वटा कोर्टमा बिहान ९ देखि साँझ ६ बजेसम्म प्रतिस्पर्धा चल्नेछ । दिउँसोको प्रतियोगिता पछि, माइतीघर रेस्टुरेन्टमा पुरस्कार वितरण र सामाजिक समारोह आयोजना हुने जनाइएको छ ।
प्रतियोगितामा पुरुष एकल, पुरुष युगल (तीनवटा उप-श्रेणीमा), भेट्रान, सुपर भेट्रान, महिला युगल र मिश्रित युगल गरी आठवटा श्रेणीहरू राखिएका छन् । प्रत्येक श्रेणीमा सीमित स्थानहरू ‘फस्ट कम फस्ट सर्भ’को आधारमा बुक हुनेछन् ।
प्रतियोगिता सफल बनाउन अध्यक्ष कमला लिम्बुको नेतृत्वमा समिति गठन गरिएको छ। दीपेन्द्र याक्सोले कार्यक्रम समन्वयको, खगेन्द्र लावतीले मुख्य आधिकारिकको र देवप्रकाश पन्थकले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
यलम्बर हाङ ब्याडमिन्टन प्रतियोगिताको सुरुवात सन् २०१३ मा नेपालका प्रथम किरात राजा यलम्बर हाङको नाममा भएको हो । यसको मुख्य उद्देश्य युकेमा रहेका सबै नेपाली ब्याडमिन्टन क्लब, संघ र व्यक्तिगत खेलाडीहरूलाई एकताबद्ध गर्नु र खेलकुदको सामाजिक सम्बन्धलाई बढावा दिनु रहेको आयोजकको भनाइ छ ।






