काठमाडौं । राजपा नेपालको अध्यक्षमण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएका छन् ।
राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्षमण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरिएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
उनका अनुसार निर्धारित समयमै महाधिवेशनको सुनिश्चितता गर्न, पार्टीको सर्वोच्च निकायमा सामूहिक निर्णयको अभ्यासनलाई निरन्तरता दिन, संगठनको विकास र विस्तार कार्यलाई गतिशीलता प्रदान गर्नलगायतका उद्देश्यले पार्टीको विधानअनुसार नेतृत्वलाई सक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतको आधारमा निर्णय गरिएको हो ।
बैठकको निर्णयसँगै राजपाको अध्यक्षको मण्डलको संयोजकबाट महन्थ ठाकुरलाई बिदाई गरिएको छ । उनको ठाउँमा राजेन्द्र महतो आएका छन् । बु्धबारदेखि लागू हुने गरी महतो संयोजक पदको दायित्वमा रहने झाले जानकारी दिए ।
बैठकले ६ पार्टीबीच एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति र मनोनयनलाई रद्द गर्ने निर्णय गरेको पनि आजसम्म संयोजकको भूमिकामा रहेका महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।






