काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा के.एम. तामाङसहित १९ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
दार्जिलिङको मिरिकमा भएको परिषद्को चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट अखिल भारतीय तामाङ बौद्ध संघका तामाङसहित सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जनको निर्वाचन समितिद्वारा प्रकाशित निर्वाचन परिणामअनुसार परिषद्को वरिष्ठ उपाध्यक्षमा नेपाल तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ, युरोपकोतर्फबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा, खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन, महिलाबाट घेदुङका मिना तामाङ लुङ्बा निर्वाचित भए ।
त्यसैगरी महासचिवमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिनकुमार लामा र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान रहेका छन् भने कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानू गोम्जा निर्वाचित भएका छन् । बाँकी सदस्यहरु भने पछि कार्यसमितिले मनोनयन गर्नेछन् । निर्वाचन प्रक्रिया सकिएपछि निर्वाचन आयुक्त अधिवक्ता योञ्जनले तामाङ भाषामा शपथ खुवाएका थिए ।






