अधिकारवादी वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनले सिंगो मुलुकले एक कुशल अभिभावक गुमाएको छ । सबै किसिमका उत्पीडन, उपेक्षा र गरिबीको अन्त्यका लागि सशक्त आवाज बुलन्द गर्दै आएका तुलाधरको निधनले देशका लागि अपुरणीय क्षति समेत भएको छ । मानवअधिकारको क्षेत्रमा होस वा वामपन्थी राजनीतिलाई उचाईमा पुर्याउन तुलाधरले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ । शिखर व्यक्तित्व तुलाधरले पछिल्लो समय आदिवासी जनजातिहरुमाथि राज्यबाट अझै पनि भइरहेको विभेद र अपमानबारे सशक्त आवाज उठाउँदै आएका पनि थिए ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको संयोजकको भूमिका निर्वाह गर्दै आएका तुलाधरले मातृभाषा अधिकारको समेत अगुवाई गर्दै आएका थिए । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि तुलाधरले खेलेको भूमिका अझ स्मरणीय छ । सशस्त्र द्वन्दकालमा तुलाधरलाई नै प्रचण्ड हुन् भन्दै सुरक्षाकर्मीले दुःख दिने समेत काम गरेका थिए । राज्य र विद्रोही दुवै पक्षबाट विश्वास जितेर मध्यस्थताको काम गर्नु त्यस समय पक्कै पनि सहज भने थिएन । त्यस्तो परिस्थितिमा पनि ज्यानका बाजी लगाएर देशमा शान्ति कायम गर्नका लागि तुलाधरले भूमिका निर्वाह गरेका थिए । त्यसैले पनि शान्तियोद्धाको रुपमा तुलाधरलाई सधै स्मरण गर्न सकिने स्थिति आएको छ ।
देशमा कोही पनि उत्पीडनमा पर्न नपरोस भन्दै बृद्ध अवस्थामा समेत तुलाधरले आवाज उठाउँदै आए । यतिसम्म कि देशका जनताको पीडा व्यक्त गरिरहँदा तुलाधर धेरैपठक भावुक बनेका थिए । अझै पनि सबैले समानताको आधारमा राज्यसत्तामा पहुँच र प्रतिनिधित्व हुन नसकेको, समानुपातिक रुपमा उपेक्षित उत्पीडित समुदायको आवाज सुनुवाई हुन नसकेको जस्ता आवाजलाई तुलाधरले जीवन कालको अन्तिम समयसम्म पनि सशक्त रुपमा उठाइरहे । त्यसैले तुलाधरलाई उपेक्षित, उत्पीडित समुदायले झनै स्मरण गरिरहनेछ ।
तुलाधरले भाषिक आन्दोलनको पनि अगुवाई गरे । सरकारी कामकाज मातृभाषामा हुनुपर्ने कुरामा उनले जोड दिए । त्यसै मुताविक नै तुलाधरलाई मातृभाषी आन्दोलनको अगुवा समेत भन्ने गरिन्छ । मातृभाषाको सम्मानले समुदायगत संरक्षण हुने विश्वास उनमा थियो । त्यसैले पनि भाषिक अधिकार सुनिश्चितताका लागि तुलाधरले सधै अगुवाई गरे । यद्यपि, अहिलेसम्म पनि मातृभाषामा सरकारी कामकाजको भाषा बन्न भने सकेको छैन ।
तुलाधरको निधनपछि सबैतिरबाट उनीप्रति सम्मान र श्रद्धाञ्जली आइरहेकै छ । यो सामान्य नेपाली संस्कार नै हो । तुलाधरप्रति साँच्चै श्रद्धाञ्जली अर्पण गर्ने हो भने उनले सधै भन्दै आएको उपेक्षित र उत्पीडित समुदायलाई सम्मान, भाषिक अधिकारको व्यवस्था हुनुपर्छ । त्यसले मात्र तुलाधरप्रतिको सच्चा सम्मान हुनेछ । अल बिदा पद्मरत्न तुलाधर ।






