रोशनी गुरुङ
पोखरा । बेलायतमा अत्यन्तै क्रियाशील संस्था तमुधिं युकेको हालै सम्पन्न दसौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पोखरामा सम्मान तथा स्वागत गरिएको छ ।
गत मंसीर १० गते आयोजित संयुक्त कार्यक्रममा गुरुङ साहित्यिक मञ्च नेपाल, अभियान फिल्मस् प्रा.लि., स्टार्स स्टुडियो नेपाल र तमु संसार त्रैमासिक पत्रिकाले सम्मान तथा स्वागत कार्यक्रम गरेका हुन् । कार्यक्रममा तमुधिं युकेका वर्तमान अध्यक्ष ज्ञामबहादुर गुरुङ, नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङ, निर्वतमान अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे), उपाध्यक्षद्वय जुमकाजी गुरुङ र हरि गुरुङ तथा महिला समितिकी अध्यक्ष प्रेमा गुरुङ र सदस्य सन्ध्या गुरुङ र लमजुङ सेवा समिति हङकङका पूर्वअध्यक्ष तथा अभियान फिल्मस्का निर्माता दिलीपसिंह गुरुङलाई गुरुङ परम्पराअनुसार सेतो टीका, फेटा, फूलमाला र बुकीले स्वागत र सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै तमुधिं युकेका वर्तमान अध्यक्ष ज्ञामबहादुर गुरुङले आफ्नो कार्यकालमा विभिन्न क्षेत्रबाट सहयोग गरी सफल बनाउने सबै तमु समुदाय र संघ संस्थालाई आभार व्यक्त गरे । यस्तै नवनिर्वाचित अध्यक्ष नन्दजंग गुरुङले विगतमा जसरी आउने दिनमा पनि तमुधिं युके सबै तमुहरुसँग सहकार्य गरेर अघि बढ्ने भन्दै सबैको साथ र सहयोगको अपेक्षा आफूले गरेको बताए ।
कार्यक्रममा अभियान फिल्मस् प्रा.लि. र स्टार्स स्टुडियोका कलाकारहरुको तर्फबाट विभिन्न नृत्य प्रस्तुत गरिएको थियो भने गुरुङ साहित्यिक मञ्चका सदस्यहरुले कविता, मुक्तक, गीतलगायत रचना वाचन गरेका थिए । सोही कार्यक्रममा तमुधिं युकेका नवनिर्वाचित उपाध्यक्ष एवं तमू संसार पत्रिकाका सल्लाहकार जुमकाजी गुरुङले अभियान फिल्मस प्रा.लि.का निर्माता निर्देशक तथा कलाकार वेदबहादुर गुरुङ (श्याम) र अभियान फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र ङयोए नास ट्हो (हाम्रो गाउँघर) देखि पछिल्लो चलचित्र युम्पो देउराली (ढुङ्गे देउराली) सम्म निरन्तर उत्कृष्ट अभिनय गर्दै आएका तमू चलचित्रका वरिष्ठ कलाकार बलबहादुर गुरुङलाई फेटा लगाएर सम्मान गरे । साथै उनको कला र प्रतिभाको उच्च सम्मान गर्दै उपाध्यक्ष जुमकाजी गुरुङको तर्फबाट नगद ७ हजार उपहार स्वरुप प्रदान गरिएको थियो ।
कार्यक्रममा स्टार्स स्टुडियोको व्यानरमा भर्खरै निर्माण सकेर प्रदर्शनमा आउन लागेको चलचित्र म्ले क्यु (बिर्साउने पानी) मा समावेश रहेको गीत ‘खै बिदो तो बिदो’को प्रचारको लागि आयोजना गरिएको कभर डान्स प्रतियोगितामा प्रथम पुरस्कार प्रायोजन गरेका युके निवासी तमुधिं युकेका सल्लाहकार एकेन्द्रद्रगुरुङ, वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, सदस्य तथा वरिष्ठ फोटोग्राफर मिलन तमु, तमुधिं युकेका निर्वतमान अध्यक्ष रामचन्द्रद्रगुरुङ (सुर्जे) र गोर्खा किचन युकेका सञ्चालक भीम गुरुङद्वारा प्रायोजन गरिएको नगद रु ७५ हजार र सोही समूहले नै स्टार्स स्टुडियोको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रायोजन गरेको रु. ४० हजार रकम प्रायोजकहरुमध्ये त्यसबेला नेपाल आएका जुमकाजी गुरुङ र रामचन्द्रद्र(सुर्जे) गुरुङले संयुक्त रुपमा स्टार्स स्टुडियोका सञ्चालक तथा चलचित्र निर्देशक जसु गुरुङलाई हस्तान्तरण गरेका थिए ।
अभियान फिल्मस प्रा.लि.का निर्माता निर्देशक वेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमु र धन्यवाद मन्तव्य स्टार्स स्टुडियोका सञ्चालक जसु गुरुङले दिएका थिए । कार्यक्रम सञ्चालन तमू संसार पत्रिकाका सम्पादक रोशनी गुरुङले गरेकी थिइन् ।






