काठमाडौं । विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमा पूर्ण हक रहने भएको छ । मुलुकी देवानी (संहिता) २०७४ को सम्पत्तिसम्बन्धी व्यवस्थाले उक्त हक दिएको हो ।

संहिताको दफा ४३३ मा ‘कुनै विदेशीलाई नेपालभित्रको कुनै अचल सम्पत्ति अंश वा अपुताली प्राप्त भएमा नेपाल सरकारको स्वीकृति भएकोमा बाहेक सो सम्पत्ति निजको नाममा नामसारी, दर्ता हुन वा सो सम्पत्तिको आम्दानी निजले उपभोग गर्न पाउने छैन’ भन्ने उल्लेख गरिएको छ । त्यसै दफामा रहेको ‘तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा यो व्यवस्था लागू हुने छैन ।’ भन्ने उल्लेख गरिएको छ ।
यस व्यवस्थाअनुसार गैरआवासीय नेपाली नागरिकता पाएकाले अंश या अपुताली दुवै पाउने छ । उसले नेपालमा अचल सम्पत्ति खरिद गर्न र बन्धकीमा लिनसमेत पाउने संहिताको व्यवस्थाले स्पष्ट पारेको छ ।
‘नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिइसकेका गैरआवासीय नेपालीसमेत नेपालमा पैतृक सम्पत्तिको अंशियार हुने कानुनी व्यवस्था छ । नेपाली नागरिकता त्याग्दैमा कोही पैतृक सम्पत्ति वा अंशबाट विमुख हुँदैन । पैतृक सम्पत्ति या अंशमाथि वंशको हक लाग्छ,’ कानुन मन्त्रालयका अधिकारीहरु भन्छन् । संविधानसभाबाट जारी नयाँ संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नागरिकता’ दिने व्यवस्था गरेको छ ।
नयाँ नागरिता ऐन बनाउन संसद्मा पेश गरिएको बिधेयकले पनि यसको व्यवस्था गरेको छ । उक्त विधेयकअनुसार गैरआवासीय नेपालीले नेपालमा आफ्नो नाममा लगानी गर्न या सम्पत्ति खरिद, बिक्री गर्न पाउने व्यवस्था छ । गैरआवासीय नेपालीले राजनीतिक अधिकार भने पाउने छैनन् ।
गैरआवासीय नेपालीले विदेशमा कमाइ गरी बाबुआमा, दाजुभाइ, दिदीबहिनीका नाममा खरिद गरेको घरजग्गा या कुनै सम्पत्तिमा भने उसको सोझो हक नलाग्ने कानुन मन्त्रालयका अधिकारीहरुले बताएका छन् । ‘कुनै गैरआवासीय नेपालीले आफ्ना नातागोताको नाममा नेपालमा घरजग्गा लगायतको सम्पत्ति जोडेको छ भने त्यसमा उसको सोझो हक लाग्दैन । जसको नाममा छ, उसैको मात्र हक लाग्छरु। बाबुआमा या दाजुभाइ, दिदीबहिनीलगायत नातागोताले दया गरेर दिएमात्र त्यस्तो सम्पत्ति पाउँछन्,’ ती अधिकारीले भने ।
ती अधिकारीका अनुसार कुनै गैरआवासीय नेपालीले आफ्नो पैतृक सम्पत्ति कानुनी रूपमा लिइसकेको छैन भने बाबुआमा, दाजुभाइ या दिदीबहिनीका नाममा नेपालमा खरिद गरेको सम्पत्तिमा उसको अंश हक लाग्नेछ । ‘पैतृक सम्पत्ति वा अंश लिइनसकेको गैरआवासीय नेपालीले बाबुआमा या अंशियार दाजुभाइ, दिदीबहिनीका नाममा नेपालमा खरिद गरेको घरजग्गा लगायतको सम्पत्तिमाथि हक पाउँछ, त्यसका लागि उसले पैतृक सम्पत्ति नलिएको प्रमाण भने हुनुपर्छ,’ उनले भने ।
पैतृक सम्पत्ति लिन्नँ भनेर कानुनी कागजात गरेर गएको गैरआवासीय नेपालीले पछि दाबी गरे पनि पाउने छैन । ‘पैतृक सम्पत्तिको हक कानुनी रूपमा छाडेको छैन भने गैरआवासीय नेपालीले जहिले आएर दाबी गरे पनि आफ्नो अंश पाउन कुनै कानुनी बन्देज छैन,’ ती अधिकारीको भनाइ छ ।
नेपाली नागरिकता त्याग्नुअघि कुनै गैरआवासीय नेपालीले नेपालमा आफ्नो नाममा खरिद गरेको घरजग्गा लगायतको सम्पत्ति नागरिकता त्याग गरेपछि पनि उसकै हुने जानकारी ती अधिकारीले दिए । ‘गैरआवासीय नेपालीले नागरिकता त्याग्नुअघि नेपालमा खरिद गरेको सम्पत्ति पनि उसकै हुन्छ तर कानुनी रूपमा अंशबण्डा भइसकेको छैन भने त्यस्तो सम्पत्तिमाथि बाबुआमा, दाजुभाइ, दिदीबहिनीको समेत हक लाग्छ,’ ती अधिकारीले भने, ‘किनकि त्यसरी खरिद गरेको सम्पत्तिमा पैतृक सम्पत्तिको कमाइ परेको छैन भनेर कानुनी रूपमा प्रमाणित गर्न गाह्रो हुन्छ ।’






