काठमाडौं । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिना गुरूङले शपथका शब्दले आफूहरु सबैलाई सत्कर्म गर्ने उर्जा मिलेको बताएकी छन् ।
सिंहदरबारमा बिहीबार एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेपछि उनले उक्त प्रतिक्रिया जनाएकी हुन् । ‘पार्टीको नीति, जेन्जी बाबु नानीको बलिदान र नागरिकको विश्वासलाई साक्षी राखेर शपथ लिएको छु,’ सांसद गुरुङले फेसबुकमा लेखेकी छन्, ‘यो दिन र शपथका शब्दले हामी सबैलाई सत्कर्म गर्ने उर्जा मिलेको छ ।’
बिना फागुन २१ मा भएको निर्वाचनबाट ३७ हजार ७ सय ५० मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । गुरूङ पोखरामा रहेर विभिन्न सामाजिक संघसंस्था र व्यवसायमा आबद्ध छिन् । उनी रास्वपाकी गण्डकी प्रदेश कोषाध्यक्षसमेत हुन् । रास्वपाबाट गण्डकीमा उनी एक मात्र महिला उम्मेदवार थिइन् ।







