काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनले नेपालको समृद्धि, लगानी प्रवर्द्धन, प्रवासी नेपालीको अधिकार संरक्षण र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लक्ष्यसहित १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताको भावनासहित नेपालको विकास र विश्वव्यापी नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै सम्मेलनले विभिन्न नीतिगत सुधार, लगानी प्रवर्द्धन र अन्तर्राष्ट्रिय सहकार्यका पहललाई प्राथमिकता दिएको जनाएको छ ।
सम्मेलनले गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण निर्माण गर्न तथा कानुनी सुधार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । रोजगारी सिर्जना, उद्यमशीलता विकास र भौतिक पूर्वाधार विस्तारमार्फत समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।







