सञ्जय ह्याङ मगर
काठमाडौं। नेपालकै अग्लो अल्टिच्युडमा पर्ने र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण ढोरपाटन फाँटलाई विषयवस्तु बनाएर तयार पारिएको नयाँ म्युजिक भिडियो प्रोडक्सन हालै सार्वजनिक भएको छ।
हरिया पाटन, बाक्लो हुस्सुको मनमोहक दृश्य र माया साट्दै नाचिरहेका जोडीको प्रस्तुतिलाई मयूर तथा डाँफे जस्ता वन्यजन्तुको सहअस्तित्वसँगै क्यामेराबन्दी गरिएको यो प्रोडक्सनले हेर्नेहरूको मन तान्न सफल भएको छ। प्रकृति र मानवीय भावनाको सुमेल प्रस्तुत गर्ने यस काममार्फत ढोरपाटनको अनछुटो सौन्दर्यलाई पर्दामा उतार्ने प्रयास गरिएको छ।
भिडियोको निर्देशन विश्वास पुन मगरले गरेका हुन् भने सहायक निर्देशकको भूमिकामा केशर जङ थापा रहेका छन्। सिनेमाटोग्राफी छलेन्द्र गुरुङले, सम्पादन सुमन मगरले र कलर ग्रेडिङ सुसन मगरले गरेका छन्। यस प्रोडक्सनमा विशाल पुलामी र नरिना थापा फिचरिङमा रहेका छन् ।
निर्माण टोलीले वेडिङ सिटी नेपाल परिवार, युन्सा मगर, कुशल गुरुङ, सन्दीप शर्मा, रोबिन गौचन, तिलक रोका मगर, बम घर्ती मगर, गोमती/रजिता घर्ती, राजकुमारी घर्ती मगर र हरि सर्तुङ्गीलाई विशेष धन्यवाद ज्ञापन गरेको छ।
नेपालका कम अन्वेषित तर अत्यन्त सुन्दर गन्तव्यमध्येको ढोरपाटनलाई यसरी पर्दामा उतार्ने प्रयासले यस क्षेत्रको पर्यटकीय सम्भावनालाई नयाँ उचाइमा पुर्याउने र आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तान्ने अपेक्षा गरिएको छ।






