नेपाली व्यवसायी भन्छन् ‘अहिलेकै अवस्थामा २५ लाख पर्यटक धान्छौँ’

SHARE:

काठमाडौँ । विभिन्न प्रवर्द्धनात्मक गतिविधिले सन् २०१७ मा दस लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१८ को जनवरीदेखि अक्टोबर महीनासम्म पर्यटकको आगमन उत्साहजनक देखिन्छ । अध्यागमन विभागको विवरण अनुसार अक्टोबरसम्म आठ लाख ८२ हजार ५३१ पर्यटक नेपाल घुम्न आएका छन् ।

उक्त विवरण केही तलमाथि हुनसक्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले एक/दुई दिनभित्रै आधिकारिक तथ्याङ्क ल्याइने जनाएको छ । पर्यटक आगमनको अनुपात हेर्दा स्वभावले सन् २०१८ मा पर्यटकको सङ्ख्या वृद्धि हुने देखिन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तथापि प्रवद्र्धनात्मक गतिविधिले तीव्रता पाउन सकेको छैन् ।

पर्यटकीय पूर्वाधार निर्माणले गति लिएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको काम अघि बढेको छ । हाल २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको इतिहासमै पहिलो पटक धावनमार्ग कालोपत्रे ‘रनवे रिह्याब’ को काम अघि बढाइएको छ । विमानस्थलको उत्तरपूर्व र दक्षिण–पश्चिम क्षेत्रमा १० वटा साना ठूला जहाज अट्ने दुई नयाँ पार्किङ–वे निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ ।

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको केही महीनामै सञ्चालनयोग्य हुने आयोजना निर्माणमा संलग्न अधिकारीले बताएका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले हालै भित्र्याएको नयाँ दुई वाइड बडी विमानले अन्तर्राष्ट्रिय गन्तव्य विस्तारसँगै व्यावसायिक योजनाका साथ अघि बढेको छ । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो पर्यटकस्तरदेखि तारे तथा चेन होटल धमाधम निर्माण भइरहेका छन् । सन् २०१९ सम्म निर्माणाधिन अधिकांश होटल बनिसक्ने छन् । हालको पर्यटकीय पूर्वाधारबार्टै २५ लाख पर्यटकलाई सेवा दिन सकिने उनिहरुको विश्वास छ ।

होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष अमरमान शाक्यले पर्यटन प्रवर्द्धनात्मक गविविधि केही सुस्त देखिए पनि २० लाख पर्यटक भित्र्याउन गाह्रो नहुने बताए । उनले भने, “हामी अहिले नै २५ लाख पर्यटकलाई धान्नसक्छौ तर २० लाखको लक्ष्यले मात्रै पुग्दैन पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्छ, सरकार र निजी क्षेत्रले सक्रियता बढाउनुपर्छ ।”

अहिले होटलको ‘वेड’ सङ्ख्या ३७ हजार छ । सन् २०२० सम्म पाँच देखि छ हजार बेड सङ्ख्या थपिने अध्यक्ष शाक्यको भनाइ छ । अहिलेको अवस्थामा एउटा पाँच तारे होटल खोल्न कम्तीमा १० अर्ब लगानी आवश्यक पर्ने हानले जनाएको छ । काठमाडौँ उपत्यका र बाहिर गरी १० वटा पाँच तारे होटल निर्माण भइरहेका छन् ।

नेपाल भ्रमण वर्षलाई प्रभावकारी रुपमा सञ्चालन गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहितका कार्यक्रमको सञ्चालन संयोजन गर्न नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलाई कार्यक्रम कार्यान्वयन उपसमितिको संयोजकको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्त गरिसकेको छ ।

कार्यक्रमको सुव्यवस्थित सञ्चालनका लागि नेपाल पर्यटन बोर्डमा सचिवालय स्थापना गरी कार्यक्रम अघि बढाइएको छ । नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन उपसमितिको अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढेको बताए ।

जम्मा १२ सदस्यीय उक्त उपसमितिमा ६ जना सदस्य सरकारीस्तरबाट र ६ जना निजी क्षेत्रबाट रहनेगरी व्यवस्था गरिएको छ । सरकारले चालु आवको बजेटबाट भ्रमण वर्षका लागि रु १० करोड बजेट विनियोजना गरेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षलाई सफल बनाउन प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको बताए ।

विशेषगरी छिमेकीमूलुक भारत र चीन लक्षित कार्यक्रमलाई तीव्रता दिइएको छ । पहिला दक्षिणपूर्वी एशियालीमूलुक मलेसिया, सिङ्गापुरलगायत देशमा केन्द्रित पहिलाका कार्यक्रमलाई अब भियतनाम, म्यानमार, कम्बोडियाजस्ता बुद्धिष्ट देशमा स्रोत बजारको रुपमा प्रवर्द्धनात्मक अभियान चलाइनेछ । यसकासाथै युरेपेली मुलुकमा पनि विभिन्न कार्यक्रम केन्द्रित गरिनेछ । मुख्य चुनौती पूर्वाधार भए पनि निर्माणाधिन पूर्वाधारले २० देखि २५ लाख पर्यटकलाई सहज व्यवस्थापन गर्न कठिन नहुने प्रमुख कार्यकारी अधिकृत जोशीको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!