मेजन पुन
म्याग्दी ११ डिसेम्बर २०२५ । रघुगंगा गाउँपालिकास्तरीय स्थानीय र खाम भाषाको पाठ्यक्रम निर्माणसम्बन्धी गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन मगर र शिक्षा अधिकृत नहेन्द्र आचार्यसँग नेपाल पुन मगर समाज, रघुगंगा गाउँपालिकाको अध्यक्ष टिका पुर्जा पुन मगरको अगुवाईमा एक भेटघाट एवम् छलफल म्याग्दीको बेनीमा सम्पन्न भएको छ ।
अघिल्लो वर्ष रघुगंगा गाउँपालिकाले खाम भाषाको प्रशिक्षण लागि ५ लाख रुपैयाँ विनियोजन गरिदिएको थियो । जसलाई नेपाल पुन मगर समाज, रघुगंगा गाउँपालिका समितिले बेगखोलाको बेगमा २, तिप्ल्याङ १, बाँदुक १ र झिंमा १ वटा खाम भाषा प्रशिक्षण कक्षा संचालन सम्पन्न गरेको थियो । यस वर्ष पनि गाउँपालिकाले ५ लाख विनियोजन गरिसकेको छ भने नेपाल पुन मगर समाज, रघुगंगा गाउँपालिकाले यस वर्ष पाखापानी र मौवाफाँटमा खाम भाषा प्रशिक्षण कक्षा संचालन गर्ने जनाइएको छ । यसको लागि भाषाको पाठ्यक्रम निर्माण भएको खण्डमा अध्ययन गर्न सजिलो हुने महसुस गरी गाउँपालिकास्तरीय र भुगोलको हिसाबले खाम भाषाको पाठ्यक्रम निर्माणको लागि नेपाल पुन मगर समाज, रघुगंगा गाउँपालिकाले चासो लिएर छलफल गरिएको छ ।
जसमा एनआरएनए यूकेका भूपूअध्यक्ष बेगबासी योगकुमार फगामी, बेगखोला कल्याणकारी समाज पोखराका अध्यक्ष र सल्लाहकार यामकुमार पुर्जा मगर र मेजन फगामी मगरसहित गाउँपालिकाको टोली बेनीमा भेट भएको थियो भने पालिका उपाध्यक्ष प्रेमकुमारी पुन मगरसँग कार्यक्रमका लागि बेग गइरहेको हुँदा बाटोमा नै यस सम्बन्धी कुराकानी राखियो । यसमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सकारात्मक रहेको र अब पालिकाले आयोजना गर्ने बृहत छलफलमा उपस्थितिको लागि निम्तो दिएका छन् ।






