लन्डन । गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि बेलायतवासी गुमानसिंह गुरुङ परिवारबाट ५ लाख ५५ हजार ५ सय रुपैयाँ सहयोग भएको छ ।
पर्वत जिल्ला चारभञ्ज्याङ घर भई हाल यूके स्विन्डन निवासी गुमानसिंह गुरुङ, राधाकुमारी गुरुङ स-परिवारबाट काठमाडौं बुढानिलकण्ठ भंगालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यलय भवन निर्माणको लागि भूमिदान स्वरुप उक्त सहयोग प्राप्त भएको समाजका अध्यक्ष शिर लामा गुरुङले जानकारी दिए ।
यस्तै स्याङ्जा जिल्ला फेदिखोला–कुडुले तथा पोखरा–१७ हिमालटोल घर भई हाल बेलायत निवासी रेखा गुरुङ तथा स–परिवारले स्वर्गीय श्रीमान् प्रेमसिंह गुरुङको पाँचौँ वर्षको पुण्यतिथिको अवसरमा भूमिदान स्वरूप एक लाख एक्काइस रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
समाजले सहयोगी व्यक्ति तथा संस्थालाई साधुवाद भन्दै सपरिवारमा सदैव सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेको छ । सहयोग गर्न चाहनेले कोषाध्यक्ष खेन्पो सन्तोष गुरुङलाई १८१६२०५३३८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
समाजले काठमाडौं बुढानीलकण्ठ-८ भंगालमा जग्गा खरिद र भवन बनाउने प्रक्रियाका लागि अगाडि बढाएको छ । समाजले आह्वान गरेपश्चात् बेलायत, नेपालसहित विभिन्न देशमा बसोबास गर्ने व्यक्ति तथा संस्थाले निरन्तर सहयोग गरिरहेको जनाएको छ ।






