काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री आदर्शपुरुष स्व भीमबहादुर तामाङको सालिक अनावरण गरिएको छ । भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको सक्रियतामा स्वयम्भूमा निर्माण भएको सालिकको तामाङको छैटौँ स्मृति दिवसका अवसरमा शनिबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अनावरण गरे ।
कार्यक्रममा अध्यक्ष तिमल्सिनाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्व भीमबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको बताए । मुलुकलाई समृद्धिको बाटोमा लगेमात्र तामाङप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो । अध्यक्ष तिमल्सिनाले संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो रहेको बताए । “जसरी संविधान निर्माणमा दलबीच एकता देखियो त्यसरी नै कार्यान्वयनमा पनि एकता हुनु आवश्यक छ”, उनले भने ।
काङ्ग्रेसका सांसद जीपछिरिङ लामाले तामाङले मुलुक विकासका लागि पुर्याएको योगदानलाई सरकार र काङ्ग्रेसले बिर्सेको बताए । “भीमबहादुर तामाङलाई सम्झनाका लागि उहाँको स्मृतिमा विभिन्न कार्यक्रमलाई अगाडि बढाउनुपर्छ”, उनले भने । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दोलखाका नेता वसन्त कार्कीले दोलखाको विकासमा तामाङको योगदान अतुलनीय रहेको बताए । सोही अवसरमा तामाङको सम्झनामा स्थापना गरिएको छोर्तेन (स्तूपा) उद्घाटनसमेत गरिएको थियो ।






