काठमाडौँ । उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ । यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएको छ । वर्तमान सरकार गठन भएपछि खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री विना मगरले दशैँको उपहारस्वरुप राजधानीवासीका धारामा मेलम्चीको पानी दिने सार्वजनिक घोषणा गरेका थिए ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको को आइतबार बैठकमा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले सम्पूर्ण काम ६० दिनमा सकेर सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी खसाल्ने प्रतिबद्धता व्यक्त गरे ।
“यसअघिको मन्त्रालयको वाचाअनुसार दशैँअघि पानी नआएकामा क्षमा प्रार्थी छौँ, प्राविधिक काममा समस्या आएकाले समयमा काम सम्पन्न गर्न सकिएन, अब करीब दुई हजार मिटर सुरुङ ढलान गर्न बाँकी छ, तीन वटा ‘भ्यान्टिलेसन’को काम शुरु भएको छ, दुई महीनामा सम्पन्न गरी पानी ल्याउँछौँ”, उनले भने ।
अम्बाथानबाट सुरुङमा पानी हालेको तीन दिन भर्नै लाग्ने मन्त्रालयले जनाएको छ । चार महीनासम्म पुरानो संरचनाबाट पानी वितरण गर्ने तयारी भएको छ । त्यस अवधिमा नयाँ वितरण सञ्जाल परीक्षण गरी पानी हालिनेछ । पहिलो चरणमा पानी आएलगत्तै उपत्यकाका एक लाख ८० हजार धारामा पानी वितरण गरिने सचिव ठाकुरले बताए । मन्त्रालयले पानीको महसुल न्यूनतम रु ३०० हुने गरी बढाउने तयारी गरेको जनाएको छ । आर्थिक वर्ष २०५५/२०५६ देखि शुरु भएको आयोजना चालू आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । यो आयोजना सम्पन्न भएपछि दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा वितरण हुनेछ ।
आव २०७२/२०७३ देखि नै मेलम्चीको दोस्रो चरण शुरु भएको थियो । दोस्रो चरणमा याङ्री र लार्के खोलाको १७/१७ करोड लिटर गरी थप ३४ करोड लिटर पानी उपत्यकामा ल्याइने कार्यक्रम छ । दोस्रो चरणका लागि चालू आवमा विस्तृत परियोजना प्रस्ताव सम्पन्न गरी मुआब्जा वितरणलगायत काम शुरु गर्ने मन्त्रालयको योजना समितिमा प्रस्तुत भयो । तीन वर्षमा दोस्रो चरणको काम पनि सक्ने प्रतिबद्धता सचिव ठाकुरको छ । याङ्री र लार्के खोलासम्म पुग्न थप ११ किमी सुरुङ निर्माण गर्नुपर्छ । नेपालगञ्ज र बुटवलमा ‘एक घर एक धारा’ अभियानमा अनुचीत कार्य भएको निष्कर्षमा मन्त्रालय पुगेको उनले जानकारी दिए । त्यसमा संलग्न सबैलाई कानूनी कारवाहीका लागि मन्त्रालयले टिप्पणी उठाएको पनि सचिव ठाकुरले जानकारी दिए ।
समितिका सभापति कल्याणकुमारी खड्काले मेलम्चीले रजत जयन्ती मनाउन लागेको भनी व्यँग्यात्मक टिप्पणी गरेकी थिइन् । बैठकमा सांसदहरुले संविधानमा मौलिक हकका रुपमा स्थापित गरिएको खानेपानी सेवाका बारेमा राखिएको छलफलमा मन्त्री विना मगर उपस्थित नभएकोमा आपत्ति जनाए । मन्त्रीको उपस्थिति नभई अबको बैठक नराख्न उनीहरुले सभापतिसँग माग गरिन् ।
सांसद झलनाथ खनालले व्यवस्थापिकाको छलफलमा कार्यपालिकाका जिम्मेवार अधिकारी उपस्थित हुनुपर्ने उल्लेख गर्दै अर्को बैठकमा मन्त्री मगरलाई उपस्थित गराउन माग गरे ।






