काठमाडौं । म्याग्दी रघुगंगा गाउँपालिका वडा नं. ७ चिमखोला घर भई हाल बेलायतमा बसोबास गर्दै आएका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत पुन (चिम्खोले काइँला) नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) द्वारा सम्मानित भएका छन् ।

चिम्खोले काइँला लामो समय विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीका लागि सामाजिक सेवा, पत्रकारिता तथा साहित्य क्षेत्रमा विशेष योगदान पुर्याएवापत उपराष्ट्रपतिले सम्मान गरेका हुन् । पत्रकार चिम्खोले काइँला एभरेस्ट टाइम्स साप्ताहिक युकेका प्रबन्ध निर्देशक तथा सम्पादक हुन् । उनको लगातार सक्रिय योगदानको कारणले गर्दा एभेरेस्ट टाइम्स साप्ताहिक युकेले हालसालै दसौँ वार्षिकोत्सव मनाउन सफल भएको छ ।
म्याग्दी जिल्ला चिम्खोलामा जन्मिएका चिम्खोले काइँला ब्रिटिस सेनाको अवकाश प्राप्त Waarant Officer हुन् भने उनी Marketing & Innovation विषयमा मास्टर डिग्री (MA) मा अध्ययनरत छन् । प्रबन्ध निर्देशक चिम्खोले काइँलाको मुख्य जिम्मेवारी एभरेस्ट टाइम्सको नियमित ब्यवस्थापन हेर्नु भए तापनि उनले व्यवस्थापन र पत्रकारितालाई सँगसँगै दौडाउँछन् । त्यसैले चिम्खोले काइँलाले पत्रकारिता क्षेत्रमा पनि बेग्लै छाप छोडिसकेका छन् । उनी अन्तर्रािष्ट्रय पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ, नेपाल पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेमा आबद्ध छन् ।
साहित्यकार चिम्खोले काइँला नेपाली साहित्यमा पनि विशेष योगदान रहँदै आएका छ । गीत, संगीतमा पनि उत्तिकै रमाउँछन् । उनले प्रकाशित गरेको साहित्य कृतिहरु ‘सुन्दन्ते’ र ‘युकेको जिन्दकी’ कविता संग्रहहरु हुन् भने ‘अर्ली भाई’ कथासंग्रह हो । उनले निर्माण गरेका गीत, संगीततर्फका कृतिहरु ‘युकेतिर जाउली’ लोकदोहोरी एल्बम, ‘लन्डनको कोसेली’ आधुनिक गीति एल्बम र ‘The best of Chimkhole Kaila” (DVD) निर्माण गरेका छन् भने उनले चर्चित चलचित्र ‘मेजर पेन्सन खाउली’ पनि निर्माण गर्नुको साथै सो चलचित्रको पटकथा तथा गीतसमेत उनै चिम्खोले काइँलाले लेखेका तथा संकलन गरेका हुन् । साहित्य तथा गीत, संगीत सँगसँगै बोकेर हिँड्ने चिम्खोले काइँला देश विदेशमा रहेका बिभिन्न साहित्यिक तथा गीत संगीतका संघसंस्थाहरुमा आबद्ध छन् ।
समाजसेवी चिम्खोले काइँला युकेवासी नेपालीहरुमाझ समाजसेवामा अग्रपंतिमा आउँछ । उनी गैरआवासीय नेपाली संघ युके, नेपाल पत्रकार महासंघ युके, मगर संघ युके, म्याग्दी प्रवासी नेपाली संघ लागायत विभिन्न नेपाली संघसंस्थाहरुमा आबद्ध रही बिभिन्न खाले च्यारिटी कार्यक्रमहरु गर्नुको साथै उनले ती संस्थाहरुको महाधिवेशनको निर्वाचन मण्डलमा रहेर कुशल कार्यक्षमता प्रदर्शन गरिसकेका छन् । चिम्खोले काइँला पेशाले संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयको निजामति कर्मचारी हुन् भने मगर संघ युकेका निवर्तमान अध्यक्ष हुन् । उनको लगनशीलता, अनुशासन, अनुभब, इमान्दारिता, बफादारिता, दक्ष तथा कुशल कार्यक्षमताले गर्दा नेपालका उपराष्ट्रपतिद्वारा चिम्खोले काइँलाले सो सम्मान पाउन सफल भएको हो ।






