हुम तमु
पोखरा । युकेमा क्रियाशील प्रभावशाली एवं अग्रणी सामाजिक संस्था तमुधिं युकेले सोमवार पोखरामा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विगतमा स्वदेश आगमनको क्रममा विभिन्न संघसंस्थाको स्वागत र सम्मानमा भ्याइ नभ्याई हुने तमुधिं युकेले यसपटक आफै भेटघाट तथा सम्मान कार्यक्रम आयोजना गरी पोखरामा क्रियाशील संघसंस्थाका अगुवाहरुसँग भेटघाट एवं सम्मान गरेको हो।
तमुधिं युकेसँग निकट रही सहकार्य गर्दै आइरहेको सामाजिक, खेलकुद, साँस्कृतिक, संचार लगायत विभिन्न संस्थाका अगुवाहरुलाई आमन्त्रण गरिएको उक्त कार्यक्रमका अतिथिहरुलाई तमुधिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ, आमा समुहकी अध्यक्ष प्रेमा गुरुङ, उपाध्यक्ष एव नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, कोषाध्यक्ष एवं नवनिर्वाचित उपाध्यक्ष जुमकाजी गुरुङ, पूर्वअध्यक्ष रामचन्द्र(सुर्य) गुरुङ, पूर्वमहासचिव एवं नवनिर्वाचित उपाध्यक्ष हरी गुरुङ लगायतले तमुधिं प्रवेशसँगै खादा लगाएर स्वागत गरेको थियो।
पोखरा–९ नयाँबजारस्थित तमुधिं नेपालमा आयोजित कार्यक्रममा तमुधिं युकेद्धारा मेजर लक्ष्मीप्रसाद गुरुङलाई “आदर्श तमु २०१८”बाट सम्मान गरिएको थियो । तमुधिं युकेको सल्लाहकार तथा नेपाल प्रतिनिधी रहेका मेजर गुरुङले तमुधिं युकेको विकास तथा उत्थान, तमु समुदाय एवं सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै तमुधिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र आमा अध्यक्ष प्रेमा गुरुङले आदर्श तमुको सम्मानपत्रसहित फेटा, खादा, मायाको चिनोसहित सम्मान गरेको हो । तमुधिं युकेको विकास र उत्थानका लागि विशेष योगदान दिएका संस्थाका आजीवन सदस्यलाई प्रदान गर्ने तमुधिं युकेको विशिष्ट सम्मानको रुपमा रहेको छ, आदर्श तमु । यसअघि नै आदर्श तमुको घोषित भई, २७ अक्टोवरमा युके अल्डरसटस्थित एम्पायर हलमा आयोजित आजीवन सदस्य रात्रीभोजमा आदर्श तमुहरुलाई सम्मान कार्यक्रममा मेजर गुरुङ उपस्थित हुन नसकेकाले तमुधिं युकेका अध्यक्ष लगायतको समुह नेपाल आगमनको क्रममा उनलाई तमुधिं युकेले सम्मान गरेको हो ।
तमुधिं युकेद्धारा यस वर्ष आदर्श तमुको सम्मान प्रदान गरिएको तमु अग्रजहरुमा मेजर लक्ष्मीप्रसाद गुरुङसहित सल्लाहकार एवं तमु कल्चरल फोरमका संयोजक अनरेरी क्याप्टेन रिटायर्ड राजु गुरुङ, तमुधिं रसमुर सर्रे इकाईका अध्यक्ष उत्तरबहादुर गुरुङ, सल्लाहकार लेप्टेनेण्ट रिटायर्ड नारायणप्रसाद गुरुङ रहेको छ ।
सम्मानित मेजर रिटायर्ड लक्ष्मीप्रसाद गुरुङ एमभिओ बीइएमले आफु अत्यन्तै हर्षित भएको बताउँदै सबैलाई सम्मान, उत्साहित र सेवा गर्ने संस्था तमुधिं युकेले सफलता प्राप्त गर्ने बताए ।
संस्थामार्फत क्रियाशील रहँदा सम्मानित हुने अवसरले आफु गौरवान्वित बनेको बताउँदै उनले तमुधिं युकेको विकास र उत्थानका लागि सबै तमुहरुको साथ सहयोग रहने विश्वास व्यक्त गरे ।
यसरी नै कार्यक्रममा गत बैशाख १ गतेदेखि ८ गतेसम्म तमुधिं युकेद्धारा आयोजित तमुहरुको सभ्यता, संस्कृति, विकास भएको ऐतिहासिक स्थल क्होला सोंथर भ्रमणमा पोखराबाट सहभागी मेजर लक्ष्मीप्रसाद गुरुङ (व्यवस्थापन संयोजक), डा.चन्द्रबहादुर गुरुङ, हुमबहादुर गुरुङ, युगबहादुर गुरुङ, दिपक गुरुङ र पुनम गुरुङलाई सहभागिताको प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै गरी उक्त कार्यक्रममा तमुधिं युकेद्धारा नेपालमा आयोजित विभिन्न कार्यक्रम एवं गतिविधिहरुमा विशेष योगदान पुर्याएको भन्दै कास्की आवाज राष्ट्रिय दैनिक, ह्वाइट लोटस स्टुडियो (तमु मै ताँ), फोटो पत्रकार मनिलाल गुरुङलाई प्रशंसापत्र, मायाको चिनोसहित फेटा, खादाले तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले सम्मान गरेको थियो ।
कार्यक्रममा सम्पूर्ण संघसंस्थाहरुको तर्फबाट तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले तमुहरु जहाँरहे पनि एकताबद्ध, अधिकार र पहिचानका लागि जुट्नुपर्ने बताए । तमु धिं युकेले क्रियाशीलता, नेतृत्व शैली र टिम स्पिरिटको प्रशंसा गर्दै विगतमा जस्तै भविष्यमा पनि तमुधिं युकेको तमुधिं नेपाल लगायतसँग अत्यन्तै हार्दिक सम्बन्ध रहने विश्वास व्यक्त गरे ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले तमुधिं युकेको आमन्त्रणलाई स्वीकार गरेर आएका सबै संस्थाका अगुवा एवं प्रतिनिधिहरुलाई धन्यवाद दिँदै तमुहरुबीच एकता आवश्यक रहेको बताए । कार्यक्रममा स्वागत गर्दै तमुधिं युकेका वर्तमान उपाध्यक्ष एवं नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले तमुधिं युकेको उद्देश्य, गर्दै आएको गतिविधीको चर्चा सहित कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पूर्वमहासचिव एवं नवनिर्वाचित उपाध्यक्ष हरी गुरुङले गरेका थिए ।
कार्यक्रममा तमुधिं युकेका अध्यक्ष लगायतलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले फेटा र क्रमुले स्वागत गरेको थियो । धर्मकाया बुद्ध मण्डला निर्माण तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले खादाद्वारा स्वागत र खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले अध्यक्ष ज्ञाम गुरुङलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रममा तमुधिं युकेका दिपक गुरुङले धर्मकाया बुद्ध मण्डला भुमिदान स्वरुप अध्यक्ष रुद्रकुमारी गुरुङ मैनालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
पोखरामा क्रियाशील करिब एक सय संघ संस्था, समाजका अगुवाहरु सहभागी रहेको कार्यक्रममा तमु धिं युकेले दिवा भोजको समेत व्यवस्था गरेको थियो ।






