कृष्णकुमार हेम्ब्या
किरात समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउँदै आएको उधौलीलाई किरात याख्खाहरु चासुवा, किरात राईहरु उधौली/साकेला, किरात लिम्बूहरु चासोक तङ्नाम र किरात कोइँच सुनुवारहरु फोलस्याँदर भनेर मनाउँदछन् । जसले जे नाम दिएर मनाए पनि हाम्रा विद्यमान केही सांस्कृतिक चाडपर्वहरुमध्ये किरात समुदायको प्रमुख साझा पर्व उधौली ‘न्वागीपूजा’ हो । यसमा हाम्रा पुर्खाले मानव सभ्यताको सुरुतिर बाँच्नका लागि गरेका संघर्षका अनेकौं कथाहरु जेडिएर आउँछन् ।
पूर्व नेपालका हामी आदिवासी जनजातिमूलका राई, सुनुवार याख्खा र लिम्बूहरु सगौरव किरातका सन्तान हौं भन्दछन् । यद्यपि हाम्रा पूर्खा, विकासकाल, भाषा, लिपि आदि केही संस्कारमा भिन्नता रहेको पाइन्छ । अझ पछिल्लो पहिचानवादी आन्दोलनले किरात समुदायबीच समेत केही मतभिन्नताका आवाजहरु बाहिर आउन थालेका छन् । के मात्र भन्न सकिन्छ भने, कुनै समय यी चारै जातिका पुर्खाहरु एउटै भूगोलमा बसेर संस्कृति साटासाट गर्दै समृद्ध किरात सभ्यताको विकास गरे होलान् । समय र विकासको क्रमसँगै पछि आफ्ना समुदायमा आफैं सुहाउँदो समाज र संस्कृतिको निर्माण गरे । तर पनि आफूहरु किरात हौं भन्न बिर्सेनन् र नै राई, लिम्बू, याख्खा र सुनुवार सबैले एउटै समयमा भव्यताका साथ मनाएकोले पनि यो पर्वलाई किरात समुदायको राष्ट्रिय चाड भनिएको हो ।
मानव सभ्यता विकासको पहिलो आधार कृषि थियो र यो आज भन्दा १० हजार वर्ष पहिले सुरु भएको विश्वास गरिन्छ । कृषि क्रान्तिका प्रवर्तक किरातहरुकै पुर्खा भएकाले आजको यो लेखमा किरात इतिहास, सभ्यता, मुन्धुम भन्दा पनि हाम्रो साझा राष्ट्रिय पर्व उद्यौलीको सांस्कृतिक महत्वबारे चर्चा गरेको छु ।
ऐतिहासिक महत्व
उहिले हाम्रा पुर्खाहरुसँग तिथिमिति, दिन, महिना हेर्ने लिखित पात्रो क्यालेण्डर केही थिएन, न त घडी । कुन समयमा के काम गर्नुपर्ने र नगर्नुपर्ने उनीहरु माथि खुला आकाशमा देखिने तारामण्डल, ग्रह खासगरी घाम जुनको हलचल, प्रकृतिमा देखिने रुख बिरुवाले पाउलो फेरेको, हावापानी मौसम परिवर्तन आदिले तिनका दैनिक काम र सारा जीवन पद्धतिका चक्रहरु चल्दथ्यो । जस्तैः अन्नबाली पाकेर पहँेलो भयो; माछाका हूूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओरालो झर्न थालेपछि जाडो मौसम सुरु भएको छनक मिल्दथ्यो । जाडो मौसममा खेतीपाती हुँदैन । वर्षायाममा परिश्रम गरेर पाकेका अन्नहरु लुकाएर राख्नुपर्छ भन्ने चेतना उनीहरुमा विकास हुन थाल्यो ।
अन्न पाकेको खुसी त छँदै थियो, यही समयमा माछा चराचुरुङ्गी उँधोतिर बसाइँ सरेको यही मौसम परिवर्तनको सूचकलाई हाम्रा पुर्खाहरुले एउटा उत्सवका रुपमा लिन थाले र आज यसलाई हामी उद्यौली भन्छौं ।
हामी किरातहरु मूलतः प्रकृतिपुजक हौं । जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ पुज्ने हाम्रो विशिष्ट मान्यता छ । मानव उत्पादन गर्ने मुख्य तत्व वीर्यको स्रोतसमेत अन्नपातको रसबाट बनेको यथार्थलाई मनन गरेर नै हामी मठमन्दिर, मूूर्तिभन्दा माटो, वनजंगल, खोलानाला, हावापानीजस्ता प्रकृतिका अन्तर्निहित गुण र शक्तिको खुलेआम पूजा गर्ने हामी किरातीहरुको साझा मान्यता छ ।
परापूर्वकालदेखि खेतीपातीमा आफ्नो जीवान गुजारा गर्ने हामी किरातहरु, आफूले लगाएको अन्नबालीहरु भित्राउनुअघि जीवन–जगत सृष्टि र तिनको संरक्षण गर्ने (सुनुवार—सङ्सो इँङिहोपो, लिम्बू—तागेरानिङ्वाफुङ, राई—सुम्निमा पारुहाङ र याक्खा…) पितृहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चलन छ । नयाँ अन्न नचढाई खाएमा गाँड निस्कने, आँखा, कान दुख्ने, बौलाउनेजस्ता अनेकौं रोगहरु लाग्न सक्ने किरात मुन्धुमहरुमा सविस्तार सुन्न पाइन्छ ।
अहिलेजस्तो उन्नत अन्नबाली नभएको समयमा हाम्रा पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खान्थे । जसको कारण उनीहरुले अनेकौं रोगको सामना गर्नुपरेको मुन्धुममा सुन्न पाइन्छ । यो समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको शरण लिए । अन्ततः माङको कृपाले विभिन्न जातका बीउविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्मा नाम गरेकी चेलीले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फाँडेर ती बीउ छरी अन्न फलाइन् । यो नै मानव सभ्यताको पहिलो सफल कृषि क्रान्ति थियो । वरिपरिका उनका सन्तान हुँदै क्रमशः अन्य समुदायले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीबाट छुट्कारा पाउनुका साथै उनीहरुको ज्ञानविज्ञान हरेक क्षेत्रमा विस्तारै उन्नती हुन थाल्यो । खेती गरेर अन्न उत्पादन गर्न सिकाउने उनै चेली सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित हाम्रा पुर्खाहरु उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफूहरुले खाने वाचा गरे । त्यसै बेलादेखि नै किरातहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । किरात राईहरुको तावामा, खिवामा र हेत्छाकुप्पा मुन्दुममा पनि यस्तै लोभलाग्दो मिथक सुन्न पाइन्छ ।
कृषि क्रान्तिले जन्मायो सांकृतिक पर्व
गाउँघरतिर किरातहरु नयाँ अन्न पाकेपछि खासगरी सामूहिक भन्दा घरघरमा अनिवार्य न्वागी पूजा गर्दछन् । ठाउँ र जाति उपजातिपिछे पूजा विधिमा सामान्य भिन्नता रहे पनि सबैले आफ्ना जातीय पुजारीहरुको संलग्नतामा पाङदूर, धान, मकै, कोदो, जुनेलो आदि पाकेका अन्नहरु घरभित्रै माङ्थान बनाएर केराको पातमा राखि आफ्ना इष्टमाङ्हरुलाई चढाइन्छ । पुजारीले माङथानमा राखिएको यावो परिवारका सदस्यहरुलाई फर्काएर आशीर्वाद दिएपछि पूजाको समापन हुन्छ ।
पूजाको समापनपछि आमन्त्रित दाजुभाइ छरछिमेकीहरुबीच अन्नबाली सप्रोस, रोगव्याध नलागोस्, दीर्घायु तथा सुख समृद्धिको शुभकामना आदनप्रदान गरिन्छ । नयाँ अन्नबाट तयार भएको खानपिनपछि सामान्य गफसफ, नाचगान, हाँसठट्टाहरु गरेर रमाइलो गरिन्छ ।
हाल मानवले प्राप्त गरेको सफलता र विकासको आधार कृषिबाट भएको हो । जस्तोसुकै प्रविधिको विकास गरे पनि अन्नपानीको अर्को विकल्प हुन सक्तैन । त्यही कारण कृषियुगको थालनी भएको यो घटनाक्रम उद्यौलीलाई एक महत्वपूूर्ण उत्सवका रुपमा पनि लिइन्छ ।
उद्यौलीलाई दसैं–तिहारजस्तो सामान्य चाडको रुपमा मात्र हेर्न मिल्दैन । यो त जातीय पहिचानसँग जोडिएर आएको आदिवासी जनजाति खासगरी किरातहरुको सांस्कृतिक विरासत हो । इतिहासलाई नछली हेर्ने हो भने संसारको प्रायः सबै ठाउँमा जमिनको आवाद जनजातिहरुले गरे त्यसपछि मात्र गैरजनजातिहरु अरुले आवाद गरेको जमिनमा क्रमशः बसाइँ सर्दै आएका छन् । जस्तो नेपाल, भारत, उत्तरदक्षिण दुवै महादीप, अस्ट्रेलिया, न्युजिल्यान्ड आदि धेरै मुलुकमा हालका शासक वर्गहरु प्रवेश गर्नुभन्दा पहिले त्यहींका आदिवासी जनजातिले त्यहाँको माटो उर्वर बनाएका थिए । नवआगन्तुकहरु खेतीपातिमा खासै अभ्यस्त थिएनन् ।
हिजोअस्तिसम्म गाउँका पण्डितहरु कृषि तथा मजदुरीजस्ता कामहरु गर्दैनथे । उनीहरुको कार्य विभाजनमा समेत त्यही भनिएको छ । खास कुनै धर्ममा भन्दा श्रममा आस्था राख्ने प्रकृतिवादी जनजाति आदिमयुगदेखि प्रकृतिका पुजारी थिए । संघर्षमय जीवन वनजंगलमा, खोलानाला र खेतबारीमा बित्थ्यो । वर्षभरिको हावाहुण्डरी, असिनापानी, भेलबाढी, किराफट्याङ्ग्रा आदि जंगली जनवारहरुबाट जोगाएर बाली पाकेपछि उनीहरु त्यही अन्न निधारमा र अन्नको बोटको फूल र पात शिरमा सिउरेर खुसीयाली मनाउँदै एकअर्कामा शुभकामना आदनप्रदान गर्दागर्दै कालान्तरमा किरात सांस्कृतिक पर्वको रुप लियो ।
किराती पहिचान र नेपाली राष्ट्रियता
नेपालमा गणतन्त्र स्थपनासँगै उद्यौलीले राष्ट्रिय चाडको मान्यता प्राप्त गरी एक दिन सरकारी बिदाको व्यवस्था गरिएको छ । यो बिदाले गाउँघर भन्दा सहरीया किरातहरुको लागि फाइदा भएको छ । सहरबजारमा पुजारीको अभाव, आफ्नै व्यस्तता र खासगरी मान्छेहरुबीच विचारमा आएको परिवर्तन कारण सामूहिक पूजा गरेर उत्सवका रुपमा मनाउने प्रचलन विकास भइसकेको छ । सहरमा खेती गर्ने जमिनको अभाव र गाउँमा पनि कतिपयले कृषि पेसा छोड्दै गएकाले आफंै अन्नपात उत्पादन नगरेपछि घरमा पूजा गर्नुभन्दा कुनै माङहिम वा सांस्कृतिक स्थलहरुमा भेला भइ सामूहिक पूजा गर्ने चलन बढ्दो छ । सामूहिक पूजाकै लागि भेला हुन थालेपछि त्यो रमाइलो भेटघाटमा खानेपिउने, मनोरञ्जनजस्ता सामूहिक क्रियाकलापहरुले राम्रो अवसर पायो ।
तर, अहिले काठमाडौं उपत्यकामा बस्ने चारैजातका किरातहरु मंसिर पूर्णिमाका दिन ललितपुरस्थित सानोहात्तीवन माङहिममा भेला भएर भव्यताका साथ यो पर्व मनाउँदछन् । निश्चय नै यस्ता सामूहिक मान्ने चाडहरुले किरात बन्धुहरुबीच आपसमा सद्भाव र भातृत्वलाई सदृढ गर्नमा अत्यन्तै ठूलो भूमिका खेलेको छ । यो पर्वले सांस्कृतिक र सामाजिक महत्वका साथसाथै धार्मिक महत्वसमेत बोकेकाले किरातहरुको जनजीवनमा यसको महत्वपूर्ण र अविच्छिन्न सम्बन्ध रहिआएको छ । एकातिर यस पर्वले हाम्रा जातीय पहिचान र संस्कृतिक गौरव बढाउने काम गरेको छ भने अर्को यसले किरातहरुबीच सामाजिक सदभाव, एकता र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नमा ठूलो भूमिका निर्वाह गरेको छ ।
अब कसैलाई मन नपरे पनि नेपाल धर्मनिरपेक्ष भइसक्यो । संविधानतः एक भाषा, एकधर्मको नारा संग्रहालयमा पनि भेटिन्न । राज्यले असली नेपाली राष्ट्रियता खोज्ने हो भने सबै जातजाति धर्म समुदायसम्म नपुगी सुखै छैन । निषेध, विरोध र बहिष्कारले राज्यमा साम्प्रदायिक आश्रय पाउने र देश विखण्डनसमेत हुन सक्छ । अब सबै समुदायहरुको भाषा, संस्कृति, धर्मजस्ता जातीय पहिचानहरुको समूल उन्नतिबिना मुलुक समृद्ध हुँदैन । किरात समुदायको महान् राष्ट्रिय चाड उद्यौलीले पनि सबै जातजाति, धर्म समुदायहरुलाई नेपाली राष्ट्रियतामा बाध्ने एउटा दह्रिलो कडीको रुपमा लिनु पर्दछ ।






