लन्डन ९ जनवरी २०२६ । बेलायत निवासी अभियन्ता विश्वास दीप तिगेलाले नेपाल आदिवासी जनजाति महासंघमा जी-८ र अल्पसंख्यकबीच आलोपालो नेतृत्व गर्ने प्रणाली सुरु गर्न सुझाव दिएका छन् ।
महासंघको ११ औं राष्ट्रिय महाधिवेशन नजिकिएको सन्दर्भमा तिगेलाले आलोपालो नेतृत्वको विषय उठान गरेका हुन् । ‘जी-८ र अल्पसंख्यकबीच पालोपालो अध्यक्ष गर्ने । जी-८ बाट नेतृत्व पहिल्यै भइसकेको भए पनि अल्पसंख्यकको नेतृत्व पछि फेरि नेतृत्व गर्ने,’ उनले फेसबुकमा लेखेका छन् । उनले एउटै जातिको तल्लो गाउँले र माथिल्लो गाउँले नाम दिएर आदिवासी जनजाति महासंघमा दर्ता भएको संस्था खारेज गरी एक संस्था मात्र राख्न पनि सुझाव दिएका छन् ।
एनआरएनए उपाध्यक्ष, साहित्यकार, पत्रकारसमेत रहेका तिगेलाले संसद्मा आदिवासी जनजातिको कोटामा सांसद हुनेलाई जनजाति महासंघले पठाउनु पर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । उनले भनेका छन्, ‘संसद्मा आदिवासीको कोटामा सांसद हुनेलाई जनजाति महासंघले पठाउनु पर्ने व्यवस्था गर्ने । महासंघको नेतृत्व छान्दा जनसंख्याको अनुपातमा जी-८ को दुई वा तीनजनाले र अल्पसंख्यकको साविक एकसंस्था एक भोटको व्यवस्था गर्ने । राजनीतिक हस्तक्षेपबाट अलग राख्ने ।’
आदिवासी आगुवा र सरोकारवालाको उपस्थितिमा बिहीबार ललितपुरमा ‘आदिवासी जनजाति आन्दोलन र नेफिनको आसन्न महाधिवेशन विचार विमर्श’ कार्यक्रम समेत भएको थियो । आदिवासी जनजाति महासंघको माघ ९ र १० गते विराटनगरमा ११ औं राष्ट्रिय महाधिवेशन तोकिएको छ ।






