घुमेर कहिल्यै नअघाइने फ्रान्स

SHARE:

जानु काम्बाङ्ग
फ्रान्स, नाम सुन्दै मन उथलपुथल भएर आउने ठाउँ । युरोपको सबभन्दा सुन्दर सहर, ऐतिहासिक ठाउँ । अझ भनौं धेरैभन्दा धेरै वैज्ञानिक जन्मिएको देश, नेपोलियन बोनापार्टले जन्म लिएको देश फ्रान्समा म, १८ तारिख २०१७ शनिबारको दिन फेरि दोस्रोपल्ट घुम्न जाँदै थिएँ । साथमा मेरो ठूलो भाइ पूर्ण, बुहारी रोजी अनि मेरो श्रीमान् विजयबिक्रम लिङ्गदेनजी हुनुहुन्थ्यो । हामी केही दिनअघि बेल्जियम आएका थियौं । जिन्दगी यति अस्तव्यस्त कि कतै छुट्टी लिएर श्रीमान्÷श्रीमती सँगै हिँड्न पनि नसकिने, सँगै छुट्टी पनि नमिल्ने । कति अघिदेखिको प्लान बल्ल सफल भएर म माइती, बिजयजी ससुराली आएका थियौं ।

३ वर्षअघि मोनालिसालाई नभेटी फर्कंदा, रसाएको मेरो आँखा झल्झली सम्झिँदै बसिरहें भाइको सेतो बि.एम.डब्लू कारमा । त्यहाँ टमटम (कारमा हिँड्दा बाटो देखाउने मेसिन, जीपीएस) लुभ्र म्युजियमसम्म पुग्ने ग्रुप सेट गरिएको थियो । घुमेर कहिल्यै धित नमर्ने फ्रान्सलाई पहिलोपल्ट ३ वर्षअघि सपनाजस्तो हल्का घुमेकी थिएँ । त्यो बेला नै लुभ्र दरबार डुल्ने ठूलो सपना थियो । तर, आईफल टावरको लामो लाईनले त्यो मेरो सपना नमिठो गरि निलिदिएको थियो । त्यसैले समय नपुगेर अर्कोपल्ट डुल्ने भाका मनभरी लुभ्र म्युजियममा टाँगेर राखेको मोनालिसाको तस्बिरझैं मनमा टाँसेर फर्केका थियौं । त्यो बेलाजस्तै, यो पालि पनि हामी भाइको कारमा बेल्जियमबाट एकदिनको यात्रा तय गरेर हिँड्दै थियौं । ३ वर्षअघि बुहारी रोजी थिइन, २ भाइ भदाहरू यलम्बर र रिजेन्श थिए ।

हामी लगभग ३ घण्टा २५ मिनेट जातिमा बेल्जियम र फ्रान्स बीचको सम्पूर्ण दूरी तय गरी फ्रान्स पुग्यौं । फ्रान्स छिर्दाछिर्दै इन्डियाको ताज महलजस्तै एउटा गेट देखियो, छेउछाउमा बुट्टा कुँदेको त्यो सुन्दर गेट हेर्दा आकर्षक लाग्यो ! त्यो गेट भित्रैबाट छिरेर सिधै हामी फ्रान्सको लुभ्र दरबारतिर लाग्यौं ।

हामी फ्रान्स पुगेर पनि केहीबेर कार पार्किङ्ग खोज्दैमा समय गयो । निक्कैबेरको घुमाइपछि दरबारको ठीक पछाडिपट्टि अन्डरग्राउन्डमा पसेर कारपार्क गरियो । पिसाब र भोक दुबैले बराबरी सताएकोले पहिले रेस्टुरेन्टको खोजीमा भौतारिन बाध्य भयौं । केहीबेरपछि एउटा ईटालीयन पास्ता रेस्टुरेन्ट देखियो तर पास्ता कसैलाई मन नपर्ने भएकोले एसियन खाना छ कि भनी आँखा मात्र के डुलाउँदै थिएँ, ‘तँ चिता म पु¥याउँछु’ भनेझैं अर्को कर्नरमा ठ्याक्कै हङकङ लेखेको एउटा चाईनिज रेस्टुरेन्ट देखियो । सबै खुसी हुँदै त्यहीं पस्यौं र कोही ट्वाइलेट खोज्न थाल्यौं, कोही खाना अडर गर्न ।

चिटिक्क परेकी पुतलीजस्ती सुन्दरी एउटी केटी काउन्टरमा थिइन्, म खुब जान्ने भएर हङककङ बसेको रवाफमा क्यान्टोनिज भाषामा बोलाएँ तर त्यो त नाम मात्रको हङकङ रेस्टुरेन्ट रहेछ बुझ्दै बुझिनन् । तेसपछि अंग्रेजीमै सुप नुडल्स मागेर खायौं । भोक र जाडोले होला सारै मिठो लाग्यो । भाइ र बुहारीले हाम्रो लागि धेरै खर्च गरिरहेकोले म तिर्छु भनेर निकालें पाउन्ड । तर, चलेन मेरो पाउन्ड अनि फेरि भाइले नै तिर्दा कस्तो नमज्जा लाग्यो । पहिलेजस्तै सम्झेर युकेबाट हिँड्ने बेला साट्न नभ्याएर क्यास ३ सय पाउन्ड बोकेकी थिएँ । यो भन्दा अघि पाउन्ड मज्जाले चल्थ्यो तर अहिले युरोपियन युनियनबाट युके निस्किएकोले अब उसको पैसा पनि नचल्ने भइसकेको रहेछ युरोपमा, त्यो बल्ल थाहा हुँदै थियो मलाई ।

हामी कार पाक र रेस्टुरेन्टबाट पस्ने हुँदा पूर्व साईटबाट पसेछौँ । दरबार यति बिसाल छ कि जताबाट पसे पनि उस्तै लाग्ने, पसेर त्यो ठूलो प्राङ्गन वरिपरि रमाउँदै फोटो खिच्दै अघि बढ्यौँ । त्यहाँका चिजलाई ३, ३ सेकेन्ड मात्र टाईम दिएर हेर्दा पनि घुमीसक्नु ३ देखि ४ दिन लाग्ने कुरो त्यहाँ लेखिएरै राखिएको थियो । यस्तो धेरै समय त हामीले छुट्याएका थिएनौ, त्यसैले मुख्यमुख्य ठाउँमात्र घुम्यौं । हामीलाई घुम्न पाउनुको खुसी र बेल्जियम फिर्न ढिलो होला भन्ने चिन्ता उत्तिकै लागेको थियो ।
अघिल्लो रात फ्रान्स जाने उत्साहले त्यति मज्जाले निन्द्रा लागेन, बल्लतल्ल उठेर तयार भई ६ बजेतिर बाटो लागेका थियौं । युरोपका मोटर वे हरु डोरी टाँगेर बनाएको जस्तै सीधासीधा छ्न् । हेर्दा पनि अचम्म लाग्छ । यस्ता सडकहरु देख्दा मलाई नेपालको नारायणगढ, मुग्लिन अनि पूर्वमा धरान भेडेटारको रिंगटा चल्ने घुमाउरो सडकहरू याद आउँछ । तर, पनि हाम्रा पिता पुर्खाले आर्जेको देश, घरजम बसाएको देश उसै राम्रो लाग्छ हामीलाई । संसारकै अग्लो सगरमाथाको नाम मात्र काफी छ हाम्रो परिचय अरुलाई दिन । हामी हिँडेको १ घण्टापछि एउटा सर्भिस सेन्टरमा पसेर खाज खायौं ! ट्वाइलेट गर्दा युरो ५० सेन लाग्ने चलनसँग रोजी बुहारी परिचित थिइन् उसैले छङछङ बज्ने गरी चानचुने बोकेर हिँड्थ्यो । किन यति भारी चानचुने बोकेर हिँडेको ? भनी सोध्दा बाटोमा चाहिन्छ दिदी भन्थी । उही चानचुने एउटा एउटा झिकेर हात, हातमा दिन्थ्यो त्यसपछि अत्याधुनिक ढोका पस्दा पैसा हालेर सुल्टो घुमाउनु पर्ने, निस्कँदा बिनापैसा उल्टो घुमाउनु पर्ने ट्वाइलेटमा पसेर दिसा पिसाब गर्नु पर्ने । धन्न नेपालको जस्तो दिसा गर्दा १० रुपैयाँ, पिसाब गर्दा ५ रुपैयाँ लाग्ने गरी फरक दाम त तोकिएको रहेनछ ।

लुभ्र दरबार लुईस सोह्रौंको पालादेखि राजतन्त्रको अन्त्य भई सरकारी म्युजियमको रुपमा सञ्चालन हुँदै आएको छ । यो दरबारलाई संसारको विश्वप्रसिद्ध म्युजियम मानिनुको अर्को कारण यहाँ मोनालिसाको सक्कली पेन्टिङ, जुन लियोनार्दो दा भिन्चीले उतार्यो, कोर्यो त्यही पेन्टिङ स्वतस्फूर्त जस्ताको तस्तै राखिनुले पनि हो भन्ने भनाइ छ ।

मोनालिसाको यो पेन्टिङ धेरैपल्ट चोर्ने प्रयास पनि भएको इतिहास छ । मोनालिसाको उक्त पेन्टिङको मूल्य अर्बौं, खर्बौं डलर तोकिएको छ । विश्व आश्चर्यचकित छन् । यस्तो सिम्पल, साधारण एउटा सानो पेन्टिङमा के छ भनी ? किन यति महँगो ? घुम्न आउने सारासंसारका मान्छे त्यही पेन्टिङमा माहुरीझैं झुत्तिएको हुन्छन् । मोनालिसाको उक्त पेन्टिङसामु विश्व प्रशिद्ध व्यक्तित्वहरुको पेन्टिङ, फोटाहरु मूल्यहीन मानिन्छन् । विश्वका मान्छे मोनालिसालाई हेर्न भीड लाग्ने भएकोले जहाँ मोनालिसाको पेन्टिङ राखिएको छ त्यहाँ कडा सुरक्षाको प्रबन्ध गरिएको छ । उही भीडको लाममा हामी पनि घाँटी तन्काइतन्काई रमिता हेर्दै थियौं । म र बुहारी हरेक कर्नरकर्नरमा पोज मिलाइमिलाई फोटो खिच्थ्यौ, बेला बेला भाइ र विजयजीले छाडेर हिँडेपछि हामी अतालिँदै दौडिन्थ्यौं । तेत्रो विशाल म्युजियममा हरायो भने कसैले कसैलाई भेट्न सक्ने अवस्था थिएन र हाम्रो फोनको नेटवर्क पनि चल्दैनथ्यो ।

हामी बिहान रातको ४ बजे नै हिँडेकोले हल्का घुम्ने समय बाँकी थियो, त्यसैले भाइले लू हामीसँग टाईम छ आईफल टावर जाऊँ ? अनि हामीले घुमिसकेको लुभ्र दरबारलाई पश्चिम छाडेर लाग्यौं पूर्वतिर फेरि एकपल्ट आईफल टावर चढ्न । दरबारबाट निस्केर कारपार्क तर्फ मोडिँदै गर्दा एउटी सानी केटी रुमाल ओछ्याएर माग्दै बसेको देखें, उसको निर्दोष, निर्निमेष आँखाले थुप्रै, थुप्रै सपनाका लाभ्राहरू कोरल्दै गरेझैं देखिन्थ्यो । लाग्छ लडाइँको मैदानमा खोसिएको उनको परिचयसँगै आफ्ना सारा बालसुलभहरू हात फैलाएर फ्रान्सको गल्लीगल्ली हिँड्ने मानिसहरूसँग फिर्ता मागिरहेकी छे । लडाइँको अर्थ सोध्दासोध्दै आफ्नै छेउमा ढलेको आब्बूको तस्बिर काखमा राखेर संसारलाई लडाइँको अर्थ सोधिरहेकी छे । उनी बर्बराउँछिन …अब्बु एक दिन आउँछन् र भन्छन् हिँड छोरी घर जाऊँ ? म सँग केही थिएन उसलाई दिने गोजी छाम्दा उही कतै नबिकेको पाउन्ड थियो, बुहारीले ५ युरो रुमालमाथि राखिदियो । मनलाई अलिकति भए पनि सुकुन मिल्यो ।

अहिले युरोपका विभिन्न सहरहरूलाई संसारका रिफ्युजी (शरणार्थी)हरुले अखडा बनाएका छन् । यो पीडाबाट फ्रान्स पनि अछुतो छैन । बाटोभरी माग्ने र सडक पेटीमा सुत्ने भेटिन्छन् । बिनाडर त्रास ट्राफिक लाईट बाल्नेबित्तिक्कै टोकरी लिएर गाडीको सिसा ढकढक गर्दै पैसा माग्ने बुर्कावालाहरु भेटिन्छन् । त्यसैले पनि फ्रान्समा बास बस्न असुरक्षित छ भन्ने हामीलाई लाग्यो । बाटोमा आउँदा मैले सडक छेउछाउमा विभिन्न किसिमका छाप्रो घरहरु थुप्रै देखें, उनीहरु यति असुरक्षित ढंगले बसेको देखिन्थ्यो । एक त चिसो ठाउँ अर्को दिसा पिसाब गर्ने ठाउँको असुविधा, हेर्दै दयालाग्दो केटाकेटीहरु सडकमा हात फैलाएर बसेका, बूढाबूढीहरु कार रोकेर, हात जोड्दै पैसा मागेका दृश्यहरु दिमागमा रिङ्गीरहने, उफ् ! आखिर भगवान् बुद्धले खोजेको शान्ति कहाँ छ ? युद्धको मैदानबाट ज्यान जोगाएर भागेका यी जिउँदो लासहरुले अब आउने जाडो थाम्ने कसरी ? बाँच्ने कसरी ? खाने के ? यो कठ्याङ्ग्रिने चिसो उनीहरुको काल कि सुरक्षा ? त्यसै त्यसै मन निमोठियो..एकछिन आँखा बन्द गर्दा पनि झल्झली मनमै आउने कहालीलाग्दो कहानी छातीमा टाँसेर फ्रान्स विवश बसेको देखें । हेर्दाहेर्दै यस्तो सुन्दर सहर पनि असुन्दर लाग्यो.. व्यर्थै देशबाट विस्थापित दुखी र गरिबहरुको बगलमा एकछिनको लागि झनै गरिब देखें मैले फ्रान्सलाई । ३ वर्षअघि आईफल टावर घुम्दाको स्थिति अर्कै लाग्थ्यो । एउटा छुट्टै किसिमको चमक बोकेर पेरिस चम्किरहेझैं लाग्थ्यो । हामी ४ जनामध्ये सबैभन्दा खुसीमै थिएँ भने दुखी पनि मै थिएँ सायद ! म लेखकको मन र नजरले जुन रूपमा पेरिसलाई देख्थें सायद अरुले देख्दैन थिए ।

हामी टावर छेउमा कारपार्क गरेर भोक तिर्खा, शोक सुर्ता सब भूलेर सिधै टावर चढ्ने लाईनमा उभिन पुग्यौं । टावर, वरिपरि ठुल्ठुला एकै आमा बाबाका जुम्ल्याहा सन्तानझैं लाग्ने रुपैइलो मिलेको घरहरूबीच लमतन्न सडकहरूले पेरिसलाई हिस्सी परेकी शरीर मिलेकी तरूनीझैं देखिन्थ्यो । हरेक सडक छेउछाउमा मिलाएर रोपिएको सर्लक्क सर्लक्क परेको अलैची बारीको उतिसझैं देखिने रूखहरूले बेजिजक उभिएर पेरिसको सुन्दरताको बढावा दिइरहेका छन् । टावर चढ्ने लाईन लामो न लामो थियो । एकमनले त नचढ़ौ कि लाग्यो तर, विश्वको ७ अश्चर्यजनक चिजहरुमध्ये आईपÞmल टावर पनि एक हो भन्ने सुनेकी थिएँ यस्तो चिजहरू घरीघरी चढ्न कहाँ पाइन्छ भनेर फेरि एकपल्ट चढेरै जाने निर्णय भयो ।
बल्लतल्ल १ घण्टा १० मिनेट लाईनमा उभिँदा बल्ल पालो आयो । अचम्म गरी फलामैफलामले बुनेको त्यो गिंग्रिङ्ग परेको पेरिसको आइफल टावर चढ्दा मैले डरैले आँखा बन्द गर्न बिर्सिएँ । दुरुस्त सिकार बिनाको सर्पको अस्थिपञ्जर टेकेर उभिएकी छु जस्तो लाग्यो । म चुपचाप उभिए पनि त्यो टावर आफै बादल माथिमाथि झन् झन् अग्लो, अग्लो हुँदै उडिरहे झैं भान हुन्थ्यो ।

अघि फेदमा उभिएर घिच्रो तन्काइतन्काई हेरेका, अग्ला अग्ला बिल्डिंग अनि सडक छेउछाउका ती सुरिला उतीस जस्ता रुखहरू सब साना साना देखिन थाले । मान्छेलाई जति माथि गयो उति माथि जाउँ लाग्दोरहेछ, हामीलाई लिफ्टले ओरालीराखेको तला वरिपरि घुमेर फेरि अर्को तल उक्लियौं र घुम्यौं फेरि फनफन फोटो खिच्दै …।

माथि अन्तिम तलामा पुगेर मस्त वाईन र अन्य खाजाहरु खायौँ । डरलाग्दो फलाम र सिसैसिसाले बनेको लिफ्ट चढेर माथि पुगियो, हेर्दै डरलाग्दो भए पनि अति सुरक्षित ढंगले बनेको टावरको वरिपरि फ्रान्सको विभिन्न रुप नियाल्न पाइन्थ्यो । ठाउँ ठाउँमा खाने बस्ने ठाउँ थियो वरिपरि रमिता हेर्दै कफी पियौं हामीले पनि । आखिर हाम्रो निमित खर्च गर्ने भाइ छदै थियो । भो..भो भन्दा पनि किनेर खुवाइरहने सानैदेखिको बाँड्ने बानी मेरो ठूलोभाइको हामीमा सरेन कहिल्यै पनि ! न लोभैले हो, न मन नभएको हो थाहा छैन तर यस्तै खर्चालू भएपनि भगवान्ले उसैलाई टन्न दिएको छ । उसलाई अभाव छैन तर मलाई जहिले अभाव छ, सायद मेरो भाइ युरोपमा नभएको भए म यी देशहरुमा पुग्ने पनि थिइनँ होला ।
गाउँमा बदमास मात्र गरेर बाल्यकालको समय खर्चिने मेरो भाइले जम्मा ९ कक्षा पढेको थियो । तर, ऊ अहिले युरोपको धेरै भाषा बोल्न सक्ने खुङ्गखार युरोपियन बनेको छ । बुहारी रोजी भाइ युरोप लागेपछि सानो नानीसँग काठमान्डूमा धेरै दुःख गरेर बस्यो तर दुखसँग डगमगाएन बरु काठमान्डूको ढुंगामुढा सबै ढोग्दै हिँड्थ्यो सायद त्यसैको नतिजा हो कि ! अहिले बेल्जियममा घरजम गरेर मज्जाले बसेका छन् । सुखमा नमातिनु दुःखमा नआतिनु भन्ने उखानको जिउँदाजाग्दा उदाहरण भएका छन् मेरो ठूलोभाइ र बुहारी ।

पेरिसले, सडक छेउछेउमा लस्करै बत्ती बालेर हामीलाई घर जाऊ…जाऊ नभनुञ्जेल टावरमाथि नै घुमिरह्यौं । साँझ पर्न लग्यो तर, हामीलाई उज्यालोमा घुम्टो उघारेर आफ्नो सुन्दर रुप देखाउने बेहुलीजस्तो फ्रान्स सहरलाई अँध्यारोमा बत्तीहरू बलेपछिको रुप पनि हेर्नु थियो किनकि अँध्यारोमा पेरिस सहर झनै सुन्दर देखिन्छ भन्ने सुनेकी थिएँ । साँच्ची चारैतिर बत्ती बलेपछि फ्रान्स अझ सुन्दर लाग्यो ! स्वर्गको कुनै एक टुक्राजस्तै महसुस भो, वास्तवमा हामी उही रातको दृश्य टावर माथिबाट हेर्न नै अबेर परेर टावर चढेका थियौं । त्यो रहर पनि पूरा भयो ।

ब्रसेल्स फिर्दा साँझ भित्रिसकेको थियो, रातको ट्राभल अझ रोमाञ्चक लाग्यो । त्यो दिनको डिनर मेरो सानोको साथी अनिता तामाङकोमा पाकेको थियो । त्यसैले ब्रसेल्सबाट सीधै हान्नियौं लुभेनतिर । अनिता मस्त परिकारहरू पकाएर हामीलाई पर्खिरहेकी थिइन् । हामी पनि हल्का भोकाएकाले पुगेर पेटभरि खाना खायौं र छुट्यौ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!