लन्डन २१ मार्च २०२६ । चार भन्ज्याङ तमु समाज यूकेको आज १६औँ च्यारिटी डिनर नाइट हुँदैछ ।
नेपालबाट आएकी गायिका सोनी कुँवर क्षेत्रीको प्रस्तुतिसहित अल्डरसटस्थित अल्डरवुड स्कुलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम साँझ ४ देखि सुरु हुने छ ।
गायिका कुँवरले पनि कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई आग्रह गरेकी छन् । ‘२१ मार्च शनिबारको दिन चार भन्ज्याङ तमु समाज युकेले आयोजना गरेको च्यारिटी डिनर नाइटमा म पनि यहाँहरु सँगसँगै गाउन, नाच्न,रम्न अनि रमाउन आउँदैछु । सबैजना तयार भएर बस्नु होला । यहाँहरुसँग त्यहीं भेटौला है त,’ उनले भनेकी छन् ।
चार भन्ज्याङ सेन्टर फर हेल्थ (टेलिमेडिसिन क्लिनिक) तथा चार भन्ज्याङ क्षेत्रको अन्य विभिन्न क्षेत्रको विकास सहयोगार्थ च्यारिटी आयोजना गर्न लागिएको समाजका महासचिव अनिल गुरुङले जनाएको छ । कार्यक्रम संयोजक हितमान घले रहेका छन् ।
कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, समुदायका सदस्यहरूलाई आमन्त्रण गरेको जनाइएको छ । संसारभरि छरिएर बसेका चार भन्ज्याङ तमु समाजका सदस्यहरूलाई एकीकृत गरी गाउँघर र देशको विकासका लागि स्रोत–साधन जुटाउन २०१५ सालदेखि चार भन्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति स्थापना गरिएको हो ।






