अनेसास केन्द्रले हजुरबुबा हजुरआमा दिवस मनायो, सहभागी कसले के भने ?

SHARE:

  • सुरेन उप्रेती

लन्डन ८ डिसेम्बर २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले हजुरआमा दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

संसिर २० गते २०८२ तदनुसार डिसेम्बर महिनाको ६ तारिख २०२५ का दिन अनेसास केन्द्रका अध्यक्ष साहित्यकार सर्वज्ञ वाग्लेको अध्यक्षता र हजुरबा पुस्ताका साहित्यकार तीर्थ अधिकारी र उनकी पत्नी सीता अधिकारीको प्रमुख आतिथ्यमा हजुरबा हजुरआमा दिवस मनाइएको हो ।

कार्यक्रमका प्रस्तोता अनेसास केन्द्रका महासचिव साहित्यकार राजु सिटौलाले सबैलाई कार्यक्रममा स्वागत गर्दै कार्यक्रमलाई सञ्चालन गरेका थिए ।

कार्यक्रमको थालनी, आवश्यकता र महत्वको बारेमा प्रकाश पार्दै अनेसास केन्द्रका पूर्वमहासचिव तथा अनेसास केन्द्रीय बाल समितिका संयोजक सुरेन उप्रेतीले भने, ‘हाम्रा दिदीबहिनीहरूका पर्वका रूपमा तीज छ । तिहारमा दिदीबहिनीद्वारा दाजुभाइको पूजा हुन्छ । कुशेऔँसीमा बुबाहरूको पूजा हुन्छ । मातातीर्थ औँशीमा आमाहरूलाई मिष्‍टान्न भोजन र उपहार दिएर मनाउँछौँ । एक दिन भए पनि मिठा परिकार फलफूलले सत्कार गर्छौँ । पूजा गर्छौँ । नयाँ वस्त्रहरू पहिर्‍याइ दिएर घुम्न लैजान्छौँ । तर हामीसँग हजुरबा र हजुरआमाको त्यस्तो कुनै दिन छैन । उहाँहरूसँग नातिनातिनाको कस्तो प्रगाढ सम्बन्ध हुन्छ । तर ती हजुरबा, हजुरआमा र नातिनातिना बिचमा त्यस्तो प्रगाढ सम्बन्धलाई व्यक्त गर्ने कुनै पर्व छैन । हामी कतिपय मानिसहरू हजुरबा र हजुरआमाकै काखमा खेलेर हुर्किएका छौँ । उहाँहरूले सुनाएका दिव्य वचनका कथाहरू र गाथाहरू अझै पनि हाम्रो कानमा गुन्जिरहेका हुन्छन् । यो प्रगाढ सम्बन्धलाई सुमधुर बनाएर लैजानु पर्छ । अभिव्यक्त गरिनु पर्छ । हजुरआमा हजुरबा सदैव पूजनीय हुनु हुन्छ । स्तुत्य हुनु हुन्छ । उहाँहरूको पनि सम्मान गर्ने एक दिवस मनाइनु पर्छ भन्दै सन २०२२ को भानु जयन्तीका दिन हजुरबा हजुरआमा दिवस मङ्‌सिरको तेश्रो शनिवार मनाउँने कुरा पारित भयो ।’

उनले थपे, ‘मंसिर महिनामै किन भन्दा, त्यस समयमा जाडो शुरू हुन लागेको हुन्छ । बालिनाली उठाइसकेको हुन्छ । विद्यालयहरू पनि जाडोको बिदा हुने बेला भएको हुन्छ । त्यस दिन सबै विद्यालयहरूले पनि बालबालिकाहरूका हजुरबुबाआमालाई विद्यालयमा निम्त्याएर मनाउन सक्नेछन् भन्ने सोचले तोकिएको हो । नेपाल सरकारका पूर् मन्त्रीहरूलाई क्याविनेटबाट निर्णय गरी घोषणा गरियोस् भनेर ज्ञापन पत्र बुझाईसकिएको थियो ।’

पत्रकार सिबी भुर्तेलले भने, ‘हाम्रा बृद्धबाआमाहरूको सम्मान गर्नु पर्दछ । उहाँहरूलाई केही चाहिँदैन । छोराछोरी नजिक भए पुग्छ ।’

हजुरबा हजुरआमाका लागि सुरेन उप्रेतीद्वारा गीत रचना गरी राधेश्याम मालाकारको संगीतमा मेलिना राई र विश्व नेपालीले स्वर दिएको गीत कार्यक्रममा बजाएर सुनाइएको थियो । कार्यक्रममा दिव्या दहाल, दिप दाहाल, श्रीराज कार्की, उत्सव बुढाथोकी, रिसभ बुढाथोकी, गोमा रेग्मी मिठा कविताहरू सुनाएका थिए ।

भगी फुयालले हजुरबा, हजुरआमा सम्बन्धी कविता र आमालाई छोरीको चिठ्ठी भन्ने ह्रृदय विदारक मिठो कविता सुनाएका थिए ।

अभिक सिटौला र बन्दना (रिसाल) सिटौलाले इलामै सहर भन्ने गीत गाएर सुनाए ।

अनेसास नर्थन क्यालिफोर्नियाका वरिष्ठ उपाध्यक्ष रीता देवी प्रधानले भनिन्, ‘हजुरबा, हजुरआमाबाट नातिनातिनाले थुप्रै कुरा सिकेका हुन्छन् । हाम्रो संस्कृतिलाई सहजरूपमा सिक्न सक्छन्,’

गीतकार अग्नी पराजुलीले समयसांपेक्ष हुँदै हजुरबा हजुरआमालाई कसरी राम्रो रेखदेख गर्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु पर्ने विचार राखे ।

अनेसासका एलए च्याप्टर पूर्वअध्यक्ष डन कार्कीले कार्यक्रम महत्त्वपूर्ण भएको बताउँदै हजुरबा, हजुरआमासम्बबन्धी कविता सुनाए ।

अनेसासका भर्जिनिया च्याप्टरका अध्यक्ष मिरा कोइरालाले यो दिवस महत्वपूर्ण रहेको कुरा बताउँदै शुभकामना दिइन् ।

अनेसासका पूर्वकोषाध्यक्ष राजेन्द्र श्रेष्ठले हजुरबा, हजुरआमासम्बन्धीको कविता वाचन गरेर सुनाए ।

अनेसास क्यानडाका अध्यक्ष डाक्टर ज्ञानेन्द्र पोख्रेलले विदेशमा रहेका हजुरबा, हजुरआमालाई सामाजिक रूपमा समय बिताउने ठाउँ आवश्यक रहेको बताए । ‘हामीले नेपाल र प्रवासमा रहेका हजुरबाआमालाई नातिनातिनासँग कसरी जोड्न सकिएला भन्ने विषयमा काम गर्नुपर्नेछ,’ उनले भने ।

कार्यक्रममा बोर्ड अफ ट्रस्टीका सचिव प्रकाश नेपाल पनि शुभकामना व्यक्त गरेका थिए ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले यसको थालनी गर्ने सुरेन उप्रेतीलाई धन्यवाद दिँदै हजुरबा, हजुरआमालाई शुभकामना दिए । उनले साना बाबुनानीहरूलाई राम्रो संस्कार दिनु पर्ने कथा सुनाउँदै स्कुलहरूलाई पनि अनुरोध गरी यो दिवस मनाउन थालनी गर्नुपर्नेमा जोड दिए ।

अनेसास केन्द्रीय समिति सदस्य तारा उप्रेतीले स्वस्तीवाचनसहित सबैलाई शुभकामना दिँदै कविता वाचन गरे ।

कार्यक्रमम गंगा गहतराजले पनि नातिका साथ उपस्थित भएर विचार राखिन् ।

राधिका अर्यालले क्यानडाबाट उपस्थित भएर शुभकामना दिइन् ।

जीवन निरौलाले आफ्ना हजुरबा र हजुरआमाको ह्रृदयविदारक संस्मरण सुनाए । त्यसपछि प्रभा पोख्रेलले हजुरबा, हजुरआमा दिवस महिना-महिना दिनमा मनाउनु पर्ने विचार राख्दै हजुरबा, हजुरआमासम्बन्धी मिठो कविता वाचन गरेर सुनाइन् ।

विन्दा पराजुलीले शार्दुलविक्रिडित छन्दमा बाबाको महिमा शीर्षकको कविता वाचन गरिन् ।

अनेसासका पूर्वअध्यक्ष साहित्यकार मोहन सिटौलाले एउटा छोराले साथीहरूसँग आफ्नै बाबुलाई काम गर्ने मान्छे भनेको दुखद् प्रसंग जोड्दै इन्द्रा बज्राछन्दको पारसमणि प्रधानले लेखेको कविता सुनाए । ‘हामीले यो हजुरबाआमा दिवसलाई संसारभरि पुर्‍याउनु पर्नेछ,’ उनले भने ।

कार्यक्रमका प्रमुख अतिथि तीर्थ अधिकारीले आफ्ना तीन मुक्तक सुनाउँदै यस्ता कार्यक्रम अनेसासले गरेकोमा आभार प्रकट गरे ।

कार्यक्रममा ॐम घिमिरे, प्राडा भवानी पाण्डे,रविन दाहाल, डाक्टर यामबहादुर पौडेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित हुने सबैलाई उच्च सम्मान गर्दै अध्यक्ष सर्वज्ञ वाग्लेले हामी प्रकृति पूजक, हामी ब्रह्माका सन्तान भन्ने एक बेजोड कविता वाचन गरेर कार्यक्रमको अन्त्य गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!