नेपालका व्यासी जाति र अन्धविश्वास

SHARE:

गुरुङ प्रकाश समथिङ
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार व्यासी जातिको जनसंख्या महिला १ हजार ९ सय ९१ जना र पुरुष १ हजार ९ सय ४ जना गरी जम्मा ३ हजार ८ सय ९५ जना रहेका छन् । राष्ट्रिय जनगणना २०४८ अनुसार व्यासी जातिको जनसंख्या जम्मा २ हजार १ सय ०३ जना मात्र उल्लेख गरेको थियो । यसरी हेर्दा २० वर्षमा व्यासी जातिको जनसंख्या १ हजार ७ सय ९२ जनाले बृद्ध भएको देखिन्छ । व्यासी जातिलाई नेपाल सरकारले सुविधा बञ्चित समूहमा सूचीकृत गरेका छन् ।
हेर्दा र स्वभाव मंगोलियनको अनुहार र धार्मिक दृष्टिकोणमा बौद्धमार्गी जस्ता देखिने भएता पनि उनीहरु हिन्दु धर्म मान्दछ । व्यासी जातिको मुख्य बसोबास क्षेत्र भनेकै नेपालको पश्चिमाञ्चल क्षेत्रको दार्चुला जिल्ला हो । यो जिल्लाको दुर्गम गाउँमा बस्ने व्यासी जाति अन्य ठाउँमा खासै बसोबास गरेको पाइदैन् ।

व्यासी जाति जन्मदेखि मृत्युसम्मको गरी जम्मा आठ प्रकारका संस्कारहरु मनाउने गर्दछ । जन्म, न्वारान, कर्णभेद, भुमो, छेवर, विवाह, बुढानी र मृत्यु संस्कारहरु पर्दछ । यिनीहरु बच्चा जन्मेपछि लामो आयु होस भनेर गाउँलेहरुलाई निम्ता गरेर अक्षता सहित देवीदेवताको पूजा गर्दछ । बच्चा जन्मेको सात दिनमा सुत्केरीलाई नुहाइ धुहाइ गरेर गाईको गहुँत छर्केर चोखिन्छ । जिरेल जातिमा बच्चाको नामाकरण तीन महिना पुगेपछि मात्र राख्ने गर्दछ । छेवर भने तीन, पाँचदेखि र सात वर्षको बीचमा गर्ने गर्दछ । बच्चाको काटेको कपाल ध्वजामा राखेर मानसरोवरमा लगेर सेलाउने चलन व्यासी जातिमा रहेको छ ।

व्यासी जातिमा मागी विवाह, गन्धर्व विवाह र अपहरण विवाह गरी तीन प्रकारका विवाहका चलन रहेको छ । विवाह गर्दा यिनीहरुमा दाइजो प्रथा छैन । तर विवाहमा केटी पक्षले दिएको खण्डमा भने स्वीकार गरी लिने गर्दछ । अनिवार्यता भने हुदैन । उनीहरुमा मानिस मरेको दिन गाउँमा कुनै पनि काम गर्न निषेध नै हुन्छ । त्यसैले त्यस दिन गाउँमा कुनै पनि काम गर्दैनन् । व्यासी जातिमा दश वर्ष भन्दा कम उमेरका बच्चाहरुको मृत्यु भएमा गाड्ने र त्यो भन्दा माथिल्लो उमेरको मानिसको मृत्यु भएमा जलाउने गर्दछन् । दुबै प्रक्रिया अपनाएर अन्त्येष्टि गरेता पनि गाड्दा पनि र जलाउदा पनि लासको टाउँको पूर्वतिर फर्काउने चलन छ ।

व्यासी जातिमा अनौठो अन्धविश्वास रहेको पाइन्छ । उनीहरु शनिबार घरबाट निस्कने काम पर्‍यो भने मंगलबार घरमा बस्नु हुदैन भन्ने गर्दछ । महिलाले हलो जोत्नु हुदैन, एकै दिन घरबाट दुई जना बाहिर परदेश जानु हुदैन भन्ने गर्दछ । यतिसम्म उनीहरु विश्वास गर्छन की एउटै भाँडामा राखेको पानीले मामा र भान्जाले हात धुदैनन् । उनीहरु पानी नपरेर खडेरी लाग्यो भने मन्दिरमा गएर फोहर गर्छन । मन्दिरमा फोहर गरिदिँदा देवता रिसाएर पानी पारिदिन्छन् भन्ने गर्दछ । उनीहरु घरबाट बाहिर कतै जाँदा बाटोमा विरालोले बाटो काटेमा, स्याल कराएको सुनेमा, पूmटेको भाँडो देखेमा र विधवा महिला देखेमा वा भेटेमा, कपाल काटदै गरेको र लुगा धुँदै गरेको देखेमा त्यसलाई अशुभको संकेत मान्दछ । उनीहरु कसैले आफ्नो घरको दूध र दही अरुलाई दिनु परेको खण्डमा कोइला वा हरियो पात हालेर मात्र दिने गर्दछ । भूतप्रेतले नसताओस् भनेर घरका कोही विरामी भएको बेलामा ढोकामा खुकुरी, तरबार र बञ्चरो राखीदिन्छन् । अनि भूतप्रेत विरामीको छेउछाउमा नपरोस भनेर विरामीलाई चौरी गाईको पुच्छरबाट बनेको डोरीले विरामीको कम्मरमा बाँधिदिने गर्दछ । कतै सर्प र भ्यागुता लड्दै गरेको देखेमा मान्छे मर्छ भन्छन् । साह्रै धेरै अन्धविश्वासमा रहेका देखिन्छ व्यासी जाति ।
प्रतिक्रियाका लागि ः ९८५२६८१५८०
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
अर्को अंक ह्योल्मो जातिबारे लेख प्रकाशन गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!